भर्खरै :

समृद्ध बनाउन विचारधारात्मक क्रान्ति आवश्यक

–दानबहादुर कपाली
सुखी नेपाली र समृद्ध नेपाल बनाउन सरकारले देशमा विचारधारात्मक, सांस्कृतिक र प्राविधिक क्रान्ति गरिसक्नुपर्छ । यस्तो कुनै परिवर्तन नभइकन कुनै दलका नेता र सरकार प्रमुखले फुकेर त्यो सम्भव छैन । समाजलाई सुसज्जित पार्न अन्धविश्वासमा टेकेको समाजलाई बदलेर जनतालाई सुसूचित पार्नुपर्छ । देशमा काममामको व्यवस्था गर्न नसकेसम्म, आत्मनिर्भर बनाउन नसकेसम्म सुखी नेपाली र समृद्ध नेपालको कुरा गफबाहेक अर्काे हुनेछैन । राजनीतिकरूपले स्वाधीन, आर्थिकरूपले आत्मनिर्भर रहेको समाजवादी देश नबनेसम्म समृद्ध नेपाल बनाउने वर्तमान सरकारको धोको कल्पनाको धुनमा नाच्ने नाचबाहेक अर्काे हुनेछैन । विदेशी शक्ति राष्ट्रको तालमा नाच्ने, देशको आन्तरिक मामिलामा बाह्य देशले हस्तक्षेप गरे पनि, दबाब दिए पनि मौन बस्ने सरकार स्वाधीन बन्नेछैन, यस्तो सरकारले देश र जनताको प्रतिष्ठा बढ्ने काम गर्ने विश्वास गर्न सकिंदैन ।
शोषण र उत्पीडन रहेको देशमा कुनै परिवर्तन नगरी उन्नत समाजवादी देशको खाका कोर्ने नेता र मन्त्रीहरूलाई ‘हावादारी’ नेता भनिएकोमा के आश्चर्य ¤ प्रजातान्त्रिक जन–गणतन्त्र कोरियाली कम्युनिष्ट पार्टी र देशभक्त जनताले आफ्नो देशको सार्वभौम रक्षा गर्न साम्राज्यवादी देशको विरोध गर्न अलिकति पनि कञ्जुस्याइँ गरेनन् । जापानी साम्राज्यवादको औपनिवेशिक शासन फाल्न लामो समयसम्म सङ्घर्ष गरे । साम्राज्यवादी देशले कुनै पनि बेला गर्नसक्ने आक्रमण र देशको प्रतिरक्षा गर्न नै प्रजग कोरियाले आणविक परीक्षण गरेको हो । त्यही भएर संयुक्त राज्य अमेरिकामात्र होइन, जापान, दक्षिण कोरियालगायतका देशहरू झस्किए । यसरी प्रजग कोरिया एक सानो देश भएर पनि विश्वमा एक शक्तिशाली र प्रतिष्ठापूर्ण राष्ट्र बन्यो ।
यसका लागि प्रजग कोरियाको कम्युनिष्ट पार्टीले धेरै मेहनत ग¥यो, प्रत्येक नागरिकलाई कम्युनिष्ट सिद्धान्त र विचारबाट प्रशिक्षित बनाउन विद्यालय र कलेज खोल्यो । सेना, प्रहरी, व्यापारी, व्यवसायी, बुद्धिजीवी कम्युनिष्ट विचारबाट सुसूचित भए । सन १९७९ मै कक्षा ११ सम्म अनिवार्य शिक्षा लागू गरियो । ८६ लाख केटाकेटी र विद्यार्थीलाई राज्यको खर्चमा निःशुल्क शिक्षा अध्ययन गराइयो । अहिले त प्रजग कोरिया बुद्धिजीवीकरणको अभियानमा छ । नेपालमा त्यस्तो प्रगति खोइ ? साक्षर मुलुक बनाउन पनि फेरि दुई वर्ष कुर्नुपर्छ । मुक्तिभन्दा पहिले एउटा पनि उच्च शिक्षालय नभएको प्रजग कोरियामा झण्डै चार दशकअघि नै १५८ महाविद्यालय र विश्वविद्यालय खोलिएको थियो । नगर र गाउँगाउँमा शिशुशाला र बालोद्यान स्थापना गरिएको थियो । त्यही भएर प्रजग कोरियालाई ज्ञानको देश भनिन्छ । विश्वलाई चिनाउने गरी विकास गर्ने ध्वाङ फुकेको नेपाल सरकारको यस्तो कुनै दृष्टिकोण या दूरदर्शी नीति केही देखिएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *