भर्खरै :

सूर्यमुखी फूलको व्यावसायिक खेती परीक्षण

पाल्पा, २६ वैशाख । पूर्वखोला पाल्पामा सूर्यमुखी फूल खेतीको परीक्षण सफल भएको छ । पहिलो पटक यहाँ लगाइएको सूर्यमुखी फूल सफल भएपछि अब यसको व्यावसायिक खेती गर्ने कृषकको तयारी छ ।
गाउँपालिकाले सूर्यमुखी फूल खेतीका लागि ३० किलो बीउ सहयोग गरेको थियो । परीक्षणका रूपमा लगाइएको सूर्यमुखी फूल पहिलो वर्षमा नै आठ सयदेखि एक हजार किलोसम्म उत्पादन लिन सकिने कृषक लक्ष्मण आचार्यले बताउनुभयो । कम लगानी र मिहिनेतमा सूर्यमुखी फूलको व्यावसायिक खेती गरेर राम्रो आम्दानी लिन सकिन्छ । यसभित्र अन्य बालीहरु लगाएर कृषकले आयस्रोत बढाउन सक्नेछन् । बजारमा माग बढ्दो रहेकाले पनि बिक्रीका लागि कृषकले समस्या भोग्नु पर्दैन ।
पहिलोपटक लगाइएको खेती राम्रो भएपछि अर्को वर्ष गाउँपालिकाभित्र विस्तार गर्ने कृषि प्राविधिक सन्तोष कँडेलले बताउनुभयो । पाल्पाको बगनासकाली गाउँपालिकाका कृषकले चार वर्षअघि देखि नै व्यावसायिक रुपमा सूर्यमुखी फूलको खेती गर्दै आइरहेका छन् । यस वर्षदेखि निस्दी गाउँपालिकामा पनि व्यावसायिक रुपमा यसको खेती सुरु भएको छ ।
सूर्यमुखी फूल खेतीभित्र पनि अन्य विभिन्न बाली लगाउन सकिने, कम लगानी, मिहिनेतमा यसको व्यावसायिक खेती गरेर यथेष्ट कमाउन सकिने कृषि प्राविधिकहरु बताउँछन् । उत्पादित बीऊबाट तेल उत्पादन गरी मनग्य आम्दानी लिन सकिन्छ भने डाँठलाई दाउराका लागि प्रयोग गर्न सकिन्छ । अन्य खेतीको तुलनामा धेरै परिश्रम र झन्झट गर्न नपर्ने, एक पटकमा तेब्बर बाली उत्पादन लिन सकिने हुँदा राम्रो आम्दानीको स्रोतका रूपमा लिइन्छ ।
सूर्यमुखी फूललाई बाह्रै महिना फुलाउन सकिन्छ । फूलका कारण मौरीलाई चरन हुने अर्कोतर्फ बीऊबाट तेल आउने भएकाले कृषकहरुको आकर्षण बढेको पाइएको छ । सौन्दर्यताका लागि केही बोट घरको आँगनको डिल, छेउछाउमा लगाउँदै आइए पनि यस खेतीबाट राम्रो आम्दानी लिने उद्देश्यले कृषकले अहिले व्यावसायिक रुपमा खेती गर्न थालेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *