भर्खरै :

दादुराको सङ्क्रमण बढ्दो ः युनिसेफ

काठमाडौँ, १२ वैशाख (रासस)ः संयुक्त राष्ट्र सङ्घीय बालकोष (युनिसेफ)ले सन् २०१० देखि २०१७ सम्म विश्वका करीब १७ करोड बालबालिकाले दादुरा खोपको पहिलो मात्रा छुटाएको जनाएको छ । खोप नलगाएका बालबालिकाको सङ्ख्या बढ्दै जाँदा अहिले विश्वका केही देशमा दादुराको महामारी फैलिएको युनिसेफद्वारा आज यहाँ जारी विज्ञप्तिमा जनाइएको छ । विज्ञप्तिमा नेपालका केही क्षेत्रमा पनि दादुरा सङ्क्रमणका घटना बढेका र सन् २०१८ मा २४७ बालबालिकालाई दादुराको सङ्क्रमण भएको उल्लेख छ । सन् २०१७ मा सङ्क्रमणको सङ्ख्या ९९ थियो । युनिसेफका कार्यकारी निर्देशक हेनरिएटा फोरद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “आज हामीले केही देशमा देखिरहेको दादुराको महामारीको धरातल केही वर्षअघि नै बनेको थियो ।” सबै देशका हरेक बालबालिकालाई खोप लगाउन उहाँले विज्ञप्तिमार्फत आग्रहसमेत गर्नुभएको छ । सन् २०१९ को पहिलो तीन महीनामा संसारभर एक लाख १० हजारभन्दा धेरैमा दादुराको सङ्क्रमण देखिएका थियो । गत वर्ष सोही अवधिको तुलनामा करीब तीनगुणा धेरै रहेको थियो । सन् २०१७ मा करीब एक लाख १० हजार व्यक्तिको दादुराका कारण मृत्यु भएको विज्ञप्तिमा उल्लेख छ । बालबालिकालाई दादुराबाट जोगाउन दुई मात्रा खोप लगाउनु आवश्यक हुन्छ । खोपमा पहुँच नहुनु, उचित स्वास्थ्य सेवाको कमी, केही ठाउँमा खोपमाथि डर र शङ्काजस्ता कारणले दादुराको खोपको पहिलो मात्रा लगाउने बालबालिका ८५ प्रतिशत मात्र रहेको विज्ञप्तिमा जनाइएको छ । विश्व स्वास्थ्य सङ्गठनले प्रतिरक्षाका लागि खोप लगाउनेको सङ्ख्या कम्तीमा ९५ प्रतिशत हुनुपर्ने मापदण्ड तोकेको छ । विज्ञप्तिमा उच्च आय भएका मुलुकमा दादुरा खोपको पहिलो मात्रा पाउने ९४ दोस्रो मात्रा पाउने ९१ प्रतिशत रहेको जनाइएको छ । विज्ञप्तिमा सन् २०१० देखि २०१७ सम्म उच्च आय हुने मुलुकमध्ये खोपको पहिलो मात्राबाट बञ्चित बालबालिकाको सङ्ख्या संयुक्त राज्य अमेरिकामा सबैभन्दा धेरै रहेको उल्लेख गर्दै पछिल्लो आठ वर्षमा २५ लाखभन्दा धेरै बालबालिकाले दादुराको खोप प्राप्त नगरेको उल्लेख गरिएको छ । यसपछि दोस्रो र तेस्रो क्रममा फ्रान्स र संयुक्त अधिराज्य छन् जहाँ क्रमशः ६ लाख आठ हजार र पाँच लाख २९ हजार बालबालिकाले दादुराको खोप लगाएका छैनन् विज्ञप्तिमा भनिएको छ । सन् २०१७ मा नाइजेरियाका एक वर्ष मुनिका करीब ४० लाख, भारतका २९ लाख, पाकिस्तान, इण्डोनेसियामा १२ लाख र इथियोपियामा ११ लाख बालबालिकाले दादुरा खोपको पहिलो मात्रा पाएनन् । युनिसेफले सबै बालबालिकलाई खोपको पहुँचमा ल्याउन दादुराको खोपको मूल्य सधैँ कम राख्ने, सेवा नपुगेका क्षेत्र र बालबालिकाको पहिचानमा विभिन्न देशलाई सहयोग गर्ने, खोप र सम्बन्धित सामग्रीको खरीद गर्ने, नियमित खोप कार्यक्रममा रहेका अन्तरलाई सम्बोधन गर्न पूरक खोप अभियान सञ्चालन गर्न सहयोग गर्ने कार्य जारी राखेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *