नेपालीहरू भारतविरोधी होइनन् – १
- कार्तिक ११, २०८३
मोतीलाल
विष्णु पौडेल निम्छरा छैन । दुईतिहाइवाला एमाले – माओवादी पार्टीका शक्तिशाली महासचिव पौडेल निम्छरा हुँदा पनि हुन्न । र, पनि ‘महासचिव विष्णु पौडेल ठगिए’ भन्दै सरकारका प्रवक्ता रोए । त्यसपछि कठैबरा विष्णु पौडेल भन्नेहरू ह्वार ह्वारती निस्के । विचरा विष्णु पौडेल भन्दै राहत क्षतिपूर्तिको लागि दान दिने दाताहरू निस्के । ‘एक रुपैयाँ हजुर’ भन्दै पौडेलको लागि भिख माग्न विद्यार्थी – तरुणहरूले परिश्रम गरे । यतिबेला काङ्ग्रेसीजनहरूलाई भ्याइ नभ्याइ छ । यही ऐनबखतमा काङ्ग्रेस पनि जिउँदै रहेको जनाउ दिइएको छ । यही मौकामा बत्ति बालेर खोज्नुपर्ने गरी सुतेका काङ्ग्रेसीहरू चलमलाएको देखिएको छ । यही सन्दर्भमा विष्णु पौडेलको संसदीय प्रतिद्वन्द्वी युवराज गिरीले हारेका काङ्ग्रेसी प्रदेशसभा सदस्यहरू र नगरप्रमुखहरूलाई पत्रिकामा छापिने मेसो पारी दिएका छन् । पौडेललाई विशाल हृदयका धनी भनी प्रणाम गर्ने प्रतिद्वन्द्वी गिरीले यही घडीमा उच्च सल्लाह दिए, ‘जनतासँग माफी माग्ने र सांसद पदबाट राजीनामा दिने ।’ गिरीको अर्ति मानेर पौडेलले फ्याट राजीनामा दिइहाल्यो भने त बुटवल अनाथ हुँदैन ? बुटवलको विकास कसले गरिदिने ? त्यसै त विष्णु पौडेलले बुटवललाई स्वर्ग बनाउन लागैकै कारण वालुवाटारमा सुनियोजितरूपमा फसायो भनी रुनेहरूको बुटवलमा कमी थियो र ? विष्णु पौडेलको लागि ज्यान दिन तयार छु भन्दै रुनेहरूको आँसुले तिनाऊ खोलामा पानीको सतह नै बढ्यो रे ।
सांसद – महासचिव पद वा आजको उच्च जीवनशैली विष्णु पौडेलले सानो दुःखले आज्र्याको होइन । चतु¥याईं र चलाखीपूर्ण समन्वकारी भूमिकामा पौडेलले कम्ता पसिना बगाएको छैन ।
मह काढ्नेले हात चाट्ने त नेपाली उखान नै छ । र, पनि पौडेललाई पसिना बगाएर भैंसीपाटीमा २० करोडको घरजग्गा जोडेको भन्न लाज लाग्छ अनि नेपाल पत्रिकाका माधव बस्नेतलाई ‘पहाडमा हामी राम्रै परिवारका थियौं’ भन्छन् । जनताको आँखा दुरबिनसरह हुन्छन् । पौडेलको पहाडको घर पहिरोले बगाएपछि उद्धार गरेर मुठी दान गरी तराई पठाउनेहरू पनि अहिले बुटवलमै सक्रिय जीवन बिताइरहेका छन् । उनीहरू नेपाल पत्रिकामा पौडेलको दाबी पढेपछि हिस्सा परेका छन् । राजनीतिक जीवन सुरु नगर्दै राजनीतिक कारण पहाडबाट विस्थापित भएँ भन्नु त अबोधहरूलाई ठग्ने जुक्तिमात्रै हो ।
पौडेलको आर्थिक र राजनीतिक हैसियत दीपनगरको पुच्छारमा एकतले घर बनाएर बस्नुले र त्यो घरभित्र चामल पकाउन बुटवलका साहुहरूको काममा जाँदा उनका श्रीमतीको हातमा ठेला उठ्नुले पुष्टि गर्छ । हिजो चप्पल लाउन नसक्नेले आज प्राडो कहाँबाट पायो भनी इष्र्या गर्नेहरूबाट बच्नु प¥यो भन्दैमा माम पस्किदिने श्रीमतीका पर्पर् फुटेका हात त बिर्सन भएन नि महासचिवज्यूले ।
बुटवल सहरमा दीपनगरको बस्ती कसरी स्थापना भयो ? त्यो ठाउँको नाम कसरी दीपनगर रहन गयो ? रमाइलो कथा छ । बुटवलका पुरानाहरू अझै पनि रस मानी मानी बताउँछन् । चुरेको फेदमा पूर्वपश्चिम राजमार्गभन्दा उत्तर र मुलबजार अनि सुख्खानगरको खेती आवादीभन्दा पूर्व अलग रहेको दीपनगर घाँसे मैदान थियो । २०४२ सालको एउटा खुल्ला सभामा दीपक बोहराले घोषणा गरेछ, ‘आजदेखि त्यहाँ जो मान्छे बस्छ । त्यो मेरो मान्छे हो । मैले अञ्चलाधीस, सिडिओ र पुलिसलाई पनि भनिसकेको छु । त्यहाँ कसैलाई अन्याय पर्छ भने सिधै मलाई भन्ने । कसैलाई अन्याय हुन दिन्न ।’ मण्डलेका नाइके दीपक बोहराको हाँकले बसेको बस्ती भएकोले त्यो ठाउँको नामनै दीपनगर हुन गयो । पञ्चायतकालमै मालेको राजनीतिमा लाग्ने कार्यकर्ताहरूले सो ठाउँमा निगाहबक्समा स–सानो जग्गा पाए र बुकुरो बनाएर बसे । एमालेको सुकुम्वासी आयोगले तिनीहरूलाई लालपुर्जा दिएर बैधानिक बनायो । एमालेको आयोगको पालामा अरु एमालेहरू पनि थपिए । त्यहाँ विष्णु पौडेलले पाएको जग्गा जङ्गलको किनारमा थियो । वालुवाटारको सरकारी जग्गा व्यक्तिले हडपेको
सम्बन्धमा अध्ययन गर्न ओली सरकारले समिति बनायो । काङ्ग्रेसी नेता सुवर्णशम्शेरसँग जोडिएको जग्गा भएकोले काङ्ग्रेसीहरूको छाला काढ्न पाइने कुत्कुतीले पनि ओली सरकार यो बालुवाटारको जग्गाको प्रतिवेदन कार्यान्यनमा ल्याउन हौसिएको होला । तर, प्रतिवेदनमा माथि माथि कर्मचारीको मात्र नाम देखिए पनि खोज्दै जाँदा निम्छरा विशेषण दिनै नमिल्ने धूर्त विष्णु पौडेलको आठ आना जग्गा पो फुत्त पदार्पण भयो । आफ्नै कोखाको विष्णु पौडेलको नामले जगजगी पाएपछि ओली सरकारलाई त्रिताल समितिको प्रतिवेदन तातो आलु बनेको छ । सरकारी जग्गा फिर्ता लिएर नै छोड्ने ओलीको बोली गोली जतिकै चोटिलो छ । तर, ओलीको बोलीले वायुमण्डल दुषित पार्ने वायुजस्तो मात्र भइरहेको वर्तमान परिप्रेक्षमा बालुवाटारको बयान केरकार सेलाएको छैन । माछा माछा भ्यागुतो खेलमा परेर हैरान जनता ओली आफ्ना नन्दी भ्रिङ्गि पौडेल जोगाउन मरिमेटेर लागेको बुझिरहेका छन् । पौडेलको जग्गा अधिग्रहण भइसकेको जग्गाभित्र पर्छ कि पर्दैन अध्ययन भइरहेको बताउन ओलीलाई कुनै लाज लागेन । भित्रकै जग्गा भए पनि धेरै मान्छेबीच किनबेच भएपछि मात्र पौडेलले किनेको दाबी गर्दै राजाको प्रतिगामी सरकारको पालामा बबुरो पौडेलले कसरी पदको दुरुपयोग गर्न सक्छ ? ओलीले वाण हानेका थिए । वाण ठाउँमै लाग्यो अनि नेपाल पत्रिकाको सहारा लिएर सेतोपाटीबाट जवाफ आयो – पौडेलले वालुवाटारको आठ आना जग्गा रकम हाली किनेको होइन, सिधै भूमाफियासँग जग्गाको सट्टा भर्नामात्र गरेको हो । र, जुन मितिमा पौडेलले आफ्नो छोराको नाममा जग्गा नामसारी गरी लिए, उनको पार्टी एमाले आधा प्रतिगमन सचिएको भन्दै सरकारको घुम्ने मेचमै बसिरहेको थियो । त्यतिबेलाका महासचिव माधव नेपालका दाहिने हात पौडेलको यो कारोबारमा हात छैन भन्ने ठाउँ नै देखिएन । जग्गा पास गरेको २० दिनपछि २०६१ माघ १९ मा राजाले एमालेलाई घोक्रेठ्याक लगायो । ओलीले वितण्डता मचाउन खोजे जस्तो पौडेल सडकमा भौंतारिरहेको बेलामा थिएन ।
‘विकासप्रेमी’ र ‘जनताको दुःख बुझ्ने’ विल्ला भिरेर भोट बैंकहरू पहिचन गरी लगानी गर्न सफल विष्णु पौडेलले बुटवलका कुन कुन व्यवसायीहरूलाई आर्थिक लगानी दिइरहेको छ ? कसलाई थाहा छैन ? बुटवलवासीहरू प्रश्नमात्र गर्छन् । ती पौडेलको कृपापूर्ण लगानी पाउने को को व्यवसायीहरू हुन् ? नेपाल पत्रिकाले त नामै किटेर छर्लङ पारिदिएको छ । आफ्नै कार्यकर्ताले सहुलियत मूल्यमा दिएको जग्गा पनि आर्थिक लाभको लागि बेच्ने पौडेल संसदीय क्षेत्रमा आउँदा मतदाताहरूले भेट्न पनि होटल होटल चहार्नुप¥यो । त्यसैले बुटवलका वरिष्ठ पत्रकार बालकृष्ण चापागाईले त उद्घोष नै गरे, ‘आर्थिक समस्या भएर नै आफ्ना माननीयले घर नबनाएको हो भने पौडेलको लागि दुई लाखको भए पनि घर आफै बनाइदिन्छु ।’ तर माथि माथि पुगिसकेको पौडेलले बुटवलमा घर लिने बस्ने कुनै चासो दिएन । वालुवाटार मै अड्डा जमाउने रहर रहेछ र, किन आफ्नै संसदीय क्षेत्रमा घर बनाउने दुःख गरोस् त नि महासचिवज्यूले ।
दलदलमा खुट्टा फसेपछि जतिसुकै उत्तम पौडीबाजहरू पनि उम्किन मुश्किल नै पर्छ । जति खुट्टा चलायो गड्दै जाने नै हो । वालुवाटार काण्डमा पनि अभियुक्तहरू जति बोल्यो, त्यति नै घटना उदाङ्गिदै जान्छ । सूवर्णशम्शेरका परिवारका तर्फबाट दिनदिनै लाखौँ लाख खर्च गरेर विज्ञापन दिए पनि सत्यतथ्य त बदल्न सकिँदैन । बरु खुल्लामञ्चमा ठेकेदारले सटरवालाहरूलाई पैसा फिर्ता दिनु परे जस्तै नामसारी गरी लिएका सबैलाई पैसा दिनुपर्ला भनी राणा परिवार तर्किनमात्र विज्ञप्ति निकालेको हो भने अर्कै कुरा हो । ती जग्गाका आधारमा बैङ्कको अरबौँ ऋण लगानी रहेको प्रचारवाजी गरेर पनि जनताको मन पगाल्ने कोशिस त भइरहेकै छ । तर, लाख हत्केलाले छेक्न खोजे पनि वालुवाटार काण्डमा विष्णु पौडेल पानीमाथिको ओभानो हुन सक्दैन ।
Leave a Reply