भर्खरै :

नेपाल राष्ट्र बैङ्कको ६४ औँ वार्षिकोत्सव

काठमाडौँ, १४ वैशाख । नेपाल राष्ट्र बैङ्कको ६४ औँ वार्षिकोत्सवको उपलक्ष्यमा बैङ्कले शनिबार केन्द्रीय कार्यालय बालुवाटारमा विशेष समारोहको आयोजना ग¥यो । समारोहको उद्घाटन गभर्नर डा. चिरञ्जीवी नेपालले गर्नुभयो ।
समारोहलाई सम्बोधन गर्दै गभर्नर डा. नेपालले मुलुकमा राजनीतिक स्थायित्व कायम भएसँगै आर्थिक क्रियाकलापले गति लिन थालेको, कृषि, ऊर्जा, पर्यटन लगायतका क्षेत्रमा कर्जा प्रवाह बढेको र भुक्तानी प्रणालीलाई आधुनिकीकरण गर्ने दिशामा पूर्वाधार निर्माणका महत्वपूर्ण काम अगाडि बढेको बताउनुभयो ।
कृषि उत्पादनमा भएको वृद्धि, ऊर्जा आपूर्तिमा देखिएको सुधार, पुनर्निर्माणले लिएको गति तथा पर्यटन क्षेत्रमा भएको आशालाग्दो प्रगतिले देशको आर्थिक क्षेत्रमा उत्साहजनक परिदृश्य देखिएको चर्चा गर्दै गभर्नर डा. नेपालले वित्तीय क्षेत्रमा लिइएका नीतिगत पहलकदमीको परिणामस्वरूप देशमा वित्तीय पहुँच विस्तार भएको बताउनुभयो । यसै सन्दर्भमा उहाँले बैङ्क तथा वित्तीय संस्थाको शाखा सङ्ख्या ८,२०५ पुगेको, प्रतिशाखाले सेवा प्रदान गर्न सक्ने औसत जनसङ्ख्या ३,५६० भएको, बैङ्क तथा वित्तीय संस्थामा रहेको निक्षेप खाताको सङ्ख्या २ करोड ५७ लाख बढी पुगेको र देशका ७५३ स्थानीय तहमध्ये ७२५ स्थानीय तहमा वाणिज्य बैङ्कको शाखा पुगेको जानकारी दिनुभयो ।
नेपालका बैङ्क तथा वित्तीय संस्थाहरूको निक्षेप रु. ३० खर्ब ९ अर्ब बढी पुगेको र कर्जा लगानी रु. २७ खर्ब ४९ अर्ब बढी रहेको उल्लेख गर्दै उहाँले बैङ्क तथा वित्तीय संस्थाहरू एक–आपसमा गाभिई संस्थागत सबलीकरण र संख्यात्मक व्यवस्थापनमा सहयोग पुगेको बताउनुभयो ।
मुलुकको भौतिक पूर्वाधारका क्षेत्रमा लगानीको आवश्यकता पूरा गर्ने उद्देश्यले पूर्वाधार विकास बैंक स्थापना भएको उल्लेख गर्दै गभर्नर डा. नेपालले संघीयता कार्यान्वयनमा सहयोग पु¥याउन नेपाल राष्ट्र बैङ्कको संस्थागत ढाँचामा परिवर्तन गर्ने क्रममा कर्णाली प्रदेशमा केन्द्रीय बैङ्कको कार्यालय स्थापना गर्ने प्रक्रिया अगाडि बढेको जानकारी दिनुभयो ।
समारोहमा पूर्व गभर्नर सत्येन्द्रप्यारा श्रेष्ठलाई बैङ्कले सम्मान गरेको थियो । सम्मानित व्यक्तित्व पूर्व गभर्नर श्रेष्ठलाई गभर्नर डा. नेपालले उपहार र सम्मान पत्र प्रदान गर्नुभएको थियो । साथै गभर्नर डा. नेपालले बैङ्क सेवामा २० वर्ष पूरा गरेका कर्मचारीलाई दीर्घ सेवा पदक र बैंकले आयोजना गरेको आर्थिक लेख प्रतियोगितामा विजयी कर्मचारीहरूलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभएको थियो ।
समारोहमा मन्तव्य व्यक्त गर्दै पूर्व गनर्भर श्रेष्ठले नेपालको बाह्य क्षेत्रको प्रवृत्ति चिन्ताजनक रहेकोले समयमै सचेत हुनुपर्ने बताउनुभयो ।
बढ्दो वस्तु आयातका कारण नेपालको विदेशी विनिमय सञ्चिति चालु आर्थिक वर्षको आठ महिनामा मात्र करिब रु. १ खर्बले घटेको चर्चा गर्दै उहाँले यो प्रवृत्ति निरन्तर कायम रहिरहे देशमा विदेशी मुद्राको सङ्कट आउनसक्ने बताउनुभयो ।
बैङ्कका पूर्व गभर्नर, डेपुटी गभर्नर तथा वरिष्ट अधिकृतहरूका साथै कर्मचारीहरूको उपस्थिति रहेको उक्त समारोहमा बैङ्कका वरिष्ट डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने डेपुटी गभर्नर शिवराज श्रेष्ठले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको थियो ।
समारोहमा नेपाल बैङ्कर्स सङ्घका अध्यक्ष ज्ञानेन्द्र ढुङ्गाना, बैङ्कका कर्मचारी युनियनका अध्यक्ष र पूर्व कर्मचारी संघका अध्यक्षले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *