भर्खरै :

संरा अमेरिकाका गएगुज्रेका पूर्वाधार

संरा अमेरिकी हचिङटनबाट डालासमा जाने बाटोमा आँधीका कारण जलमग्न अवस्थामा
के ट्रम्प संकट समाधान गर्न सक्षम हुनेछन् ?
के संरा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको सरकार संरा.अमेरिकाभरिका गएगुज्रेका पूर्वाधारहरु बनाउन सक्नेछन् ? वस्तुगत रुपमा भन्नुपर्दा दशकौंको बेवास्ता र अनावश्यक वैदेशिक युद्धहरुपश्चात यो काम(पूर्वाधार निर्माण–पुननिर्माणको काम) गर्न त्यत्ति सजिलो भने पक्कै होइन । वाशिङ्टनमा दुवै दल(डिमोक्रेटिक र कन्जर्भेटिभ दलहरु)का नेताहरु अमेरिकाभित्रका आर्थिक तथा सामाजिक समस्याबाट जनताको चासो अन्यत्र पन्छाउने काम आक्रामक र मूलतः सैनिक खालको विदेश नीति र अतिरञ्जनापूर्ण प्रचारबाजीमार्फत् गरिरहेका छन् । तर आलोचनात्मक चिन्तकहरुले संरा अमेरिकामा तत्कालै ध्यान पु¥याउनु पर्ने विभिन्न आर्थिक तथा सामाजिक विषयहरु औंल्याउने गरेका छन् ।

संरा अमेरिकामा १६ लाख किलोमिटर खानेपानीको लाइन भएको अनुमान गरिएको छ । तर जमिनमूनि नदेखिने गरी गाडिएका र स्थानीय निकायहरुमार्फत् नै परिचालन गरिने भएकाले तीमध्ये अधिकांशको पाइपको अवस्था अज्ञात छ । कतिपय पाइपहरु त १९ औं शताब्दीको मध्यतिरका शीतयुद्धकालीन समयका छन् र कहीं कतै समस्या नआएसम्म तिनको मर्मतसम्भारमा कुनै ध्यान दिइएको छैन ।

त्यस्ता आर्थिक र सामाजिक विषयहरुको क्रमावलीमा सबभन्दा माथि आउने गर्दछ–पूर्वाधारहरु । तर के अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउस र व्यवस्थापिका(कांग्रेस) यो कुरा स्वीकार्न तयार हुन्छन् वा हुँदैनन् ? वास्तविकताका केही उदाहरणहरु हेरौं ।
संरा अमेरिकामा पूर्वाधारको अवस्थाबारे अमेरिकी सिभिल इन्जिनियर समाज(एएससीई)ले नियमित रुपमा प्रतिवेदन सार्वजनिक गर्ने गर्दछ । सिभिल इन्जिनियर समाजले अमेरिकी राजमार्ग, पुल, बन्दरगाह, आन्तरिक जलमार्ग र खानेपानी प्रणालीको गएगुज्रेको अवस्थाबारे वर्षाैं–वर्षदेखि ध्यानाकर्षण गराउँदै आएको हो । ऐतिहासिक रुपमा भन्नुपर्दा संरा अमेरिकाले प्रथम विश्वयुद्ध र दोस्रो विश्वयुद्ध पश्चात तीब्र गतिमा आफ्ना पूर्वाधारहरुको विकास गरेको थियो । तर त्यस पछि भने केन्द्रीय स्तरमा होस् वा प्रान्तीयस्तरमा, अमेरिकाले पूर्वाधारको मर्मत सम्भार र विकास गरेको छैन ।
पुरानो पुस्ताकामध्ये केहीले सम्झना गर्ने गरेको सबभन्दा पछिल्लो ठूलो विकास परियोजना भनेको अन्तरप्रादेशिक राजमार्ग सञ्जाल र सेन्ट लरेन्स समुद्री प्रणालीको निर्माण हुन् । यी दुवै प्रणाली सन् १९५० दशकको ड्विट एजनआवर सरकारका पालामा बनेका हुन् । निकै कम पुराना मानिसहरुलाई फ्रान्किलिन रुजवेल्ट सरकारको पालामा बनेको बृहत् स्तरको पानीबाँध परियोजनासम्मको सम्झना छ ।
जलमार्ग, तटबन्ध र बाँध
सन् १९५० दशकयता आन्तरिक जलमार्ग प्रणालीमा कुनै सुधार गरिएको छैन । आधाभन्दा बढी त्यस्ता जलमार्गहरु ५० वर्षभन्दा पुराना छन् । त्यही भएर ती जलमार्गमा चल्ने जहाजहरु हरेक दिन निर्धारित समयतालिकाभन्दा पनि बढी घण्टौं–घण्टा रोकिनु परेका छन् । परिणामतः सामान निर्धारित समयमा पुग्नुपर्ने थलोमा पुग्न सकेका छैनन् र तिनको लागत निकै बढ्ने गरेको छ ।
खेतीपाती र शहरी बसोबास समेतलाई जोगाउने गरेका नदीका तटबन्धहरुको अध्ययन गर्ने क्रममा सिभिल इन्जिनियर समाजले अमेरिकाका सबै ५० प्रान्त र कोलोम्बिया जिल्लामा गरेर लगभग १ लाख ६१ हजार किलोमिटर तटबन्ध रहेको अनुमान गरिएको छ । विगतमा तीमध्ये धेरै खेतीपाती जोगाउन बनाइएका थिए भने अहिले आएर विकसित शहरहरु जोगाउन बनाइएका छन् ।
तर ती तटबन्ध कति भरपर्दा छन् भन्न सकिन्न किनभने संरा अमेरिकी सरकारले अझैसम्म पनि राष्ट्रिय तटबन्ध सुरक्षा कार्यक्रम लागु गरेको छैन । तटबन्ध सुरक्षा राष्ट्रिय समितिले ती तटबन्धहरुको मर्मत सम्भार खर्च १ खर्ब अमेरिकी डलर लाग्ने अनुमान गरिएको छ । संरा अमेरिकामा ढलको औसत आयु भनेको ५२ वर्ष हो । सन् २०२० सम्ममा तीमध्ये ७० प्रतिशत ढलको आयु ५० वर्ष नाघ्दैछ । ठूल्ठूला बाढी र भूकम्पका कारण धेरै बाँधहरुले अनुमान गरिएका समयावधि भन्दा कमैमात्र धान्ने पक्का छ ।
जलमामिला
संरा अमेरिकाभरि झण्डै १ लाख ७० हजार सार्वजनिक खानेपानी प्रणाली छन् । तीमध्ये ५४ हजार सामुदायिक खानेपानी प्रणाली छन् । तिनले सामूहिक रुपमा २६ करोड ४० लाख जनतालाई खानेपानीको सुविधा दिने गरेका छन् । सेवा विस्तार गर्न केही पाइप थपिएका छन् । तर तिनमा प्रयोग भएका पाटपुर्जाहरुको आयु १५ देखि ९५ वर्षसम्मका भएकाले समयान्तरसँगै खानेपानी प्रणालीको प्रभावकारिता घट्दै गएको छ । विशेषतः पुराना शहरहरुमा खानेपानीका पूर्वाधारहरु निकै पुराना भइसके र तिनको सट्टा नयाँ प्रणालीले लिन हतार भइसकेको छ ।

रेल जुध्दा अस्थायी रुपमा बन्द भएको न्यू जर्सीको होबोकेन रेलस्टेसन –क्लिफोर्ड ए. किराकोफ


संरा अमेरिकामा १६ लाख किलोमिटर खानेपानीको लाइन भएको अनुमान गरिएको छ । तर जमिनमूनि नदेखिने गरी गाडिएका र स्थानीय निकायहरुमार्फत् नै परिचालन गरिने भएकाले तीमध्ये अधिकांशको पाइपको अवस्था अज्ञात छ । कतिपय पाइपहरु त १९ औं शताब्दीको मध्यतिरका शीतयुद्धकालीन समयका छन् र कहीं कतै समस्या नआएसम्म तिनको मर्मतसम्भारमा कुनै ध्यान दिइएको छैन ।
संरा अमेरिकामा हरेक साल २ लाख ४० हजार ठाउँमा पानीको पाइप फुट्ने गरेको अनुमान छ । सबै पाइपलाई विस्थापित गरी नयाँ पाइप राख्ने हिसाब गर्दा आगामी दशकको लागि खर्च १ खर्ब अमेरिकी डलर पर्ने अमेरिकी जलकार्य संगठनले जनाएको छ । साथै ११ करोड २० लाखदेखि ११ करोड २८ लाख किलोमिटर सार्वजनिक ढल निकास छ । तीमध्ये अधिकांश ढल निकास दोस्रो विश्वयुद्धको समयमा जडान गरिएका थिए । अर्थात तिनको आयु लगभग सकिने अवस्थामा पुगिसकेको छ । ती पाइपहरु विस्थापित गरी नयाँ राख्न पूँजीगत लगानी संरा अमेरिकाको सम्पूर्ण फोहर पानीको व्यवस्थापन प्रणाली बनाउन आवश्यक पूँजीको ८० देखि ८५ प्रतिशत लगानी पर्नेछ ।
सिभिल इन्जिनियर समाजले आगामी २० वर्षभरिमा फोहरपानी र बाढीको पानी व्यवस्थापनको लागि २ खर्ब ९८ अर्ब अमेरिकी डलर पूँजीगत लगानीको आवश्यकता पर्नेछ ।
पुल, रेलमार्ग र विद्युत्
संरा अमेरिकाका १ सय २ वटा महानगरीय क्षेत्रमा दैनिक २० करोडभन्दा बढी गाडी कमजोर पुलहरुमा आवतजावत गर्ने गर्छन् । तिनमा नौमध्ये एउटा पुल संरचनात्मक रुपमा कमजोर भइसकेका छन् ।
संरा अमेरिकाका ६ लाख ७ हजार ३ सय ८० वटा पुल ४२ वर्ष उमेरका छन् । संघीय राजमार्ग प्रशासनले सन् २०२८ सम्ममा कमजोर वा म्याद नाघेका पुलहरु हटाएर नयाँ संरचना राख्न २० अर्ब ५० करोड अमेरिकी डलरको खाँचो पर्ने पूर्वानुमान गरेको छ । जबकि १२ अर्ब ८० करोड डलरमात्र हालसम्म खर्च भएको अवस्था छ । यो समस्या समाधान गर्ने हो भने केन्द्रीय तथा प्रान्तीय सरकारहरुले हरेक वर्ष ८ अर्ब डलरका दरले पुल निर्माण कार्यमा लगानी गर्नुपर्नेछ । यो एकप्रकारको चुनौती हुनेछ–अमेरिकी सरकारका लागि । संरा अमेरिकामा २ लाख ५७ हजार किलोमिटर लामो रेलमार्ग सेवा छ, ७६ हजार रेलमार्ग पुलहरु छन्, ८ सय वटा सुरुङ छन् । सबै मालबाहक र यात्रुबाहक रेलहरुले ती पुल र सुरुङको प्रयोग गरेका छन् । संरा अमेरिकाका ५६५ वटा मालबाहक रेलमार्गलाई तिनका दुरी र कमाइको आधारमा तीन वटा वर्गमा विभाजन गरिएको छ ।
सिभिल इन्जिनियर समाजले रेलमार्ग सञ्जालको क्षमताको तुलनामा मालबाहक रेलहरुको आवतजावत निकै बढिरहेकोमा सावधानी गरेको छ । यसले यात्रुबाहक र मालबाहक दुवै रेलमार्गको सन्दर्भमा भार थप्नेछ । सिकागो र उत्तरपूर्व क्षेत्रजस्ता साँघुरा ठाउँहरुमा यस्ता भीडमभीडले संरा अमेरिकी अर्थतन्त्रमा वर्षको २० अर्ब बराबरको क्षति पु¥याउने गर्दछ । यो अंक भनेको संरा अमेरिकी आर्थिक उत्पादनको १.६ प्रतिशत हुन आउँछ । भविष्यका आवश्यकता पूरा नगरी क्षतिको यो अंक बढ्ने अवस्था छ । संरा अमेरिका आज आयु सकिन लागेका विद्युतीय ग्रीड र पाइपलाइन वितरण प्रणालीमा धानेको छ । कुनै–कुनै विद्युतीय ग्रीड र पाइपलाइन वितरण त सन् १८८० दशकमा बनेका थिए । उर्जा सम्प्रेषणको लागि सन् २००५ देखि यता लगानी बढाएको छ । तर अनुमतिको मामिला, वातावरणको कारण र सीमित मर्मत सम्भारले असफलता र उर्जा रोकावटको घटनाका कारण भएका छन्, सिभिल इन्जिनियर समाजले भन्यो ।
समाजले कम्तीमा ३ खर्ब ४० अर्ब अमेरिका डलर चालु भताभुङ पूर्वाधार निर्माण आवश्यक पर्ने अनुमान गरेको छ । अमेरिकी नेताहरुले खर्ब अमेरिकी डलर त इराक र अफगानिस्तान युद्धमा खर्च गरेका छन् ।
ट्रम्प सरकार र व्यवस्थापिका(कांग्रेस)ले पूर्वाधार निर्माणको लागि एक खर्ब अमेरिकी डलर बराबरको बजेट तोकेका छन् । वाशिङ्टनले वास्तविकता सामना गर्नुपर्दछ र राजनीतिक नेताहरुले विलम्ब नगरी संरा.अमेरिकाभित्रका पूर्वाधार निर्माणमा पूरापूर लगानी गर्न तयार हुनु पर्दछ ।

(लेखक संरा अमेरिकी सिनेटको परराष्ट्र सम्बन्ध समितिका वरिष्ठ पेशागत सदस्य हुन् ।)
(बेइजिङ रिभ्यु अंक ६०, संख्या ८–फेब्रुअरी २३, २०१७)
अनुवादः नीरज

Leave a Reply

Your email address will not be published. Required fields are marked *