भर्खरै :

मृत्यु भोकले मात्र हुने होइन

– गोपाल नगरकोटी
नेपाल अझै साक्षर मुलुक बनेको छैन । साक्षर मुलुक पनि नबनेको मुलुकलाई प्रधानमन्त्री केपी ओली विद्वानहरूको देश बनाउन आतुर छन् । तिनै प्रम ओली नेपालमा कुनै नेपाली भोकै बस्नुपर्दैन र भोकै मर्नुपर्दैन भन्छन् । पछिल्ला दिनमा उनी नेपाली आफै काम गर्छन्, आफै खान्छन् र आफै लाउँछन् भनी घोषणा गर्न पछि पर्दैनन् । भोकभोकै मर्नुपर्ने स्थितिको अन्त्य गर्न सरकारले काममामको व्यवस्था गरेर सुनिश्चित जीवन निर्वाह गरेको भए उक्त कुरामा विश्वास गर्न सकिन्छ । जीवनको जोहो गर्नु नै लाखौँ नेपाली युवा युवतीहरू विदेशिरहेका छन् । सरकारले आफ्नै देशमा रोजगारीको अवसर दिने कुनै काम गरिरहेको छैन । कुन नेपाली भोकै र नाङ्गै बस्न चाहन्छन् ? जेनतेन जीवन निर्वाह गराए पनि कुनै न कुनै काम गर्नुपर्ने नै हुन्छ ।
काठमाडौँको सिंहदरबार बसेर कोही नेपाली भोकै बस्नुपर्दैन, मर्नुपर्दैन भनी फुक्ने प्रम ओलीले देशका दुर्गम, विकट गाउँ र ठाउँमा कति नेपालीहरूले एक छाक खान र एक जोर लाउन सकेका छैनन् । भोग, रोग र शोकको कारण गाउँ–ठाउँका कति नागरिक मरिरहेका छन्, छट्पटिरहेका छन् भन्ने कुराको कुनै लेखाजोखा नै नगरी सिंहदरबारमा बसेर भोकै मर्नुपर्दैन भनी उद्घोष गर्नु कतिको मनासिब हो ? विचारणीय छ । प्रमको त्यो इच्छा पूरा गर्न सरकारले काम मामको व्यवस्था गर्नुपर्छ, काममामको व्यवस्था गर्न रोजगारी सिर्जना गर्नुपर्छ । कृषिप्रधान देशमा खेती प्रणालीलाई आधुनिकीकरण र वैज्ञानिकीकरण गर्नुपर्छ । स्वदेशमै बढी फल्ने, बढी उत्पादन हुने नयाँ नयाँ बीउ बिजन, आधुनिक औजार र मल कारखाना खोल्नुपर्छ ।
समाजमा अझै अन्धविश्वास र अन्धपरम्परा व्याप्त छ । अन्धविश्वास र अन्ध परम्पराको कारण पनि समाज पछि परेको हो । मानिसको मृत्यु भोक, रोगले मात्र होइन शोकले पनि भइरहेको छ, असुरक्षित भएर मृत्यु भइरहेको छ । औषधि उपचार समयमा गर्न नसकेर हुम्लामा एक दर्जनको मृत्यु भएको घटना सेलाएको छैन । कति बेपत्ता पारेर, कति बेचबिखन गरेर त कति रोगकै कारण मृत्यु भइरहेको छ । सरकारले गाउँ–ठाउँसम्म स्वास्थ्योपचार गर्न नसक्दा औषधि पु¥याउन नसक्दा, र महँगो औषधिका कारण उपचार गर्न नसकेर मृत्यु हुनेहरूको सङ्ख्या कति छ कति । सरकारले त्यस्तो कुनै अध्ययन, अनुसन्धान र खोजीनीति नगरिकनै नेपाली भोकै बस्नुपर्दैन, मर्नुपर्दैन भनेर प्रमले केटाकेटी कुरा गरेर आफ्नो इज्जत र प्रतिष्ठामा आँच पु¥याउने किन ? हिजो नेकपाका अध्यक्ष पुष्पकमल दाहाल यस्तै यस्तै कुरा फलाकेर हिँडेकाले हावादारी, अवसरवादी र छिनछिनमा बोली फेर्ने नेताको रुपमा परिचित भए । आज त्यस्तै कुरा फुकेर अध्यक्ष ओली हावादारी गफ गर्ने नेताको रुपमा परिचित हुन लागेको छ । यो देशको लागि दुर्भाग्य हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *