जनतालाई उत्पादन बढाउन उत्साहित गरेमा देशको अर्थतन्त्र चलायमान हुने
- श्रावण १, २०८३
–गोपाल नगरकोटी
प्रधानमन्त्री केपी ओलीले देशमा कुनै रोग, भोक र शोकले कसैको ज्यान नजाने आश्वासन बाँडेका थिए । सत्तासीन दलका नेता र मन्त्रीहरूको यस्तै आश्वासनको पोको खोलेर हेरे नेपाल संसारकै अगाडि बढेको देशमा पर्छ । तर, भनाइ र गराइमा आकाश र पातालको फरक छ । भोक, रोग र शोकले नमर्ने भनिएको यो देशमा हुम्लाको ताँजाकोट गाउँपालिकामा अज्ञात रोगको कारण १० को मृत्यु भयो । सयौँ जना बिरामी भए । रोगले थला परेको तीन सातापछि त्यहाँ चिकित्सकको टोली पुग्यो । गाउँ नै सङ्क्रमणको चपेटामा परेपछि मात्र सरकार बिउँझ्यो र औषधि लिएर स्वास्थ्य उपचार टोली आइतबार त्यहाँ पुग्यो । छाती दुख्ने, ज्वरो आउने, श्वास फेर्न गा¥हो हुने, टाउको दुख्ने लक्षणका बिरामीहरूको समयमै स्वास्थ्य परीक्षण नभएपछि र रोग पत्ता लागेर औषधि उपचार नभएको कारण दुई तीन साताको अवधिमा १० बिरामीको ज्यान गयो ।
हुम्लाको ताँजाकोटमा लागेको रोगको खबर राजधानी पुग्न झण्डै तीन साता लाग्यो । रोगको उपचार गर्न विदेश पुग्ने सत्तासीन दलका नेता र मन्त्रीहरूको ध्यान सर्वसाधारण जनता बिरामी परेर मरे पनि गएन । भनिन्छ, ताँजाकोटमा मौसमी रुघाखोकी लागेर सर्वसाधारणको मृत्यु भयो । यसरी नै पहिले पनि गर्मीयाम सुरु भएसँगै झाडापखालाको कारण दर्जनौँ बिरामीको मृत्यु भएको थियो । कुनै रोग र भोकले अब नेपालमा कुनै नागरिकले ज्यान छोड्नुपर्ने छैन भन्ने प्रमको भनाइ हुम्लाको ताँजाकोट गाउँपालिकाले गलत भएको देखायो । कुन रोगले सर्वसाधारण प्रताडित भएका हुन्, अनुसन्धान भइरहेको छ । सिकिस्त बिरामीहरूको सङ्ख्या बढिरहेको हुँदा ज्यान जानेको सङ्ख्या बढ्नसक्ने स्थानीय जनताको चिन्ता छ । सामान्य रोगको परीक्षण र औषधि उपचार गर्न नपाएरै सर्वसाधारणको ज्यान गएकोमा दोषी को ? केन्द्र सरकार कि प्रदेश सरकार !
रोग फैलेको तीन सातापछि पनि स्वास्थ्य परीक्षण गरेर औषधि उपचार गर्न नसक्नु के केन्द्र र प्रदेश सरकारको विडम्बना होइन ? प्रदेश सरकारको व्यवस्था भएपछि जनताले समयमै राहत नपाउनु के आशामा तुषारापात भएन ? सेवा, सुविधा र राहतको नारा भट्याउने सरकारलाई सामान्य रोगको उपचार सुरु गर्न किन तीन साता लाग्यो ? दिनको तीन जिल्लामा हेलिकोप्टर चढेर आफ्नो कार्यक्रममा सरिक हुने नेता र मन्त्रीहरू रोग फैलेर सयौँ जना बिरामी थला परे पनि किन गाउँमा पुग्न सकेनन् ? के यो सर्वसाधारण गरिब जनताप्रति गरिएको बेवास्ता होइन ? जनताको स्वास्थ्य सेवा र उपचारमा ध्यान नदिने सरकारका नेता र मन्त्रीहरू कसरी जनताका पूज्य हुन्छन् ?
Leave a Reply