अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
बुद्धिजीवीहरूको बीचमा बरोबर राजनैतिक संस्कृति र सदाचारको बारेमा चर्चा परिचर्चा भएको सुन्छौँ र पढ्छौँ । यसबारे कतिले बुझेर कुरा गरेका होलान् र कतिले नबुझेरै भए पनि आ–आफ्ना टिप्पणी प्रकट गरेका होलान् ।
हालै बालुवाटारस्थित प्रधानमन्त्री निवास अर्थात् ललिता निवास भू–अपराधीहरूद्वारा हडपिएको ११३ रोपनीमा साढे ४ सय कित्ताको पहिचान गरी ती सबै जग्गा रोक्का राखिएको तथा ‘खुलामञ्च कब्जा’ गरी रातारात सटर बनाएर भाडामा दिई पसल सञ्चालन गर्दा तथा सटरहरू बनाउने क्रम जारी रहँदा पनि महानगर चुपचाप देख्दा काठमाडौँमा ठूलो हल्ला भएपछि भनिन्छ – प्रधानमन्त्रीकै निर्देशनमा डोजर चलाइयो ।
यी दुई घटनाले सन्त र महन्त पुराना प्रधानमन्त्रीहरू समेतका विषयमा अनेक टिका टिप्पणी भए । यसै सिलसिलामा नेपालका राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री र नेताहरूका आचरण तथा सरकार निर्माणको बेला भएका सुरा–सुन्दरी, विदेश भ्रमण र अपहरणका विषय पनि सुनिए र लेखहरू पनि हेरियो ।
प्रदेश नं. २ का एकजना मन्त्रीले आफ्ना दाजुलाई करोडौँको निर्माण गर्ने जिम्मा दिए, अर्का मन्त्रीले ठूलो रकम खर्चेर १४ वर्षकी एक बालिकाको बालविवाह गराइदिई देशको ऐन–कानुन मिचे अर्थात् अपराध गरे ।
यस्ताहरूबारे छलफल हुँदा ती मन्त्रीहरूको पारिवारिक पृष्ठभूमि हेर्नु आवश्यक छ । के तिनीहरू ठूला जमिनदार वा जग्गाधनीहरू हुन् ? तिनीहरू सामन्ती शोषणमा पालिएका होलान् र त्यही संस्कारकै कारण त्यस्ता अपराध भएको हुनसक्छ ।
त्यसो होइन, तिनीहरू साधारण परिवारका हुन् भने तिनीहरूको राजनैतिक पृष्ठभूमि हेर्नु आवश्यक छ । नेपाली काङ्ग्रेस, पञ्चायती, एमाले, मधेसवादी, एमाओवादी आदि राजनैतिक पृष्ठभूमिबाट आएका भए ती दलहरू र ती दलकै नेताहरूलाई जिम्मेवार ठह¥याउनु उचित हुन्छ ।
राजनैतिक नेता र कार्यकर्ताहरूको सदाचार र राजनैतिक संस्कारमा ती दलका नेताहरू नैतिकरूपले जिम्मेवार हुन्छन् । तर, जात–जाति, भाषा–भाषी र वर्गलाई समेत ध्यान दिनु आवश्यक हुन्छ । कामदार वर्गबाट आएका, गैर–खस संस्कृतिबाट आएका राजनैतिक नेता – कार्यकर्ता र खस संस्कृतिका नेताहरूमा मौलिक भिन्नता देखापर्नु स्वाभाविक हो । माथिल्ला वर्ग र खस संस्कृतिका नेता र मन्त्रीहरूले देश, जनता र ऐन कानुनलाई मिच्ने हिसाबले नै अपराधहरू गरेका हुन्छन् भने तल्लो वर्ग, जनजाति र तराईका नेता र कार्यकर्ताहरूले ‘पहाडी’ ले गरेको हुँदा आफूले पनि त्यसो गरेको वा राजनैतिक संस्कार र सदाचारबारे ज्ञान नभएको अज्ञानताको कारण विभिन्न अपराधहरू गरेको देखापर्छ । यसबारे अनेक अपवाद र थप छलफलको आवश्यकता पनि होला । विदेशी उक्साइ पनि विश्लेषणको नयाँ विषय छोड्नै नहुने प्रभाव हो ।
केहीले २–४ सय वर्ष पुराना सामन्तवादविरोधी राजनैतिक आन्दोलन भएका देशहरूका नेताहरूसँग तुलना गर्छन् । केहीले प्रधानमन्त्रीसमेत साइकल चढ्ने स्केन्डिभियाली देशको सदाचारसँग नेपाली नेता र प्रधानमन्त्रीहरूको तुलना गर्छन् । तर, ती विश्लेषकहरू राष्ट्रपतिको दरबारमा नबसी सानो घरमा बस्ने हो चि मिन्हलाई किन बिर्सन्छन् ? माओ त्से तुङ्ग पछिल्ला दिनहरूमा एक तल्ले पुरानै घरहरूमा बस्थे – केही सहयोगीहरूसँग । जीवनको आधाभन्दा बढी समय देशको आँधी बेहरीमा होमेर ती नेताहरूले आ–आफ्ना देशलाई मुक्त र गौरवशाली बनाए । यसकारण पश्चिम र पूर्वको तुलनात्मक अध्ययन आवश्यक छ ।
Leave a Reply