भर्खरै :

छाडा चौपायाले किसानलाई सास्ती

–विमलबहादुर विष्ट
डोटी, १० वैशाख (रासस) ः दिपायल सिलगढी नगरपालिका– ४ पिपल्लाका बासिन्दाको खेतबारीमा जहिले पनि थुप्रै गाईगोरु जम्मा हुन्छन् । पाकेर काट्नै लागेको गहुँ बाली तथा तरकारी खेती गाईगोरुले खाएर बाँझो खेत जस्तै बनाइदिने गरेका छन् । शनिबार तिनले गाईगोरु लखेट्दै पिपल्ला बजारसम्म पु¥याए । बजारसम्म पु¥याउँदा कम्तीमा पनि २५ छाडा चौपाया जम्मा भइसकेका थिए । बजारमा पसलेले बेच्न राखेका तरकारी बचाउन एकले अर्को ठाउँमा धपाउने, अर्काले अर्का ठाउँमा धपाउने क्रम शुरु भयो । पछिल्लो समय जिल्लाका छाडा चौपायाका कारण सार्वजनिक यातायात सेवामा पनि चुनौती भएको छ । सडकभरि छाडा चौपायाका कारण दुर्घटनासमेत त्यत्तिकै बढेको छ । नगरपालिकाले सामुदायिक वनमा काञ्जी हाउस बनाएमा छाडा चौपायाको व्यवस्थापन हुने उद्योग वाणिज्य सङ्घ डोटीका अध्यक्ष मोहन कलेलले बताउनुभयो । उहाँले भन्नुभयो, “छाडा चौपायालाई व्यवस्थापन गर्न नगरपालिकाले सामुदायिक वनमा टहरा (काञ्जीहाउस) बनाउनुपर्छ ।” गाईले दुध दिन छाडेपछि स्थानीयवासीले गाई छाडा रुपमा छाड्ने गरेका कारण पिपल्ला बजारमा समस्या भएको दिपायल पिपल्लाका व्यापारी किरण भण्डारीले बताउनुभयो । “दुहुनो गाई छउञ्जेल घरमा पाल्ने र दूध खाने, दूध दिन छाडेपछि बजारमा छोड्ने परिपाटिले समस्या भएको हो”, उहाँले भन्नुभयो, “गाई छाड्नेलाई कारवाही हुनुपर्छ ।” केही वर्षयता छाडा चौपायालाई व्यवस्थापन गर्न स्थानीय सडक तथा बजारमा निकै समस्या भएको छ । रैथाने गाई धेरै दूध दिन नसकेपछि तथा बकेर्ना भएपछि सडकमा छाडिएका छन् । रैथाने गाईलाई अर्को वर्ष दूध दिने अवस्था सिर्जना गर्न खासै पहल नहुँदा पनि गाईहरु सडकै छाडिएका हुन सक्ने स्थानीयवासी खेम भण्डारीले बताउनुभयो । जिल्लामा रहेको डिभिजन पशुसेवा कार्यालयले पनि उन्नत जातका गाईलाई मात्र कृत्रिम गर्भधारण गराउने लक्ष्य लिएपछि रैथाने गाईहरु स्थानीयवासीले सडकमा छाड्ने गरेका उहाँको आरोप छ । साँघुरा सडकमा छाडिएका चौपायाका कारण सडक दुर्घटना हुने गरेको सवारी चालक बताउँछन् । छाडा चौपायाको व्यवस्थापन गर्न स्थानीय तहले कुनै आधिकारिक कार्यक्रम ल्याउन सकेका छैनन् । हिन्दू धर्मावलम्बीले मर्दापर्दा दान लिनेदिने जनावर नै गाई भएको र दान दिएका गाईहरु ब्राह्मणले नै बढी छाड्ने गरेको कतिपय स्थानीयवासीको आरोप छ । कतिपयले गाई दुहुनका लागि या गोरु जोत्नका लागि किन्ने र विनायाममा छाडा छाड्ने गरेको पिपल्लाका गणेशबहादुर साउदले बताउनुभयो । उहाँले भन्नुभयो, “बाँचे अर्को साल फिर्ता ल्याउँला, मरे पनि उतै मर्छन् भन्ने प्रवृत्तिले छाडा चौपायाको बिचल्ली भएको छ । यसरी छाड्नेलाई स्थानीय प्रशासनले कडा कारवाही गर्नुपर्छ ।” बकेर्ना गाई छाड्ने प्रवृत्तिले गाई जोगाउनै मुश्किल भएको विश्व हिन्दू महासङ्घ डोटीका अध्यक्ष राजप्रसाद जोशीले बताउनुभयो । उहाँले भन्नुभयो, “गाईलाई छाडा छोड्दा नेपालको राष्ट्रिय जनावर नै सङ्कटमा पर्न थालेको छ, गौहत्या र बिचल्ली पार्नु भनेको अपराध गर्नु हो ।” छाडा चौपायाले सडकमा मात्र नभएर किसानहरुलाई पनि सास्ती दिँदै आएका छन । बेमौसीमी तरकारी तथा अन्नबाली पनि जोगाउनै कठिन भएको नेकपाका नेता तेज डुम्रेलले बताउनुभयो । दिपायलको पिपल्ला बजारमा मात्र होइन, अधिकांश सुदूरपश्चिमका बजारमा नै छाडा चौपायाले सबैलाई सास्ती दिने गरेका छन् । यहाँका सडकहरु अहिले छाडा चौपायामय भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *