भर्खरै :

प्रविधिले च्यापिएका मजदुरको कहर

सरोज साह
रौतहट जिल्ला वसन्तपुर नयाँ बस्ती निवासी ५५ वर्षीय बसकित सहनी करिब २५ वर्षदेखि वीरगञ्जमा ठेला रिक्सा चलाएर आफ्नो दैनिकी चलाइरहेका छन् । आजभन्दा ३० वर्ष पहिला उनको घर बागमती नदीको छेउमा ग¥हो भगवानपुर भन्ने ठाउँमा थियो । नदी कटानको कारण केही वर्ष नजिकैको मामा घर उनले (लोकाहा गाविस) मा बसोबास गरे । वि.सं. २०५१÷५२ सालतिर नेपाल सरकारले नदी कटानमा परी घरबारविहीन भएकाहरूको लागि वसन्तपुरस्थित जङ्गल फँडानी गरी घर बनाई बसोबासको व्यवस्थापन ग¥यो । त्यस बस्तीलाई नयाँ बस्ती भनी नामकरण गरियो । घरमात्र भएर पुगेन खान लाउनलाई समस्या थियो । त्यस बस्तीका मान्छेहरू दैनिक समस्याहरू समाधान गर्न सहर र गाउँतिर विभिन्न कामको सिलसिलामा बाहिर जान थाले । त्यही समयमा बसकित सहनीले पनि वीरगञ्जमा आएर रिक्सा चलाउन थाले । रिक्सा चलाउँदा घरको दैनिक आवश्यकता टार्न सहज हुनथाल्यो । उनी भन्छन्, “१५÷२० वर्ष रिक्सा चलाउँदा पनि आफूले एउटा रिक्सा बनाउन सकिएको छैन बरु मैले तिरेको रिक्सा भाडाबापत रिक्सा साहुले दर्जनौँ रिक्सा जोडिसकेको होला । वर्षांै रिक्सा चलाउँदा पनि एउटा रिक्सा आफ्नो बनाउन नसक्नुले मेरो आर्थिक अवस्था कस्तो छ ? भने जो कोहीले सहजै अनुमान गर्नसक्छन् । मेरोजस्तो समस्या प्रायः रिक्सा चलाउनेहरूले सामना गरिरहेका छन् ।”
प्रविधिको विकाससँगै अटो रिक्सा, ई–रिक्साको विकाससँगै खुट्टाले चलाउने रिक्सामा व्यापक कमी भयो । मजस्तो आर्थिक अवस्था कमजोर भएकाहरूले नै अहिले रिक्सा चलाएर आफ्नो गुजारा चलाइरहेका छन् । उनी भन्छन्, “अटो रिक्सा, ई रिक्साको भाडा सा¥है महँगो छ र नियमित घर जानुपर्ने भएकोले अटो रिक्सा, ई रिक्सा भाडामा लिएर चलाउन सकिनँ । दिनभरि रिक्सा चलाउँदा राती जिउ गलेको हुन्छ । वैशाख, जेठ महिनाको गर्मी र पुस, माघ महिनाको शीत लहरमा पनि आफ्नो पेशालाई निरन्तरता दिइराख्नुपर्छ नत्रभने हात मुख जोड्न समस्या हुन्छ ।” उनी थप भन्छन्, “वैशाख, जेठ महिनामा रिक्सा चलाउँदा दिनभरि जिउ पसिनाले भिजेको हुन्छ भने पुस–माघ महिनाको शीतलहरमा रिक्सा चलाउँदा पूरा जिउ तातेको हुन्छ । सर्वसाधारण मान्छे घर बाहिर निस्कन अप्ठ्यारो मान्छन् तर हामीले सामान्य कपडाको भरमा प्रतिकूल समयमा आफ्नो पेशालाई निरन्तरता दिइराखेका हुन्छौँ ।
करिब ५–७ वर्षदेखि उनले रिक्सा ठेला चलाइरहेका छन् । रिक्सा ठेला पनि उनले भाडामा नै लिएर चलाउने गरेका छन् । रिक्सा ठेलाभरि खाद्यान्न सामग्री, निर्माण सामग्रीलगायतका सामानहरू बोकेर उनी गन्तव्यसम्म पु¥याउँछन् । रिक्सामा बढी सामान बोकेको बेला उनी नाङ्गै खुट्टाले चलाउँछन् । त्यस्तो गर्नुको मुख्य कारण खुट्टा नचिप्लियोस् भन्ने हो । जुत्ताले कहाँनिर पोल्छ भन्ने कुरा जुत्ता लगाउनेलाई मात्र थाहा हुन्छ । वैशाख, जेठ महिनाको गर्मीमा पीच बाटो तातेको हुन्छ र ग्राभेलको बाटोमा स–साना ढुङ्गाहरू हुन्छन् ।
रिक्सा, ठेला चलाउनेहरूलाई प्रायःमालिकहरूले हेप्ने गर्दछन् । उमेरमा आफूभन्दा कान्छो भए तापनि गाली गरेर, हेपेर र कहिलेकाहीँ धम्काएर काम गराउँछन्, उनी भन्छन् । आफू पढे लेखेको छैन, कुरा पनि त्यति गर्न जाँदैन । यो कामबाहेक अर्को काम गर्न झन् गा¥हो हुन्छ । परिवार पाल्नको लागि भए अपमान, गाली सहेर पनि काम गर्न बाध्य छ । अप्ठ्यारो परेको बेला प्रहरीलाई भनेपछि सहयोगको सट्टा अपमान पाउँछौँ ।
दुई छोरा र दुई छोरीका बुबा बसकित सहनीले नौ जनाको परिवार पालिरहेका छन् । ठेलाको कमाइले सामान्य खानलाउनलाई मात्र पुग्दछ । घरमा केही उत्सव र कोही बिरामी प¥यो भने साहुहरूसँग सयकडा ३६ प्रतिशत व्याज तिरेर ऋण लिनुपर्छ । आर्थिक अवस्था कमजोर भएको कारण छोरा छोरीहरूलाई पढाउन सकिनँ । पैतृक सम्पत्तिको नाममा उनीसँग भएको अलिकति जग्गा पनि बागमती नदीको धारमा छ । त्यो जग्गा धितो राखेबापत कहीँ कतैबाट ऋण दिन पनि सङ्कोच मानिन्छ ।
सुकुमवासीहरूलाई सरकारले जग्गा दिन्छ भने विषयमा उनले भने, “नेताको दायाँ बायाँ हिँड्नेहरूले विभिन्न जालसाझी गरेर जग्गा आफ्नो नाममा रजिष्ट्रेशन गराए तर वास्तविक सुकुमवासीहरूले केही पनि पाएनन् । चुनावको समयमा पार्टीका नेताहरूले हामीलाई विभिन्न आश्वासन दिएका थिए । तर, चुनाव जितेपछि नाक मुख देखाउँदैनन् । उनी भन्छन्, “हामीजस्ता निमुखा जनताको निम्ति अहिलेको यो सङ्घीय लोकतान्त्रिक सरकार र विगतका सरकारहरूबीच कुनै भिन्नता देखिएन ।” उनले भने, “मजदुरहरूको श्रमलाई हेलाहोचोको आँखाले नहेरी श्रमलाई माया, इज्जत र सम्मान गर्ने बानीको विकास सबैमा होस् ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *