भर्खरै :

पोखरादेखि देहरादुन सिधा बस सेवा सञ्चालन हुने

पोखरा, २९ वैशाख (रासस) ः पोखरादेखि भारतको देहरादुनसम्म सिधा यात्रुवाहक बस सेवा सञ्चालन हुने भएको छ । पृथ्वी राजमार्ग बस सेवा समितिद्वारा आगामी जेठ ८ गतेदेखि बस सेवा सञ्चालन गरिने आज आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको छ ।
सो अवसरमा पृथ्वी राजमार्ग बस सञ्चालक समितिका अध्यक्ष एनकुमार साईले मोर्डन एरा टुर्स एण्ड ट्राभल्सले सातामा एक दिन बुधबार बस सञ्चालन गर्ने बताउनुभयो । उहाँले पोखरादेखि खुलेको बस नारायणगढ, बुटवल, महेन्द्रनगरबाट बनवास, रुद्रपुर, ऋषिकेश, हरिद्वार हुँदै देहरादुन पुग्ने जानकारी गराउनुभयो ।
सो अवसरमा मोर्डन एरा टुर्स एण्ड ट्राभल्सका सञ्चालक केशव अधिकारीले १२ वर्षदेखि दिल्लीसम्म बस सेवा सञ्चालन भइरहेको र अब देहरादुनसम्मको बस सेवा सञ्चालन गर्न लागिएको बताउनुभयो । वातानुकूलित सो बसमा एक जना यात्रुको एकतर्फी भाडा रु चार हजार ३२० राखिएको छ । बुधबार पोखराबाट खुल्ने सो बस शनिबार पोखरा फर्कने समय निर्धारण गरिएको छ । सो बस सेवा सञ्चालनमा आएपछि पर्यटकको आगमनसमेत वृद्धि हुने विश्वास गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *