जनतालाई उत्पादन बढाउन उत्साहित गरेमा देशको अर्थतन्त्र चलायमान हुने
- श्रावण १, २०८३
–बोधबहादुर नेपाली
नेपाली जनताले जनअधिकार स्थापनाका लागि आन्दोलन गर्दा शासक दलका नेताहरूले विगतमा गरेका गल्ती र अपराधहरू डोहो¥याउने छैनन् भनी विश्वास गरेका थिए । तर त्यो जनविश्वासमाथि घात गर्ने काम सत्तामा पुगेका नेताहरूले गरेका छन् ।
पैसाका लागि तिनीहरूले जे पनि गरेका छन् र गर्ने अनुमति र छुट दिएका छन् । त्यसैले त देशका कार्यकारी प्रधानमन्त्रीको निवास रहेको बालुवाटारको सरकारी जग्गासमेत व्यक्तिका नाममा पठाएर कारोबार भएका छन् । टुँडिखेलको सार्वजनिक जग्गा टुक्राइँदै व्यापारिक प्रयोजनको भवन बनाउन लगाउँदै कमिसनका आधारमा बेचिंदै छन् ।
कमिसनकै लागि सरकारी संस्थान र उद्योग प्रतिष्ठानहरू घाटामा पठाएर निजीकरणको नाममा बेचिए । आज सचेत र सजग जनता नभएका स्थानका सरकारी र सार्वजनिक जग्गाहरू कति बेचिएका छन् ? कुनै लेखाजोखा नै छैन । भ्रष्ट ठेकेदारहरूले सडक बनाउने, पुल बनाउने र विकास निर्माणका अरु अबौँ र खर्बौ रुपैयाँ पेश्की लिई कामै नगरी पचाइरहेका छन् । तिनीहरूलाई शासक दलका नेताहरूकै संरक्षण मिलिरहेको छ । सबैतिर भ्रष्टाचारीहरूको रजगज चलेको छ । देश र समाजलाई खोक्रो बनाउने भ्रष्टाचारीहरूबीच ठूलो एकता छ ।
के यही हो समाजवादउन्मुख लोकतान्त्रिक गणतन्त्र हो ? जनता भन्दै छन्, यो त कमिसनतन्त्र र लुटतन्त्रको नमुना हो । भ्रष्टाचारीलाई छाडिन्न भन्ने वर्तमान सरकारको बखान भ्रष्टाचारीहरूमाथि कारबाही हो कि कमिसन लिएर भ्रष्टाचारीहरूलाई संरक्षण ?
Leave a Reply