भर्खरै :

पाँच वर्षदेखि अलपत्र विष्णुमती कोरिडोर

काठमाडौँ, १० वैशाख । भूकम्पअघि नै कालोपत्र गर्ने गरी ठेक्का गरिएको विष्णुमती कोरिडोरको करीब छ किमि सडकको काम अहिलेसम्म नसकिँदा बालाजु–टेकु बाटो अवरुद्ध भएको छ ।
डल्लु पुलबाट टेकु पुलसम्मको यो सडक बन्द हुँदा बालाजुबाट कालीमाटी निस्कने यात्रु चक्रपथ घुमेर जान बाध्य छन् । अरु साना सडक पनि बेलाबखत अवरूद्ध हुने भएकाले यात्रु मारमा पर्ने गरेको काठमाडौँ महानगरपालिका–१९ का अध्यक्ष शशिलाल श्रेष्ठले जानकारी दिनुभयो ।
सडकको चौडाइ ८.५, सडकको पूर्वतिर पैदलमार्ग १.५ मिटर र नदीतिर बगैँचा बनाउनुपर्ने थियो । सहरको भित्री भागमा पानी ल्याउन प्रयोग गरिने यो सडक बन्द हुँदा स्थानीयवासीले पिउने पानी नपाएर समस्या हुने गरेको महानगरपालिका–२० का अध्यक्ष राजेन्द्र मानन्धरले बताउनुभयो । यो सडकले नदी पूर्वतिर महानगरपालिकाको १८, १९ र २० वडालाई छुन्छ । पूर्वतिरको भागको बाटो हाल अवरुद्ध रहेकाले धेरै समस्या भएको जनप्रतिनिधिको गुनासो छ । अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले कोरिडोर निर्माणको ठेक्का लगाएको हो ।
महानगरपालिका–१८ स्थित विष्णुमती नदी किनारको सार्वजनिक जग्गा मिचेर टहरा बनाइ बसेकालाई अझै समितिले हटाउनसकेको छैन भने कङ्केश्वरी पुलमुनिको सडकमा हालिएको ढलका कारण ठूला सवारी साधन छिर्न नसक्ने वडा नं १९ का सदस्य चन्द्रमान डङ्गोलले बताउनुभयो ।
समितिले सडक छिटो निर्माण गर्न पहल नगरेको स्थानीयवासीको गुनासो थियो । करोडौँको ठेक्का लिने निर्माण व्यवसायीले हप्तामा एक दुई कामदार ल्याएर काम गरेजस्तो गरी झुलाइराख्ने गरेको जनप्रतिनिधिको भनाइ थियो । विसं २०७१ मा समितिले लुम्बिनी, गौरी पार्वती, कन्टेक जेभीलाई रु. ६७ करोडमा ठेक्का दिएको थियो । उक्त आयोजनाको हालसम्म दुईपटक म्याद थपिएको छ । आउँदो असारसम्म ९० प्रतिशत काम सकिने आयोजनाका इन्जिनियर इन्द्र श्रेष्ठले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *