भर्खरै :

ल्याटिन अमेरिकामा चीन

चीनले सन् २०१८ को जनवरीमा ल्याटिन अमेरिकालाई पहिलोपटक बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) मा सहभागी बन्न आमन्त्रण ग¥यो । चिलीको सान्टियागोमा आयोजित ल्याटिन अमेरिका तथा क्यारिबियाली देशहरूको सङ्गठन सिलाकको बैठकमा चीनले ल्याटिन अमेरिकी देशहरूलाई यस्तो निमन्त्रणा गरेको थियो । त्यसयता ल्याटिन अमेरिकाका १६ देशले व्यापार सम्बन्धमा आधारित यो परियोजनामा सहभागी बन्न देखाएको मनसायअनुसार दुई पक्षीय सम्झौताहरू पनि भइसकेका छन् । सिलाकको त्यही बैठकमा चीन र भेनेजुयलाका सरकारी प्रतिनिधिहरूले आपसी सम्बन्ध थप बलियो बनाउने सम्झौता गरेका थिए ।
भेनेजुयलासँगै बहुध्रुवीय विश्व बनाउने बेइजिङको रणनीतिक प्रस्तावमा पानामा, ब्राजिल, मेक्सिको, बोलिभिया, एन्टिग्वा र बर्बुडा, कोस्टारिका, चिली र गुएनालगायतका ल्याटिन अमेरिकी देशले सहमति जनाइसकेका छन् । ती देशहरूले चीनसँग व्यापार सम्झौता गरिसकेका छन् ।
सन् २०१३ मा चीनका राष्ट्रपति सी चिनफिङले सार्वजनिकरूपमा बीआरआईको घोषणा गरे । त्यसयता यो विश्वस्तरीय बेल्ट एन्ड रोड परियोजनाअन्तर्गत एसियाकै विशाल देश चीन र संसारभरका झण्डै ६५ देशहरूबीच पूर्वाधार, व्यापार र लगानीको क्षेत्रमा सम्बन्ध विस्तार भइसकेको छ । यो परियोजनाअन्तर्गत संसारको कूल जनसङ्ख्यामध्ये ६२ प्रतिशत सामेल छन् । संसारभर हालसम्म पत्ता लागेका ऊर्जा भण्डारमध्ये ७५ प्रतिशत यो परियोजनामा सहभागी देशहरूको नियन्त्रणमा छन् ।
बेल्ट एन्ड रोड परियोजनाको सन्दर्भमा ल्याटिन अमेरिका बाटोमा पर्ने बृहत् अन्तरसामुद्रिक यातायात मार्ग हो किनभने ल्याटिन अमेरिका र चीनलाई प्रशान्त महासागरले जोडेको छ । दुई आर्थिक क्षेत्रलाई जोड्ने प्राकृतिक सेतू बनेको छ–प्रशान्त महासागर । सन् २०१८ को सुरुमा सिलाक देशहरूको बैठकमा चीनले प्राकृतिक सम्बन्धको सेतूको रूपमा रहेको प्रशान्त महासागरको चर्चा गरेको थियो । बैठकमा चीनले अन्तर्राष्ट्रिय सहकार्य योजनाको लागि ल्याटिन अमेरिकाको महत्वमाथि जोड दिएको थियो ।
तर, ल्याटिन अमेरिकामा बेल्ट एन्ड रोड परियोजना (बीआरआई) को आधार निर्माण शून्यबाट भएको थिएन । मध्य अमेरिका, दक्षिण अमेरिका र क्यारिबियाली क्षेत्रका विभिन्न देशहरूबीचको द्विपक्षीय परियोजना सन् २००५ देखि नै सुरु भएको थियो । सन् २००५ मा ल्याटिन अमेरिका र क्यारिबियाली क्षेत्रले ४ अर्ब ७० करोड अमेरिकी डलर बराबरको चिनियाँ लगानी भित्याएको थियो । सन् २०१८ सम्म आइपुग्दा चिनियाँ लगानी ४२५ प्रतिशतले वृद्धि भई २० अर्ब अमेरिकी डलर पुगेको थियो ।
बितेका आठ वर्षमा ल्याटिन अमेरिका र चीनबीच व्यापारिक कारोबार २२ गुणाले बढ्यो । सन् २०१७ सम्ममा दुई पक्षबीचको कारोबार २ खर्ब ८० अर्ब अमेरिकी डलर पुगेको थियो । ल्याटिन अमेरिका तथा क्यारिबियाली आर्थिक आयोगका सचिव एलिसिया बार्सेनाले दिएको तथ्याङ्कअनुसार एसिया ल्याटिन अमेरिका र क्यारिबियाली क्षेत्रको दोस्रो सबभन्दा महत्वपूर्ण व्यापार साझेदार हो । दक्षिण अमेरिकाको सन्दर्भमा त एसियासँगको व्यापारले संरा अमेरिकालाई समेत उछिनेको छ ।
उदयीमान चिनियाँ नेतृत्वअन्तर्गत विश्वभरका राष्ट्रिय अर्थतन्त्रहरूबीचको अन्तरसम्बन्धको लक्ष्य बीआरआईमार्फत दशकौँ पुरानो व्यापार सम्बन्धलाई औपचारिकता दिनुका साथै नवीकरण गर्नु बनेको छ ।
रेशम मार्ग परियोजना र ल्याटिन अमेरिकामा योजना
सन् १९९० को दशकसम्म चीन र ल्याटिन अमेरिकाबीचको जटिल सम्बन्ध मूलतः यातायात पूर्वाधार विकासको लागि आवश्यक पर्ने खनिज र अन्य प्राकृतिक स्रोतमा लगानीमा सीमित थियो । आज त्यो सम्बन्ध नयाँ युगमा प्रवेश गरेको छ । आज ल्याटिन अमेरिका र चीनबीचको सम्बन्ध राजमार्ग, समुद्री बन्दरगाह र रेलमार्ग निर्माणलगायतका दीर्घकालीन प्रभाव पार्ने यातायातका पूर्वाधार निर्माणको लक्ष्यसहित विस्तार भइरहेको छ ।
संरा अमेरिकाको राजनीतिक अध्ययन संस्था ‘द डायलग’ ले तयार गरेको चीन– ल्याटिन अमेरिका वित्तीय तथ्याङ्कअनुसार ल्याटिन अमेरिकामा चीनको १५० वटा यातायातसम्बन्धी परियोजना सञ्चालनमा छन् । ल्याटिन अमेरिकामा चालु यातायातसम्बन्धी जम्माजम्मी परियोजनाको यो सङ्ख्या आधा हुनआउँछ ।
पछिल्ला वर्षहरूमा ल्याटिन अमेरिका र चीनबीचको सम्बन्धले विविध क्षेत्र समेटेको छ । ऊर्जा क्षेत्र यसको एउटा उदाहरण हो । विद्युत् उत्पादन र प्रसारणको लागि मात्र ल्याटिन अमेरिकामा चीनले ९६ अर्ब ९० करोड अमेरिकी डलर लगानी गरेको छ ।
परियोजनाको सङ्ख्याको आधारमा सबभन्दा बढी चिनियाँ लगानी बोलिभिया, ब्राजिल र जमाइकामा छ । ती देशहरूमा पनि विशेषतः भौतिक सूचना प्रविधि क्षेत्रमा चिनियाँ लगानी भएको छ । बोलिभियामा रेलमार्ग र पुल निर्माणसँग जोडिएका २० भन्दा बढी परियोजना कार्यान्वयनमा छन् । ब्राजिलमा कूल २८ अर्ब अमेरिकी डलर बराबरको लगानी छ । यातायात पूर्वाधारसम्बन्धी ब्राजिल र चीनबीच १३ वटा सम्झौताहरू भएका छन् । जमाइकाको सन्दर्भमा पनि यातायात पूर्वाधारसम्बन्धी सम्झौताहरू भएका छन् ।
चीनले प्रशान्त, क्यारिबियाली र एटलान्टिक समुद्रमा बन्दरगाह निर्माणलाई विशेष प्राथमिकतामा राखेको छ । वास्तवमा चीन यस्ता पूर्वाधार निर्माण ठेक्का प्राप्त गर्न र निर्माण गर्न सफल हुँदै गएको छ । समुद्री बन्दरगाह बनाउने २० वटा परियोजना त उसले सफलतापूर्वक सम्पन्न गरिसकेको छ भने मेक्सिको, क्युवा, पानामा, भेनेजुयला, इक्वेडर, ब्राजिल र चिलीमा अरू केही निर्माण कार्य चालु छन् । कोलम्बिया, पेरु र उरुग्वेमा पनि बन्दरगाह निर्माणबारे छलफल भइरहेको छ ।
यी बन्दरगाहमध्ये पानामा नहर वरपरका व्यापार र पूर्वाधारसम्बन्धी १९ वटा सहकार्य सम्झौताले विशेष महत्व राख्छन् । सहरी क्षेत्रमा उच्च गतिवान रेलमार्ग बनाउने परियोजनाको आधिकारिक हिस्साको रूपमा यो सम्झौतामा हस्ताक्षर गर्ने पानामा पहिलो देश हो ।
सन् २०१७ को जुनमा पानामाले ताइवानसँग कूटनीतिक सम्बन्ध विच्छेद ग¥यो । उक्त निर्णयसँगै पानामा नहरमाथि चौथौ पुल बनाउने विशाल परियोजनाको लागि मार्गप्रशस्त भएको छ । पानामा नहर प्रशान्त महासागरमा प्रवेश गर्ने द्वार र एटलान्टिक महासागरको प्रवेशद्वार नजिकैको बन्दरगाह हो ।
चिलीको भौगोलिक अवस्थितिकै कारण त्यो देश प्रशान्त महासागर हुँदै ल्याटिन अमेरिका र क्यारिबियाली क्षेत्र प्रवेश गर्ने प्राकृतिक बाटो हो । समुद्री बन्दरगाहका साथै चीनले सूचना प्रविधिको क्षेत्रमा पनि लगानी गरिरहेको छ । प्रशान्त महासागरमा २४ हजार किलोमिटर लामो पानीमुनि फाइबर अप्टिकल केबल जडान गर्न चीनले लगानी गरेको छ । यसले ल्याटिन अमेरिका र एसियाबीचको सूचना आदानप्रदानमा सुधार ल्याउनेछ ।
संरा अमेरिकाको भूराजनीतिक प्रक्रिया
बीआरआईमा व्यापारिकरूपमा सामेल भएका ल्याटिन अमेरिका र क्यारिबियाली क्षेत्रका धेरै देशहरू संरा अमेरिकाका साझेदार वा त्यो क्षेत्रमा संरा अमेरिकाका बलिया सहयोगी हुन् । कुनै पनि देशको राष्ट्रिय राजनीतिक अवधारणामा आफ्नो कुरा नथोपर्ने वा परिमार्जनको लागि दबाब नदिने बरु ग्लोबल साउथको साझा विकास लक्ष्यलाई बलियो बनाउन खोज्ने चीनसँगको बढ्दो सहकार्य सो क्षेत्रमाथि वाशिङ्टनको प्रभुत्ववादी प्रभावलाई चुनौती बन्दैगएको छ ।
जर्मनीका राजनीतिक वैज्ञानिक उल्फ ग्राबेनड्रफले भनेका छन्, “संसारमै वैकल्पिक शक्तिको रूपमा आफूलाई उठाउने चीनको मनसायको ल्याटिन अमेरिकामा आलोचना भएको छैन । यसले संरा अमेरिकाको मनमा पसेको भूराजनीतिक त्रासलाई अझ बलियो बनाइदिएको छ ।”
संरा अमेरिकामा ट्रम्प सरकारको नेतृत्वमा उदारवादी प्रजातन्त्रमा आइरहेको महासङ्कटबीच चीनले संरा अमेरिकी प्रभुत्ववादलाई चुनौती दिइरहेको छ । संरा अमेरिकाले आक्रामकरूपमा संसारभरि आर्थिक युद्ध गरिरहेको छ । उसको यो कदमको प्रभावबाट ल्याटिन अमेरिकी देश अछुतो हुन सक्दैन ।
विश्वसँग समानतामा आधारित चीनको खुलापन संरा अमेरिकाको कथित संरक्षणवादभन्दा भिन्न छ । संरा अमेरिकी व्यापारिक संरक्षणवादको नीतिको लक्ष्य कुनै देशको राष्ट्रिय हितको संरक्षणमा भन्दा निजी व्यापारिक समूहको आर्थिक हितको सुरक्षामा बढी केन्द्रित छ ।
राष्ट्रिय सुरक्षाको नाममा भेनेजुयलाको राजनीतिक द्वन्द्वलाई अझ चर्काउने र सैनिक अभ्यासको लागि वरपरका देशहरूमा लगातार उच्चपदस्थ राजनीतिक अधिकारीहरूको भ्रमण गर्नुबाहेक संरा अमेरिकासँग चीनले ल्याटिन अमेरिका र क्यारिबियाली क्षेत्रमा अघि सारेको आर्थिक मुद्दासँग प्रतिस्पर्धा गर्नसक्ने कुनै परियोजना छैन ।
बितेका दुई वर्षमा संरा अमेरिकाले प्रवद्र्धन गरेका ‘कि मान नभए छोड’ को असहिष्णु नीतिले वरपरका देशसँगको व्यापार सम्बन्धमा गम्भीर प्रभाव पार्नेछ । संरा अमेरिकासँगको खुला व्यापार सम्झौताका सर्त पूरा गर्दागर्दै मेक्सिको शिथिल बनिसकेको छ । संरा अमेरिकासँग उसको व्यापार घाटा ६४ अर्ब अमेरिकी डलर पुगेको छ । कोलम्बिया, चिली, पेरु र मध्य अमेरिकासँग संरा अमेरिकाले गरेका सम्झौता उसको व्यापारिक निर्णयमा केन्द्रित छन् ।
तथ्याङ्कको आधारमा यसका परिणाम अझ हेर्न लायक छ । संरा अमेरिकी तथ्याङ्क विभागले सार्वजनिक गरेको विदेश व्यापार तथ्याङ्कअनुसार सन् २०१७ र २०१८ मा ल्याटिन अमेरिकी निर्यात ७.१३ प्रतिशत र आयात ६.५४ प्रतिशतले ओरालो लागेको छ ।
बरु सोही अवधिमा चीन र ल्याटिन अमेरिकाबीचको आयात ३० प्रतिशत र निर्यात २३ प्रतिशतले बढेको छ । ल्याटिन अमेरिकी देशहरू आफूलाई घाटा हुने कुनै पनि योजनामा संरा अमेरिकासँगको सम्झौताबाट भागिरहेका छन् । त्यसको सट्टा चीन र अन्य विभिन्न देशसँग परिपूरक आर्थिक नीतितर्फ अग्रसर बनेका छन् ।
के संरा अमेरिकाले मुनरो सिद्धान्ततर्फ आफ्ना पाइला अघि बढाइरहेको छ ?
मुनरो सिद्धान्तको चुनौती भेनेजुलया
चीन र ल्याटिन अमेरिकाबीचको नवोदित सम्बन्धअन्तर्गत ल्याटिन अमेरिकामा चिनियाँ परियोजनाहरूको सफलता त्यहाँको राजनीतिक स्थायित्व, शासन व्यवस्था र क्षेत्रीय एकतासँग जोडिएको छ ।
ह्युगो चाभेजको सरकारको पालामा चीन र ल्याटिन अमेरिकाबीचको सम्बन्धले व्यापकता पायो । बेल्ट एन्ड रोड परियोजनाले संसारको शक्ति पश्चिमबाट युरेसियाली ध्रुवमा स्थानान्तरण गर्छ । यो परियोजनाले अर्को बहुध्रुवीय शक्तिको रूपमा मित्र देशहरूबीच बलियो कूटनीतिक सम्बन्ध विस्तार गर्छ । चाभेज सरकारका सुरुदेखिको घोषित प्रतिबद्धता पनि बहुध्रुवीय शक्तिको निर्माण थियो ।
ल्याटिन अमेरिकी देशहरूका विविध राष्ट्रिय हितलाई अल्बा, पेट्रोक्राइब र सिलाकजस्ता बहुदेशीय दबुहरूले एकै ठाउँमा ल्याएका थिए । ती संस्थाहरूको आधार भेनेजुयलामा बनेको थियो । त्यसै कारण पछिल्ला वर्षहरूमा संरा अमेरिकाको ‘साझेदार’ देश कोलम्बियामार्फत ती साझा मञ्च र राजनीतिक अग्रसरताविरुद्ध हमला भइरहेको छ ।
भेनेजुयलाका राष्ट्रपति निकोलस माडुरोको सरकारलाई हमलाको प्रमुख निशाना बनाइयो किनभने भेनेजुयलाको माडुरो सरकार एक्काइसौँ शताब्दीमा मुनरो सिद्धान्तको प्रतिरोधक हो । भेनेजुयला सरकारले संरा अमेरिकी डलरको प्रभुत्ववाद तोड्दै अरू उदयीमान देशहरूबीच अन्तर्राष्ट्रिय व्यापार योजना बनाएको थियो । आफूसँग भएका ऊर्जा र खानी स्रोतलाई भेनेजुयला सरकारले डलर प्रभुत्ववाद तोड्न प्रयोग गरिरहेको छ ।
भेनेजुयलाको अर्थतन्त्रमाथि विभिन्न वित्तीय निकाय वा अनेक तरिकामार्फत भएका प्रत्येक हमलाको मूल लक्ष्य भेनेजुयलाले एसियासँग विस्तार गरेको व्यापार छिन्नभिन्न बनाउनु नै हो । विशेषतः चीनसँग उसको सम्बन्ध पेन्टागनको लागि ‘अस्तित्वमाथिको खतरा’ बनेको छ ।
तर, भेनेजुयला नै चीनको बेल्ट एन्ड रोड परियोजना संरा अमेरिकाले आफ्नो आँगन ठानेको ल्याटिन अमेरिका र क्यारिबियाली क्षेत्रमा पस्ने प्रवेशद्वार हो । ल्याटिन अमेरिकामा नवउदारवादी कार्यक्रमविरोधी नीतिको प्रवेशमार्ग भेनेजुयला नै हो । बहुध्रुवीय विश्वको अवधारणा उकास्न भेनेजुयलाले चालेका कदम र राजनीतिक व्यवस्था नै परिवर्तन गर्ने उसको प्रयत्न वाशिङ्टनको लागि ठूलो चुनौती बनिरहेको छ ।
स्रोतः मन्थ्ली रिभ्यु
नेपाली अनुवादः नीरज

Leave a Reply

Your email address will not be published. Required fields are marked *