भ्लादिभोस्तक, १३ बैशाख (रासस-एएफपी) – प्रजग कोरियाली नेता किम जोङ–अन शुक्रबार रुसको सुदूरपूर्वी तटीय शहर भ्लादिभोस्तकबाट स्वदेश फर्किनुभएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको मैत्रीपूर्ण निमन्त्रणमा प्रजग कोरियाली नेता किम बुधबार निजी रेलमा चढेर रुसको भ्लादिभोस्तक पुग्नुभएको थियो । रुसी राष्ट्रपति भ्लालिमिर पुटिन र नेता किमबीच द्वीपक्षीय हितलगायतका विषयमा भएको सम्मेलनपछि किम शुक्रबार त्यहाँबाट फकिर्नु भएको छ ।
भ्लादिभोस्तक रेल स्टेशनबाट किम ग्रीनबीच समयानुसार ०५३० मा फर्किनु भएको हो । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र प्रजग कोरियाली नेता किम जोङ–अनबीच रुसको सुदूरपूर्वी तटीय शहर भ्लादिभोस्तकमा पहिलो पटक प्रत्यक्ष भेटवार्ता भएको हो । यी दुई नेताबीचको भेटवार्ताले मस्को र प्योङयोङबीचको सम्बन्ध अझै बलियो हुने विश्वास गरिएको छ । दुबै नेताबीच भ्लादिभोस्तकको रुस्की द्वीपस्थित फार इस्टर्न फेडेरल युनिभर्सिटी क्याम्पसमा भेटवार्ता भएको थियो । भ्लादिभोस्तकको सुरक्षा व्यवस्था कडा पारिएको थियो । रुसी राष्ट्रपति पुटिनले बिहीबार नै भ्लादिभोस्तक छोड्नु भएको थियो ।
पुटिन भ्लादिभोस्तक हुँदै चीनको बेइजिङ आउन लाग्नुभएको छ । चीनमा आयोजना हुने बिआरआई अन्तरराष्ट्रिय सम्मेलनमा भाग लिन उहाँ त्यसतर्फ लाग्नु भएको छ । दुबै नेताबीच कोरियाली प्रायःद्वीपमा आणविक अप्रसारका साथै रुस–प्रजग कोरिया सम्बन्धलाई नयाँ आयाम दिने प्रयत्नमा केन्द्रित भएको रुसी अधिकारीले बताएका छन् । यद्यपी दुबै नेताका तर्फबाट संयुक्त वक्तव्य जारी नभएको र कुनै नयाँ सम्झौतामा हस्ताक्षर नभएको क्रेमलिनले जनाएको छ । रुसी राष्ट्रपति पुटिनले कोरियाली प्रायःद्वीपमा उत्पन्न तनाबका सन्दर्भमा आफ्ना तर्फबाट सकारात्मक प्रयत्न जारी राख्ने बताउनुभएको छ । उहाँले नेता किमलाई स्वागत गर्दै भन्नुभयो, “तपाइँको भ्रमणबाट द्विपक्षीय सम्बन्धमा अझ सुधार आउनेछ, र कोरियाली प्रायःद्वीपमा उत्पन्न विविध विषयलाई सम्बोधन गरी राम्रो समाधान खोज्नेतर्फ हामी सफल हुनेछौं ।
” प्रजग कोरियाली नेता किमले भ्रमणका बारेमा पहिलो प्रतिक्रिया दिँदै कोरियाली प्रायःद्वीपका विविध विषयलाई सम्बोधन गर्न रुसी राष्ट्रपति पुटिनसँगको भेटवार्ता अर्थपूर्ण हुने बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले, विश्वकै ध्यान कोरियाली प्रायःद्वीपमा केन्द्रित भएको छ ।” किमका साथ प्रजग कोरियाका सैनिक, नागरिक एवं पार्टीका वरिष्ट अधिकारी सहभागी हुनुहुन्छ । रुसी प्रमण्डलमा रुसी उपप्रधानमन्त्री युरी टुटनेभ, विदेशमन्त्री सर्गेई लाभरोभ र यातायात मन्त्रीलगायत वरिष्ट अधिकारीहरु हुनुहुन्छ ।
Leave a Reply