भर्खरै :

कञ्चनपुर घटनाको विरोधमा विहानै मसाल जुलुस

भक्तपुर, ५ चैत्र । गत फागुन २६ गते कञ्चनपुरमा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले गोली हानी नेपाली नागरिक गोविन्द गौतमको हत्या गरेको विरोधमा नेपाल क्रान्तिकारी किसान संघ भक्तपुरले विहानै मसाल जुलुस गरेको छ । भारतीय विस्तारवादले दिनदहाडै नेपाली भूमीमा प्रवेश गरी नेपालीमाथि कुटपिट र हत्या गरेकोले दिनेको उज्यालोमै मसाल बोक्नु परेको आयोजकले जनाएको छ । दत्तात्रयबाट सुरु भएको जुलुस टौमढी नासमना बाराहीस्थान हुँदै सूर्यविनायकमा पुगी सभामा परिणत भएको थियो ।
सूर्यविनायकमा भएको सभामा नेपाल क्रान्तिकारी किसान संघ भक्तपुरका अध्यक्ष एवं जिविस भक्तपुरका निर्वाचित सभापति गोविन्द दुवालले भारतीय विस्तारवादले नेपालमाथि निरन्तर रुपमा गर्दै आएको हस्तक्षेपको सबै नेपालीले विरोध गर्नुपर्ने बताउनुभयो । भारतीय दुतावासले झुठो वक्तव्य प्रकाशित गरेको प्रसंग उठाउँदै देशभक्त नेपाली एकजुट हुन आव्हान गर्नुभयो । पिडित परिवारलाई क्षतिपूर्ति, घाइतेलाई उपचारको व्यवस्था गर्न र दोषी एसएसबी जवानलाई कारबाही गर्न उहाँले माग गर्नुभयो ।
नेपाल क्रान्तिकारी किसान संघका केन्द्रीय सचिव विकल प्रजापतिले नेपाली भूमिमा भारतीय एसएसबी प्रवेश गरी नेपालीको धनमाल लुटपाट र गोली हानी हत्या गर्दा नेपालको प्रशासनले सुरक्षा दिन नसक्नु विडम्बना हो भन्नुभयो । उहाँले भारतीय विस्तारवादको विरोधमा सारा जनता उठ्ने बेला भएको स्पष्ट पार्नुभयो ।
जुलुसको सुरुमा दत्तात्रयमा नेपाल क्रान्तिकारी किसान संघ भक्तपुर नगर समितिका अध्यक्ष गंगाराम ज्याख्व र जिल्ला समितिका सचिव सूर्य बहादुर फोंजूले भारतीय विस्तारवादका कारण नेपालको राष्ट्रियता खतरामा परेकाले सबै देशभक्त जनताहरु एक हुनुपर्ने बताउनुभयो ।







Leave a Reply

Your email address will not be published. Required fields are marked *