भर्खरै :

लेनिन, क्रुप्स्काया युग–युगसम्म बाँचिरहनेछन्

सृजना सैँजू
हामी विश्व सर्वहारा वर्गका महान् गुरू कामरेड लेनिनलाई सम्झिरहेका छौँ । उहाँको जीवन, सङ्घर्ष, व्यक्तित्वबारे चर्चा गर्दैछौँ । उहाँको सरल जीवन, क्रान्तिकारी उत्साह, सक्रियता, गहिरो र गम्भीर अध्ययन, व्यक्तिगत महत्वाकाङ्क्षा त्यागी क्रान्तिको उद्देश्य राख्ने लेनिनको स्वभावबाट सिक्न खोज्दैछौँ । लेनिनलाई एक माक्र्सवादी र एक सच्चा अन्तर्राष्ट्रवादी एवम् युगद्रष्टाका रूपमा स्मरण गर्दैछौँ । युरोपेली मजदुर आन्दोलन र कम्युनिष्ट क्रान्तिबाट शिक्षा लिई रूसी क्रान्तिको निम्ति तत्कालीन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिलाई मूल्याङ्कन गरी समाजवादी क्रान्ति सम्भव छ भनी नयाँ सिद्धान्त प्रतिपादन गर्नुभएको बारे थप बुझ्न खोज्दैछौं । लेनिनले एसियाका विभिन्न उपनिवेशहरूमा कम्युनिष्ट पार्टीहरूको स्थापनाका लागि उत्साह प्रदान गर्नुभएको इतिहास सम्झँदै छौँ ।
लेनिनले एक नयाँ कम्युनिष्ट अन्तर्राष्ट्रवादको जग हाल्नुभयो । लेनिनवादको प्रादुर्भाव भयो । पुँजीवादको सबभन्दा माथिल्लो अवस्था साम्राज्यवादी युगमा सर्वहारा क्रान्ति र सर्वहारा हुकुमको सिद्धान्त र व्यवहार नै लेनिनवादको रूपमा स्थापित भयो । पुँजीवाद, साम्राज्यवाद, संशोधनवाद र सबैखाले अवसरवादविरूद्ध उभिन लेनिनवाद बलियो आधारशिलाको रूपमा हामी आत्मसात गर्दछौँ । नेमकिपाका अध्यक्ष का. रोहितले लेनिन पढ्न, बुझ्न र उहाँबाट सिक्न निरन्तर उत्साहित गर्दै आउनुभएको छ । लेनिनवादी हुनुको अर्थबारे का. रोहितले दिनुभएको मार्गनिर्देशनबारे गम्भीरतापूर्वक मनन गर्नु हरेक कार्यकर्ताको कर्तव्य हो ।
यसरी लेनिनको सङ्घर्षशील एवं बलिदानीपूर्ण जीवन र रूसी क्रान्तिका पृष्ठहरू पल्टाइरहँदा एउटा छुटाउनै नहुने नाउँ हो – नादेज्दा क्रुप्स्काया ।
उनी एक माक्र्सवादी शिक्षक, कुशल शिक्षाविद्, क्रान्तिकारी नेतृ र समाजवादी जनवादी शिक्षा पद्धतिका संस्थापकका रूपमा रूसी जनता र संसारका श्रमजीवी जनताको मनमस्तिष्कमा रहन सफल छिन् । रूसको समाजवादी क्रान्ति र लेनिनका सफलताहरूमा क्रुप्स्कायाको योगदान अत्यन्त महत्वपूर्ण छ ।
एक गरिब तर प्रगतिशील विचारको परिवार, जारशाहीविरोधी परिवारमा सन् १८६९ मा उनको जन्म भएको थियो । १४ वर्षकै उमेरमा उनी शिक्षिका बनिन् । बालमस्तिष्कमै जारशाहीविरोधी भावना भएकी क्रुप्स्काया क्रान्तिकारी स्वभावकी प्रतिभाशाली महिला थिइन् । शिक्षिका रहँदै उनी माक्र्सवादी विचारधाराबाट प्रभावित हुँदै कम्युनिष्ट पार्टीमा आबद्ध भइन् ।
विस्तारै मजदुरहरूको पाठशालामा पढाउँदै १८९३ मा लेनिनले सञ्चालन गर्नुभएको ‘माक्र्सवादी अध्ययन मण्डल’ र लेनिनले स्थापना गर्नुभएको ‘मजदुर वर्गको मुक्तिको लागि सङ्घर्ष गर्ने’ लिगमा सक्रिय भएर लागिन् ।
सन् १८९४ मा लेनिनसँग क्रुप्स्कायाको भेट भयो । उनी लेनिनको सरल जीवन तथा क्रान्तिकारी विचारबाट प्रभावित थिइन् । लेनिनसँगै उनी पनि मजदुर वर्गलाई पुँजीपति वर्गविरूद्ध लड्न उत्साहित गर्थिन् । मजदुरहरूको मुक्तिको लागि सङ्गठन निर्माणमा लेनिनलाई सहयोग गर्थिन् । उनको सहयोगबाटै लेनिनलाई सेन्ट पिटर्सवर्गबाटै भूमिगत आन्दोलन सुरू गर्न सजिलो भएको थियो । साम्राज्यवाद, संशोधनवाद र सबैखाले अवसरवादविरूद्ध क्रुप्स्कायाले लेनिनसँगसँगै लडिन् । क्रुप्स्काया लेनिनकी असल सहयोद्धा थिइन् ।
तर, लेनिनकी पत्नीको रूपमा मात्र बुझ्ने र उनका मौलिक क्षमता र योगदानहरूको अवमूल्यन गर्ने पद्धतिको शिकार अक्सर क्रुप्स्काया बन्ने गरेको पाइन्छ । उनी सन् १८६३ मा लेनिनसँग भेट हुनुअघि नै कम्युनिष्ट बनेकी थिइन् । तीन वर्षको क्रान्तिकारी सहकार्य र प्रेमपछि मात्र साइवेरिया निर्वासनको क्रममा विवाह भएको थियो ।
उनी अत्यन्त सक्रियताका साथ प्रतिक्रियावादी सरकारविरूद्ध आगो ओकल्थिन् । ‘सेन्ट पिटसर््वर्ग लिग अफ स्ट्रगल’ संस्थामा उनको सहभागिता र सक्रियताको कारण १८९६ मा उनी पक्राउ परिन् । त्रूmर सरकारले कठोर सजायका निमित्त उनलाई दुर्गम ठाउँ साइबेरिया पठायो । ३ वर्षसम्म अत्यन्त कठोर जीवन भोगिन् । त्यही समयमा लेनिन पनि साइबेरिया पुग्नुभएको थियो ।
क्रान्तिलाई नै एकमात्र उद्देश्य लिएर हिँड्नुभएका लेनिन र क्रुप्स्कायाको हरेक काम एक–अर्काको सल्लाह र सहयोगबाट हुन्थ्यो । एक अर्काको परिपूरकको रूपमा दुवै उभिन थाले । सन् १८९८ मा वैवाहिक जीवनमा प्रवेश गरेका क्रुप्स्कायाले माक्र्सवादी आन्दोलनका एक सशक्त आमाका रूपमा भूमिका खेलिन् । लेनिनले लेख्नुभएका पुस्तकहरूमा क्रुप्स्काया आवश्यक सल्लाह सुझाव राख्थिन् । लेनिन सङ्गठनको काममा व्यस्त हुँदा पुस्तक अनुवाद गर्ने, सङ्गठनहरूसँग सम्पर्क बढाउने काम क्रुप्स्काया गर्थिन् । निर्वासित जीवनमै ‘इस्क्रा’ देखि ‘प्राब्दा’ अखबारहरू प्रकाशनका लागि सम्पादक मण्डलको सचिवको रूपमा काम गरिन् । पार्टीका महत्वपूर्ण दस्तावेज लेखन, राजनैतिक छलफल, गोप्य बैठक सञ्चालन, सूचना आदानप्रदान, कार्यक्रमको मस्यौदा तयार गर्ने आदि जिम्मेवारी लेनिनको अनुपस्थितिमा पूरा गर्थिन् ।
उनको आफ्नो मौलिक रचना ‘दि ओमन वर्कर’ लगायत शैक्षिक सुधारसम्बन्धी लेखहरू चर्चित छन् । क्रुप्स्काया रूसी महिला, मजदुर र रूसी युवाहरूबीच लोकप्रिय एक आदर्श व्यक्ति पनि थिइन् ।
उनी सन् १९१७ को फेब्रुअरी क्रान्ति अर्थात् पुँजीवादी क्रान्तिपछि स्वदेश फर्केर अक्टोबर क्रान्तिको तयारीमा जुटिन् । बोल्शेभिक पार्टीको सदस्य भई गुरिल्ला युद्धको तयारीमार्फत पनि क्रान्तिलाई सशक्त बनाउनमा भूमिका निर्वाह गरिन् । अक्टोबर क्रान्तिको तयारीमा भूमिगत रहनुभएका लेनिनका निर्देशनले भरिएका चिट्ठीहरू लेखेर सैनिक समितिमा पठाउने जस्तो महत्वपूर्ण दायित्व उनले पूरा गरिन् ।
अक्टोबर क्रान्तिको सफलतापश्चात् शैक्षिक गतिविधिको प्रथम निर्देशिका तयार पार्ने उनी नै थिइन् । सम्पूर्णरूपमा साक्षरता वृद्धि गर्ने उद्देश्यसहित पुरानो शिक्षा पद्धति हटाई जनवादी शिक्षा पद्धतीको अभ्यास उनकै अगुवाइमा थालियो । १९१५ मै ‘जनशिक्षा र जनवाद’ शीर्षकमा उनले शोधग्रन्थ तयार गरेकी थिइन् । रूसको माटोमा निःशुल्क, अनिवार्य र उत्पादन श्रमसँग जोडिएको वैज्ञानिक शिक्षा पद्धतिलाई लागू गराउने क्रुप्स्काया नै थिइन् । शिक्षाको प्रचारक उनी शिक्षाकै उज्यालोले रूस अघि बढ्छ भन्ने मान्यता राख्थिन् । उनको भनाइ छ – “शिक्षा नै मार्गनिर्देशनको एकमात्र उपाय हो ।”
सन् १९२४ मा लेनिनको निधनपछि लेनिनको सालिक बनाउन लाग्दा विरोध गर्दै उनले भनेकी थिइन् – “स्कूल बनाउनुपर्छ, किनकि स्कूलमा केटाकेटीलाई ज्ञान दिइन्छ । सालिकमा त्यस्तो कुनै गुण हुँदैन ।”
क्रुप्स्कायाको ‘समाजवादी स्कूलको महत्व’ शीर्षकको लेख आज पनि उत्तिकै पठनीय र सामयिक छ । उक्त लेखमा उनी लेख्छिन् – “बुर्जुवा राज्य, चाहे त्यो राजतन्त्र होस् या गणतन्त्र नै किन नहोस् त्यस्तो राज्यमा स्कूल आम जनतामाथि वैचारिक दासता थोपर्ने साधनमात्र हुन्छ ।”
स्कूल र विद्यार्थीहरूमा पनि वर्ग हुन्छ । बुर्जुवा समाज प्रभुत्वशाली वर्गका सन्तानहरूको लागि छुट्टै विद्यालय हुने तर गरिबका सन्तानहरूका लागि विद्यालय नै नहुने व्यवस्थाका विरोधी थिइन्, उनी । बालबालिकाहरूलाई मन्टेश्वरी शिक्षा दिनुपर्ने र शिशुस्याहार केन्द्रको स्थापना गरिनुपर्ने विषयमा उत्तिबेलै क्रुप्स्कायाले अगुवाइ गरेकी थिइन् । विद्यार्थीकालमै सामाजिक भावना र क्रियाकलाप अवगत गराउने, मानव समाजको आधार श्रम नै हो भनी सिकाउने, उत्पादन श्रमबाट रमाउन सिकाउने शिक्षा पद्धतिको पक्षपाति थिइन्, क्रुप्स्काया । सामूहिक भावना एक–अर्कालार्ई मद्दत गर्ने भावना, व्यक्तित्व विकास अर्थात निर्माण गर्ने समाजवादी शिक्षाको विकासमा क्रुप्स्काया अहोरात्र लागेकी थिइन् ।
उनी भन्छिन् – “शिक्षासँग घनिष्ट रूपमा गाँसिएको उत्पादन श्रमले स्कूलमा स्थान पायो भने त्यसले शिक्षा सय गुणा बढी गहन र जीवनमय हुन्छ । यस्ता स्कूलहरूमा जो प्रशिक्षित हुन्छन्, उनीहरू श्रमका लागि हरेक दृष्टिले तयार हुन्छन्, कुनै पनि काम गर्ने सक्षमता विकास हुन्छ ।” लेनिनको निधनपछि पनि उनले समाजवादी शिक्षा, समाजवादी स्कूलका विषयमा सैद्धान्तिक खुराक प्रदान गरी नै रहिन् । शिक्षा र संस्कृतिको क्षेत्रमा क्रुप्स्कायाको दख्खलले क्रान्तिपछि लामो समयसम्म शिक्षा उपमन्त्रीको पदमा रहेर जिम्मेवारी पूरा गरिन् ।
लेनिन र क्रुप्स्कायाको २६ वर्षे वैवाहिक जीवनमा लेनिनलाई एउटी आमाले झैँ प्रेमपूर्वक व्यवहार गर्ने सहयात्रीको रूपमा पनि क्रुप्स्काया चिनिन्छिन् । लेनिनको निधनपछिको १५ वर्ष अर्थात् बाँचुञ्जेल उनले लेनिनकै सपना बाँचिन् । समाजवादको जग बलियो बनाइन् । समाजवादी नीति, समाजवादी शिक्षा पद्धतिको प्रचार र विकासमा दत्तचित्त भई लागिरहिन् ।
पुँजीवादी देशका मजदुरहरू महिला र पुरूषका समान अधिकारका निम्ति सँगसँगै लड्नुपर्ने उनको विचार सदा स्मरणीय छ । उनको भनाइ छ – “सङ्घर्ष र साम्यवाद निर्माणमा हामीले आफ्नो व्यक्तिगत जीवनलाई जोड्नुपर्दछ ।” लेनिन दिवसको यस अवसरमा क्रुप्स्कायाको क्रान्तिकारी विचार र जीवनीको अध्ययनले ऊर्जा थप्ने विश्वास छ ।
क्रुप्स्काया लेनिनसँग मात्र होइन सिङ्गो सोभियत रूस, रूसको मजदुर आन्दोलन, रूसी अक्टोबर क्रान्तिसँग जोडिएको नाम हो । क्रान्तिपछि रूसमा भएको शैक्षिक रूपान्तरणसँग जोडिएको नाम हो । सम्पूर्ण अन्तर्राष्ट्रिय महिला, मजदुर मुक्तिको आन्दोलनसँग जोडिएको नाम हो । क्रुप्स्काया संसारका सम्पूर्ण कामदार वर्गीय क्रान्तिकारीहरूबीच युगौँयुगसम्म सम्झिइनेछिन् । लेनिनवादका असल प्रचारक क्रुप्स्काया लेनिनसँगै संसारका श्रमजीवी जनताको हृदय–हृदयमा युगौँयुगसम्म बाँचिरहनेछिन् ।
(१४९ औं लेनिन दिवसको अवसरमा नेपाल मजदुर किसान पार्टीको आयोजनामा वैशाख ९ गते सम्पन्न प्रवचन कार्यक्रममा व्यक्त विचारको सार–संक्षेप)

Leave a Reply

Your email address will not be published. Required fields are marked *