नेपालकै पहिलो पहल – ख्वप आदर निकेतन
- कार्तिक २०, २०८३
–गौरब प्रधान
सोमबारदेखि सुरु भएको बजेट अधिवेशनको बैठकमा सत्तारुढ दलका एक नेताले अधिकारको लागि राजनीतिक आन्दोलन गर्नुनपर्ने बताए । उनको अभिमतअनुसार जनताले सबै अधिकार पाएका छन् । यस भनाइले अहिलेको राजनीतिक बन्दोबस्त नै अत्युत्तम बन्दोबस्त हो, त्योबाहेक अर्काे कुनै बन्दोबस्त खोज्नुपर्दैन । सङ्घीय गणतन्त्रात्मक यो व्यवस्था पुँजीवादी व्यवस्था हो । कम्युनिस्टहरू पुँजीवादी व्यवस्थालाई स्वीकार्दैनन् । कम्युनिस्टहरूको अन्तिम उद्देश्य पुँजीवाद होइन, समाजवाद हुँदै साम्यवादी व्यवस्था स्थापना गर्नु हो । तर, नेकपा सरकारको नेतृत्व गरिरहेका दलका नेताहरूले हाल प्राप्त पुँजीवादी व्यवस्था नै दलको अन्तिम व्यवस्था ठानेर समाजवादी व्यवस्था स्थापना गर्ने कामलाई तिलाञ्जली दिनु के कम्युनिस्टको सरकारलाई सुहाउँछ ?
बैठकमा सत्तासीन दलका नेताले जनता निरास होइन खुसी भएको बताए । भूकम्प गएको चार वर्ष बितिसक्दा पनि आधाभन्दा बढी भूकम्पपीडित जनताले अहिलेसम्म सरकारी अनुदान पाएनन् । के सरकारी अनुदान नपाएका लाखौँ जनता खुसी छन् ? हालै तराईमा अचानक आएको हुरीले झण्डै तीन दर्जन नागरिकको मृत्यु भयो, सयौँ घाइते भए र सयौँ घरको क्षति भयो । के शोक, भोग र रोगको कारण हुरीबतास पीडित जनता खुसी छन् । अहिले हुम्लाको ताँजीकोटमा रुघाखोकी या अन्य त्यस्तै मौसमी रोगको कारण १० जनाको निधन भयो, सयौँ बिरामी परेका छन् । समयमा स्वास्थ्य उपचार र औषधि नपाएका बिरामी र शोकाकुल परिवारका सदस्यहरू के खुसी छन् ? सीमा अतिक्रमण रोकेको छैन । सीमा अतिक्रमणसँगै कति नेपाली उठिवास भएका छन् । अन्तर्राष्ट्रिय मूल्य र मान्यताविपरीत भारतीय पक्षले एकातर्फी रुपमा बाँध तथा तटबन्ध बनाउँदा वर्षायाममा तराई भूमि डुबानमा परेर खेतीपाती नष्ट भएको छ, आ–आफ्नो बस्ती छोडेर अन्यत्र सरेका छन् । के बाढी र डुबानपीडित जनता पनि खुसी छन् ?
सरकारले काम गर्न नसकेमा, जनतालाई राहतको अनुभूति दिन नसकेमा त्यसको दोष अरुमाथि थोपर्ने सत्तारुढ नेताको भनाइ सही होइन । काम गर्न नसकेर सरकार असफल हुनुको दोष सबै दलमाथि थोपर्ने सरकारी नेताहरूको दृष्टिकोण कसरी सही हुन्छ ? प्रतिपक्षलाई सम्मान गर्नु राज्यको दायित्व भन्ने, सबै मिलेर देश विकास गर्नुको विकल्प छैन भन्ने तर अन्य दलको सल्लाह र सुझाव कुनैको सम्बोधन नगर्ने सरकारले प्रतिपक्ष र अन्य दललाई कसरी सम्मान गरेको भन्न सुहाउँछ ? सकारात्मक परिणाम खोज्ने हो भने देश र बहुमत जनताको पक्षमा सरकारले काम गर्नुपर्छ, काम गर्न अघि बढ्नुपर्छ ।
Leave a Reply