भर्खरै :

विद्यार्थीमाझ समाजवादको प्रशिक्षण

दैलेख, १४ वैशाख । नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ दैलेख जिल्ला समितिको आयोजनामा दुईदिने जिल्लास्तरीय विद्यार्थी कार्यकर्ता प्रशिक्षण शिविर शनिबार सम्पन्न भयो ।
प्रशिक्षण शिविरको उद्घाटन नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य जग्यबहादुर शाहीले गर्नुभयो । शिविरमा दैलेख जिल्लाका विभिन्न क्षेत्रबाट सहभागी विद्यार्थीहरूलाई प्रशिक्षण दिंदै केन्द्रीय सदस्य शाहीले समाजवादी व्यवस्थाले मात्र देशका व्यापक काम गरी खाने जनताको हित गर्नसक्ने भएकोले समाजवादी आन्दोलनमा कार्यकर्ताको रूपमा आफूलाई तयार गर्नुपर्ने विचार राख्नुभयो ।
नेकपाको सरकारले देशमा समाजवादी व्यवस्था ल्याउन नसक्ने धारणा राख्दै उहाँले कम्युनिस्ट आन्दोलनभित्र पसेका नक्कली कम्युनिस्टविरूद्ध नेमकिपाले सैद्धान्तिक सङ्घर्ष चालु राख्ने बताउनुभयो ।
उहाँले वर्तमान सरकार भ्रष्टाचारको दलदलमा फसेको र पुँजीवादी व्यवस्था भ्रष्टाचारको दलदलबाट कहिल्यै उठ्न नसक्ने धारणा राख्नुभयो ।
नेमकिपाका अर्का केन्द्रीय सदस्य बजिरसिंह विकले असल सिद्धान्त, असल नेता र असल कार्यकर्ताले कुनै पनि राजनीतिक दललाई असल र जनताको सेवक पार्टी बनाउने बताउनुभयो । “नेक्राविसङ्घका कार्यकर्ताको लक्ष्य राजनीतिमा लागेर पद र पैसाको पछि लाग्नु नभई समाज र देशको सेवा गर्नु हो ।” उहाँले भन्नुभयो ।
नेक्राविसङ्घका केन्द्रीय सचिव रमेश प्रजापतिले नेपालको विद्यार्थी आन्दोलनमा नेक्राविसङ्घले खेलिरहेको पृथक भूमिकाबारे चर्चा गर्दै शासक दलसम्बद्ध विद्यार्थी सङ्गठनहरूभित्रको विकृतिले इतिहासमा क्रान्तिकारी भूमिका खेल्न सफल विद्यार्थी आन्दोलन क्रमशः कमजोर बन्दै गएको बताउनुभयो ।
प्रशिक्षण शिविरमा नेपाल क्रान्तिकारी शिक्षक सङ्घ दैलेख जिल्ला समितिका अध्यक्ष मनोज दाहालले ‘माक्र्सवाद–लेनिनवाद र माओविचारधारा’, नेक्राविसङ्घका केन्द्रीय सदस्य सरजु फसिकवले ‘समाजवादी शिक्षा व्यवस्था’, नेक्राविसङ्घका पूर्वकेन्द्रीय सदस्य जनक माझीले ‘सङ्गठन र व्यवहार’ विषयमा प्रशिक्षण दिनुभएको थियो ।
प्रशिक्षण शिविरमा शिक्षक डम्बर थापा, टिकाराम कठायतलगायतले पनि विभिन्न विषयमा प्रशिक्षण दिनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *