भर्खरै :

बु्रमरले सडक सफा भएन–स्थानीय बासिन्दा

काठमाडौँ, २३ वैशाख । काठमाडौँ महानगरपालिकाका नागरिकले बु्रमर प्रयोगमा आए पनि सडक सफा नभएको भन्दै गुनासो गरेका छन् । कालिमाटीका स्थानीय विष्णु कँडेलका अनुसार बु्रमर सञ्चालनमा आएको पनि एक महिना बित्नै लागिसक्यो धुलो कम हुनसकेको छैन । उक्त समस्या जस्ताकोतस्तै रहेको छ ।
यही अवस्था रहिरहने हो भने महङ्गो रकम खर्च गरेर बु्रमर खरिद गर्नुको कुनै अर्थ छैन कँडेलले भन्नुभयो । त्यसैगरी बागबजार, पुतलीसडक, भद्रकाली बालाजुलगायतका स्थानमा पनि धुलो कम नभएको स्थानीयवासीले गुनासो गरेका छन् । काठमाडौँ महानगरपालिकाको सडकमा विगत एक महिनादेखि बु्रमर सञ्चालन हुँदै आएको छ तर सडकको धुलो नियन्त्रणमा आउन सकेको छैन ।
काठमाडौँ उपत्यकामा प्रायः सधैँजस्तो पानी परेकाले बु्रमरले नियमित रुपमा सडक सफा गर्न नसक्दा जनअपेक्षा अनुसार धुलो कम हुन नसकेको काठमाडौँ महानगरपालिका वातावरण विभागले जनाएको छ ।
“एकातिर पानी परिरहेको छ भने अर्कातिर पानीका कारण हुने हिलो माटो यातायातका सधनसँग आउने हुँदा पनि समस्या भएको छ,” विभागका प्रमुख हरिकुमार श्रेष्ठले भन्नुभयो, “सञ्चालनमा रहेका पाँच बु्रमरबाट अहिलेसम्ममा दुई सय २० टन धुलो सङ्कलन गरिसकेको छ ।” सङ्कलित धुलो टेकुमा व्यवस्थापन गरिएको छ ।
महानगरको सडकमा बु्रमर सञ्चालन भएको यही वैशाख २८ गते एक महिना पुग्दैछ । गत फागुन २८ गते इटालीबाट ल्याइएका बु्रमर सञ्चालनका लागि कामपाले पाँच वटा रुट निर्धारण गरेको छ । सोही रुट अनुरुपम काम गरिरहेको भए पनि सबै दिनमा काम गर्ने वातावरण नहँुदा समस्या भएको बताइएको छ ।
प्रमुख श्रेष्ठका अनुसार अर्को प्रमुख समस्याको रुपमा सडकमा रहेका खाल्डाखुल्डीे छ । यसको समाधानका लागि सडक विभागलाई पनि आग्रह गरेको छ । नियमित पर्ने पानी र खाल्डाखुल्डीका कारण बु्रमर सञ्चालनमा समस्या देखिएको छ ।
रु. १० करोड ८० लाखमा ल्याइएको हो । पाँच ब्रुमरमध्ये चार वटा १६ टन क्षमता बराबरका तथा अर्को एउटा छ टन क्षमताको छ । ती ब्रुमर दैनिक १० किलोमिटरसम्मको धुलो सङ्कलन गर्नसक्ने क्षमताको रहेका छन् । यूरो मापदण्डका भनिएका उक्त ब्रुमरमा अगाडि, बीचमा र पछाडि भागको दायाँबायाँ गरी प्लास्टिकका चार ब्रससहित धुलो तान्न सक्ने शक्तिशाली पाइप जडान गरिएका छन् ।
खाल्डाखुल्डी र भूकम्पका कारण भत्किएका संरचना पुनःनिर्माणको कामले पनि समस्या भएको विभागले जनाएको छ । मुख्य सडक सुन्धारास्थित धरहरा, दरबार हाइस्कुल, रानीपोखरी, काठमाडौँ भ्यू टावर र बसपार्कमा विभिन्न स्थानबाट आएका सवारी साधनले ल्याएका हिलो माटोका कारण सफा गर्न समस्या भएको महानगरको वातावरण विभागले जनाएको छ ।
कानुनी रुपमा आठ मिटरभन्दा कम चौडाइका सडकमात्र महानगरकोे जिम्मेवारीमा पर्दछन् भने अरु सडक सडक विभागको मातहतमा रहेको छ  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *