भर्खरै :

हिंसा रोक्ने अभियानमा ट्राफिक प्रहरी

विदुर, १६ वैशाख (रासस)ः दिनहुँ हुने बाल यौन हिंसा र त्यसबाट कसरी जोगिने भन्ने विषयमा ट्राफिक ज्ञानको जानकारीका साथै सचेतनामूलक दुईदिने अभियान आज सम्पन्न भएको छ । जिल्ला प्रहरी कार्यालय नुवाकोट र संरक्षक समूह नेपालको संयुक्त आयोजना तथा सामुदायिक प्रहरी सेवा केन्द्र नुवाकोटको सहकार्यमा नुवाकोटको विदुर नगरपालिकास्थित पृथ्वी मावि, च्वाडी मावि, भैरुम मावि, रणभुवनेश्वरी माविका कक्षा ६ ,७ र ८ मा अध्ययनरत २४० बालिका विद्यार्थीलाई हिंसाबाट जोगिने र प्रहरीलाई कुन माध्यमबाट खबर गर्ने भन्ने विषयमा ज्ञान दिइएको अभियानका प्रमुख प्रशिक्षक प्रहरी नायब निरीक्षक विकल भट्टराईले बताउनुभयो । भट्टराई भन्नुहुन्छ, “ बालबालिकालाई विद्यालयमा आउँदा, खेल्न जाँदा, अन्य कुनै ठाउँमा बालिकाहरु गए भने परिवारले आफ्ना सन्तानलाई हिंसासम्बन्धी ज्ञान दिनु अति आवश्यक छ । विद्यालयमा शिक्षकशिक्षिकाले पनि कक्षामा पढाउन आउँदा थोरै समय हिंसा र यसबाट कसरी सुरक्षित रहने भन्ने र आफ्ना परिवार, शिक्षकशिक्षिका र प्रहरीलाई खबर गर्ने विषयमा चेतना दिनुपर्छ ।” जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख, प्रहरी उपरीक्षक कृष्ण पल्ली मगरले गलत नियतका तथा हिंसासम्बन्धी काम कसैले गरेको या गर्न खोजे भने प्रहरीलाई पैसा नलाग्ने फोन नं १०० मा फोन गर्न आग्रह गर्नुभयो । अभियानमा बाल यौन हिंसा तथा ट्राफिक ज्ञानसम्बन्धी बिभिन्न चेतनामूलक सामग्री र जानकारी प्रस्तुत गरिएको जिल्ला ट्राफिक कार्यालय नुवाकोटले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *