भर्खरै :

सुशोभित कुर्सीमा सजिँदैमा देश समृद्ध नहुने

– गौरव प्रधान
सत्तारूढ दल नेकपाका नेताहरू सिंहासनमा विराजमान छन्, सुशोभित कुर्सीमा सजिएका छन् । दायाँ–बायाँ देखिने र नदेखिने सुरक्षाकर्मीहरूको घेरामा देश–विदेश सयल गरिरहेका छन् । यात्रामा जहाँ बसेर थकाइ मारे पनि विकासै विकासको ध्वाङ फुकिरहेका छन् । मानौँ अब कुनै गाउँ, ठाउँ, सहर बजार छैन, जहाँ विकासै विकास भइरहेको छ । आफूलाई ठूला र शक्तिशाली दाबी गर्ने नेकपाको सरकारले पानीजहाज चलाउने कार्यालयको उद्घाटन गरेर विकासको ध्वाङ फुक्ने होइन । दुई–चारवटा कार्यक्रममा सरिक भएर विद्यार्थी अभियान सुरू भयो, अब बस्ती बस्तीका विद्यार्थीहरू विद्यालयमा भर्ना हुन्छन् भनेर खुसी बाँड्ने होइन । जनताको पसिनाबाट उठेको रकम खर्च गर्नु कुनै बहादुरी होइन । भएको बजेट खर्च गर्न ओलीको नेतृत्वमा रहेको नेकपाको सरकार नै चाहिन्छ भन्ने होइन ।
नेकपाका नेताहरूलाई ठूलो, शक्तिशाली दल बनेकोमा र पार्टी एक भएकोमा रवाफ छ । अब कुनै दलले सरकारको नेतृत्व गर्न नसक्ने उनीहरूको दाबी छ । नेपालमा विकासको उचाइ बढाएर विश्वलाई चिनाउने सत्तारूढ दलका नेता र मन्त्रीहरूको बखान छ । विकासलाई सगरमाथाको उचाइमा पु¥याउने बखान गरेर कार्यकर्ता र सर्वसाधारण जनताको ध्यान तान्ने नेकपा साँच्चै सच्चा कम्युनिष्ट पार्टी कहिले हुने हो ? राजनीतिक विश्लेषकहरूको चिन्ता र चासो छ । विकासमा विश्वलाई चिनाउने आँट भएका सरकारी नेता र मन्त्रीहरू देशकै दयनीय अवस्थामा पुगेका दर्जनौँ सरकारी उद्योग, कारखानाहरू सञ्चालन गर्नेबारे आँखा खोल्दैनन्, बुद्धि पु¥याउँदैनन् । देशका लागि आवश्यक उद्योग र कलकारखाना सरकारकै लगानी र स्वदेशी राष्ट्रिय पुँजीपतिहरूको सहयोगमा खोल्न अघि सर्दैनन् । विदेशी पुँजी र विदेशी कम्पनीहरूलाई भित्याएर, उनीहरूको पुँजी खेलाएर के नेपालको विकास हुन्छ ? देशको अर्थतन्त्र मजबुत हुन्छ ? जनताको जीवनस्तर बढ्छ ?
खोक्रा आदर्शवादी कुरा फलाकेर, योजना र योजनाको रकम कार्यकर्ताको खल्तीमा छोडेर विकास गर्ने, पदको दुरूपयोग गरी अकुत सम्पत्ति कुम्ल्याएर पार्टी र कार्यकर्तालाई धनी बनाउने सरकारको राइँदाइँले देश समृद्ध बन्दैन । नेकपा सरकारको गतिविधिलाई लोकतन्त्र, सङ्घीय गणतन्त्रले मात्र होइन कम्युनिष्ट पार्टीले गिज्याइरहेको छ । नेकपाको सरकारलाई कम्युनिष्टको सरकार भन्ने कुनै आधार नभएको अन्य कम्युनिष्ट नेताहरूको भनाइ छ । राजनीतिक विश्लेषकहरू त नेकपा न कम्युनिष्ट पार्टी हो न त पुँजीवादी पार्टी हो भन्छन् । अलि अलि कम्युनिष्ट पार्टी र अलि अलि पुँजीवादी पार्टी पन भएको उनीहरूको बुझाइ हो । नेकपाले कम्युनिष्टको सिद्धान्त र विचारअनुसार कुनै कार्य गरिरहेको छैन । हो, नेकपाको सरकार हुनेबित्तिकै एकैपटक समाजवादी व्यवस्था लागू हुँदैन, गर्न सकिँदैन । त्यो अरू कम्युनिष्ट दलको भनाइ पनि होइन । तर, कम्युनिष्ट पार्टीको सरकार भएपछि कम्युनिष्टको सिद्धान्त र विचारअनुसार काम गर्दै जानुपर्छ भन्ने तर्क बेठीक होइन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *