भर्खरै :

पश्चिमाहरु सिरिया र लिवियामा जस्तै भेनेजुयलालाई विभाजित गर्दैछन् ः रुसी गुप्तचर प्रमुख

मास्को, १२ वैशाख (टेलसुर/स्पुटनिक) । रुसी गुप्तचर संस्थाका प्रमुख सर्गेइ नरीश्किनले संरा अमेरिकाको नेतृत्वमा पश्चिमाहरु ल्याटिन अमेरिकी राष्ट्र भेनेजुयलामा पनि सिरिया र लिवियामा जस्तै आन्तरिक विभाजन ल्याउन ठूलो दुष्प्रयास गरिरहेका खुलासा गरेका छन् ।
नरीश्किनले देशमा आन्तरिक विभाजन ल्याएर गृहयुद्ध चर्काएर मानवीय सङ्कट निम्त्याउने दुष्प्रयासको निन्दा गर्दै संरा अमेरिकाले भेनेजयुलाविरुद्ध सैनिक आक्रमण गर्न तयारी गरेको ठोस प्रमाण रुसलाई प्राप्त भएको बताए ।
“संरा अमेरिका भेनेजुयलाविरुद्ध सैनिक हमलासम्मको तयारीमा पुगेको तर तिनीहरुले आफ्नो योजना कार्यान्वयन गर्ला वा नगर्ला समय आएपछि मात्र देखिनेछ ।”, नरीश्किनले भने ।
रुसी गुप्तचर प्रमुखले संरा अमेरिका आफ्नो कदममा सधैँ दोधारे र पाखण्डी भएको बताए ।
भेनेजुयलामाथि सैनिक हमला र त्यसबाट संरा अमेरिका स्वयमको लागि ठूलो समस्या निम्तिने बताउँदै नरीश्किनले अगाडि भने –“ह्वाइटहाउसभित्रै भेनेजुयलामाथि हमला गर्दा बढ्ने आप्रवासीको प्रवाह अनियन्त्रित हुने, मेक्सिकोसितको सीमामा रहेको पर्खालले रोक्न नसक्ने र त्यसलाई व्यवस्थित गर्न थप अरबौँ डलर लाग्ने, साथै भेनेजुयलालगायत वरपरका ल्याटिन अमेरिकी देशहरुमा नयाँ नागरिक द्वन्द्व उत्पन्न हुने र मानवीय सङ्कट निम्तिन सक्नेबारे बहस भइरहेका छन् ।”
“पश्चिमा देशहरु भेनेजुयलालाई विभाजित गर्न उनीहरुले लिविया र सिरियामा लागू गरेकै सूत्र प्रयोग गरिरहेका छन् भने संरा अमेरिका मुनरो सिद्धान्त लागू गर्नमा अडिग देखिएको छ ।”, नरीश्किनले भने ।
मुनरो सिद्धान्तले अमेरिका महादेशका कुनै देशमाथिको युरोेपेली देशले गर्ने आक्रमणलाई संरा अमेरिकामाथिकै आक्रमण मान्छ र त्यहाँ संरा अमेरिकाको हस्तक्षेप अत्यावश्यक छ भन्छ ।
अहिले संरा अमेरिकाले भेनेजुयलामा रुसी सैनिक सल्लाहकारहरु र प्राविधिकहरुको उपस्थितिलाई भेनेजुयलामाथिको रुसी सैनिक हस्तक्षेप भन्छ र आफ्नो अनुमतिबेगर कुनै दक्षिण अमेरिकी देशमा बाहिरी सेना र मानिसहरु आउन नपाउने भनिरहेको छ ।
“पश्चिम गोलाद्र्धमा संरा अमेरिकाले मुनरो सिद्धान्त लागू गर्दैछ, त्यसको लक्ष्य ल्याटिन अमेरिकी देशहरुको सार्वभौमसत्ता सीमित गर्नु हो र वासिङटन अगाडि बढेको र उसले चाहेको नीतिमा अरु देशहरु अगाडि बढून् र कुनै पनि बेला सैनिकलगायत कुनै पनि विधिले तिनीहरुमाथि दबाब दिन सकियोस् भन्ने हो ।” रुसी रक्षामन्त्री सर्गेइ शोइगुले बताए ।
यसैबीच संरा अमेरिका, युरोपका केही देश र ब्राजिल, कोलम्बियालगायत केही ल्याटिन अमेरिकी देशका गुप्तचर संस्थाले स्वघोषित राष्ट्रपति ह्वान ग्वाइडोलाई साथ दिने निर्णय गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *