भर्खरै :

युवा–विद्यार्थीको बोडेमा कोणसभा

भक्तपुर, २८ वैशाख । नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ र नेपाल क्रान्तिकारी युवा सङ्घ मध्यपुर नगर समितिको आयोजनामा वर्तमान राजनीतिक अवस्थाबारे शनिबार मध्यपुरको बोडेमा कोणसभा सम्पन्न भयो ।
सभामा नेक्रायुसङ्घ भक्तपुर जिल्ला सचिव एचएस सुवालले चीनसितको व्यापारमा ७ सय विलियन अमेरिकी डलर बराबरको फाइदा अमेरिकालाई भइरहेको तर अबको व्यापार युद्धले अमेरिकालाई नै बढी घाटा हुने बताउनुभयो । उहाँले संरा अमेरिकी साम्राज्यवादले संसारमा सबभन्दा बढी सुन खानी र पेट्रोल खानी भएको सार्वभौम देश भेनेजुयलामाथि गरेको हस्तक्षेपविरुद्ध राष्ट्रपति निकोलास माडुरो सरकार सङ्घर्षरत रहेको प्रस्ट पार्नुभयो । “अमेरिकी साम्राज्यवादले नेपालमा भागेर आइरहेका तिब्बती शरणार्थीहरूलाई पृथकतावादी दलाइ लामा भेटाइ दिने र चीन नफर्काउने र प्रजग कोरियामाथि अमेरिकी नाकाबन्दीलाई समर्थन गर्ने शर्तमा ५६ अरब आर्थिक सहायता उपलब्ध गराउने विषय नेपालको आन्तरिक मामिलामा वैदेशिक हस्तक्षेप गरेको छ ।”, उहाँले भन्नुभयो ।
नेक्रायुसङ्घ भक्तपुर जिल्ला समिति सदस्य राजु कैतीले नागरिकता विधेयकको कारण देशको सार्वभौमिकता र स्वाधिनता धरापमा परेको बताउँदै जन्मको आधारमा नागरिकता पाएका विदेशी नागरिकहरूले भविष्यमा देशको मुख्य मुख्य कार्यकारिणी अधिकार हातमा लिन सक्ने खतराबारे सचेत रहनुपर्ने बताउनुभयो ।
नेक्राविसङ्घ भक्तपुर जिल्ला समितिका दिनेश खड्गीले देशमा बढ्दो भ्रष्टाचार र महँगी नियन्त्रण गर्न सरकारले ध्यान नदिएको बताउँदै युवा विद्यार्थीहरू देशको स्वाधिनता र भू अखण्डता रक्षार्थ सचेत र सङ्गठित रहनुपर्ने आवश्यकतामाथि प्रकाश पार्नुभयो । उक्त कोण सभामा नेक्रायुसङ्घ मध्यपुर नगर समिति अध्यक्ष सुरेन्द्रथा श्रेष्ठ, नेक्राविसङ्घ मध्यपुर नगर समिति अध्यक्ष अमरदली श्रेष्ठलगायतले बोल्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *