भर्खरै :

विश्वमा मे दिवस : कहीँ प्रतिरोध, कहीँ उत्सव

क्युवा
संसारभर विभिन्न देशमा बुधबार मे दिवस मनाइयो । समाजवादी देश क्युवामा अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा प्रदर्शनमा दसौं लाख क्युवाली जनता सहभागी थिए । विभिन्न पुस्ताका जनताको सहभागितामा राजधानी हवानाको मुख्य चोकमा भएको सो प्रदर्शनमा मजदुरहरूले संरा अमेरिकाले क्युवामाथि लगाएको नयाँ नाकाबन्दीको कडा विरोध गरेका थिए । साथै उनीहरूले साम्राज्यवादी हस्तक्षेपविरुद्ध भेनेजुयाली जनताले गरिरहेको सङ्घर्षप्रति ऐक्यबद्धता व्यक्त गरेका थिए । उनीहरूले क्युवाको आर्थिक तथा सामाजिक विकासको लागि लगातार काम गर्ने प्रतिबद्धता पनि जनाए ।
सभामा क्युवाली कम्युनिष्ट पार्टीका नेता राउल क्यास्ट्रो र राष्ट्रपति मिगुएल डायज कानल सहभागी थिए ।
क्रान्ति चोकमा भएको प्रदर्शनमा १०३ देशका क्युवाप्रतिका ऐक्यबद्धता कार्यकर्ता र १४० वटा विभिन्न सङ्गठनका प्रतिनिधि सहभागी थिए ।
दक्षिण कोरिया
श्रमिक दिवसको अवसर पारेर बुधबार दक्षिण कोरियाको राजधानी सिओलमा हजारौं कोरियाली मजदुरले सरकारविरुद्ध प्रदर्शन गरे ।
उनीहरूले श्रमिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय कानुन कार्यान्वयनमा ल्याउन सरकारसमक्ष माग गरेका छन् ।
आयोजकले दिएको जानकारीअनुसार सिओल प्लाजामा भएको प्रदर्शनमा २७ हजार मानिस सहभागी भए भने दक्षिण कोरियाभरि भएका सबै प्रदर्शनमा ५७ हजार मजदुर सहभागी बनेका थिए ।
कोरियाली मजदुरहरूको महासङ्घ कोरियाली टे«ड युनियन महासङ्घको आयोजनामा सो प्रदर्शन आयोजना गरिएको थियो ।
अर्जेन्टिना
श्रमिक दिवसको अवसरमा पारेर अर्जेन्टिनाका मजदुरहरूले बुधबार राष्ट्रपति मौरिसिओ म्याक्री सरकारविरुद्ध दुईदिने हडताल गरे ।
उनीहरूले राजधानी व्युनर्स आयर्सलगायत देशका अधिकांश प्रमुख सहर ठप्प बनाएका थिए ।
हजारौं मजदुरहरूले सरकारी कार्यालय, विद्यालय, बैङ्क, र विमानस्थलसमेत बन्द गरेका थिए । उनीहरूले म्याक्र्री सरकारको नवउदारवादी नीतिको विरोधमा सो आन्दोलनको छेडेका थिए ।
“के यो हडतालपछि मार्की सरकार बदलिन्छ ? के हडताल पछि सबै समस्या समाधान होला ? अहँ हुँदैन ।” शैक्षिक मजदुरहरूको सङ्गठनका नेता इडुआर्डो लोपेजले आन्दोलन जारी राख्नुपर्ने आवश्यकतामा जोड दिंदै भने ।
फ्रान्स
मे दिवसको अवसरमा फ्रान्समा मजदुरहरूले लामो समयदेखि चालु सरकारविरोधी पहेंलो भेस्ट आन्दोलनलाई निरन्तरता दिए । प्रदर्शनका क्रममा प्रदर्शनकारी र सुरक्षाकर्मीबीच भएको भीडन्तमा प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो । प्रदर्शनमा हजारौँ मजदुरहरू सहभागी थिए । प्रदर्शनमाथि नियन्त्रण गर्न सात हजार चार सत्न्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको थियो ।
मङ्गलबार सुरक्षाकर्मीले सार्वजनिक सूचना जारी गरी प्रदर्शनमा अराजकतावादीहरूको घूसपैठ हुनसक्ने भन्दै चेतावनी जारी गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *