भर्खरै :

संरा अमेरिकी जिद्दीले चीनसँगको व्यापार युद्ध चर्किने सम्भावना

पेइचिङ, १० मे । चीनको वाणिज्य मन्त्रालयले शुक्रबार एक वक्तव्य जारी गरी संरा अमेरिका पस्ने चिनियाँ सामानमाथि कर बढाउने डोनाल्ड ट्रम्प सरकारको निर्णयको ‘आवश्यक प्रतिकार’ गर्ने घोषणा गरेको छ ।
चीनले ट्रम्पको निर्णयविरुद्ध कस्तो कदम चाल्ने हो, वक्तव्यमा कुनै ठोस उल्लेख गरिएको छैन । तथापि चीन सरकारले दुई देशबीचको व्यापार सम्झौता फलदायी हुन नसकेकोमा दुःख व्यक्त गरेको छ ।
दुई देशबीच कुनै सम्झौताबिना नै कर बढाएसँगै चिनियाँ पक्षले यस्तो घोषणा गरेको हो । संरा अमेरिकी सरकारले चीनका ५ हजार ७ सय थरी उत्पादनमाथि १० देखि २५ प्रतिशतसम्म कर वृद्धि गरेको हो ।
दुई देशबीचको व्यापार सम्झौताको लागि संरा अमेरिका पुगेको चिनियाँ टोली त्यहीं हुँदै अमेरिकी सरकारले यस्तो निर्णय गरेको हो ।
“चीन–संरा अमेरिकाबीच एघारौं उच्चस्तरीय आर्थिक र व्यापार बैठक चालू छ । दुई देश कुनै एउटा बीचको समाधानमा पुग्नेमा चीन आशावादी छ । हामी विद्यमान समस्या सहकार्य र सल्लाहमार्फत समाधान गर्न प्रतिबद्ध छौँ ।”, मन्त्रालयको वक्तव्यमा भनिएको छ ।
एक साताको पूर्वसूचनामा संरा अमेरिकाले चीनमाथि कर बढाएको हो । संरा अमेरिकी राष्ट्रपति कार्यालयले चीनमाथि बौद्धिक सम्पत्ति चोरी र प्रविधि हस्तान्तरणको क्षेत्रमा गरेका वाचा पूरा नगरेको आरोप लगाएको छ । संरा अमेरिकी व्यापारहरूले आफ्नो सरकारलाई चिनियाँ सामानमाथि कर बढाउन एक महिना अघि नै दबाब दिएका थिए । आफ्ना घरेलु उत्पादनको बिक्री बढाउन उनीहरूले आफ्नो सरकारमाथि त्यस्तो दबाब दिएका थिए ।
चीन र संरा अमेरिकाबीचको तिक्ततालाई धेरै विज्ञ र नेताहरूले सम्भावित व्यापार युद्धको खतरा भनेका छन् । यसले संसारको अर्थतन्त्रमा नकारात्मक प्रभाव पार्ने उनीहरूको भनाइ छ ।
“संरा अमेरिकाले गएको अक्टोबरदेखि नै आफ्नो प्राविधिक क्षेत्रको लागत बढाएको हो । साना व्यापारीहरूका लागि त्यो जीवनमरणको प्रश्न बनेको छ । भर्खरै प्राविधिक उत्पादन क्षेत्रमा आएका उद्योगीहरूलाई बढेको लागत तिर्न धौ धौ परेको छ ।”, उपभोक्ता प्रविधि सङ्गठनका प्रमुख कार्यकारी गेरी शापिरोले भन्नुभयो ।
यसै साता चीनको सञ्चारमाध्यम ग्लोबल टाइम्सले चीन कुनै पनि परिणामको लागि तयारी भएको र खराबभन्दा खराब परिणामको सामना गर्न तयार रहेको लेखेको थियो ।
“चीन व्यापार द्वन्द्व चर्किन सक्ने अवस्थाको लागि तयार छ । कुनै पनि कर वृद्धिको प्रतिकार गर्न विभिन्न योजना तयार छन् । चिनियाँ व्यापारीका घाटा न्यून गर्न उपयुक्त नीतिहरू पनि तयारी अवस्थामा छन् ।”, ग्लोबल टाइम्सको सम्पादकीयमा लेखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *