भर्खरै :

विदेशको भरमा बसेर देश समृद्ध नहुने

दीनबन्धु अर्याल
युवराज ज्ञवाली नेकपाका नेता हुन् । उनले बेलाबखत लेखमार्फत वर्तमान सरकारको काम कारबाहीप्रति असन्तुष्टि व्यक्त गरेर सरकारको ध्यानाकर्षण गर्दै आएका छन् । प्रधानमन्त्री केपी ओलीले सरकारको गतिविधिबारे जनतालाई जानकारी दिन कार्यकर्तालाई निर्देशन दिइरहेको बेला सोही पार्टीका नेता ज्ञवाली भने सरकारको कमी कमजोरीको खेदो खन्दै छन् । ‘कस्तो सुख कस्तो समृद्धि ?’ शीर्षकको लेखमा नेता ज्ञवालीले लेखे, “रातदिन पसिना बगाएर यो मुलुक निर्माण गर्ने लाखौँलाख जनताले जबसम्म गाँस, बास, कपास, शिक्षा, स्वास्थ्यजस्ता न्यूनतम आवश्यकता पूरा गर्ने परिस्थिति सिर्जना हुँदैन, तबसम्म सुख र समृद्धिको विषय केबल नारामा सीमित हुन्छ ।” समाजमा अन्याय र विभेद रहेसम्म जनताले सुख र समृद्धिको अनुभूति प्राप्त नहुने उनको भनाइ छ ।
हो, देशमा अहिले पनि जनताका न्यूनतम आवश्यकताहरू पूर्ति भइरहेको छैन, पूर्ति गर्ने खालका कुनै पूर्वाधार पनि तयार गरेको देखिंदैन । केही मुठीभर अर्बपतिको औसत आम्दानीको हिसाबका आधारमा सम्बन्धित देशको समृद्धिको मापन गर्ने चलनप्रति नेता ज्ञवाली असहमति जनाउँछन् । यस्तै किसिमको मान्यता नेपाल सरकारले अघि सारेर वास्तविक समृद्धि प्राप्त नहुने कुरा गलत होइन । न्यायपूर्ण र समतामूलक समाज निर्माण गर्ने संवैधानिक व्यवस्था व्यवहारमा देखिएको छैन । सम्पत्तिको स्रोत र साधनबाट वञ्चित जनताको जीवनस्तर माथि नउठाइकन कसरी सुखी नेपाली हुन्छन् ? नेता ज्ञवाली विदेशीको नक्कल गरेर देश समृद्ध नहुने तर्क राख्छन् । देशको सक्षम र योग्य जनशक्ति विदेश पलायन गरेर खाद्यान्नलगायत अन्य दैनिक आवश्यकताको सामान आयात गरेर देशको अर्थतन्त्र मजबुत हुँदैन । कृषिप्रधान देशमा खाद्यान्नमा नै परनिर्भर हुन्छ भने देश कसरी समृद्ध बन्छ ?
सरकारले विदेशी पुँजी भित्याउने लक्ष्य राखेको छ । विदेशी पुँजी भित्याएर, विदेशी पुँजीपतिलाई देशमा उद्योगधन्दा गर्न दिएर के स्वदेशी पुँजीपतिको विकास हुन्छ ? नेपाली जनताको जीवनस्तर उठ्छ ? यो विदेशी पुँजीपतिहरू पोस्ने काम हो । विदेशी पुँजीपतिलाई पोसेर देशको अर्थतन्त्र सुदृढ हुँदैन । सरकार आफैले देशको लागि आवश्यक उद्योगधन्दा, कलकारखाना खोल्नुपर्छ, आधारभूत आवश्यकता आपूर्ति गर्न सरकारी संस्थान र उद्योगधन्दाहरूलाई व्यवस्थित ढङ्गले सञ्चालन गर्नुपर्छ । सरकारी संस्थान या उद्योगहरू डुबाएर अकुत सम्पति कुम्ल्याएका व्यक्तिहरूमाथि कारबाही गरिनुपर्छ । उद्योग बन्दको कारण नखोजी घाटाको निहुँमा कौडीको मूल्यमा व्यक्तिलाई बेचेर निजीकरण गर्ने नीति रोकिनुपर्छ । शोषितपीडित बहुमत जनताको सेवा र पक्षमा काम गर्नुपर्ने सरकारले पुँजीपति, जमिनदार, सामन्तहरूकै पक्षपोषण गरेर मुलुक कसरी समृद्ध बन्छ ? नेता ज्ञवालीले ठिक्कै भने, “आमूल परिवर्तन नभएसम्म न नेपाली सुखी हुन्छन् न देश समृद्ध हुन्छ” आमूल परिवर्तन संसदीय माध्यमबाट सम्भव छैन । यसको लागि वर्गसङ्घर्ष जरुरी छ । त्यो कम्युनिष्ट पार्टीको कर्तव्य पनि हो । तर, कम्युनिष्ट भनिने ठूलो, बलियो र शक्तिशाली नेकपाको सरकार कम्युनिष्टको चरित्रअनुसार अघि बढिरहेको छैन । यही हो विडम्बना !

Leave a Reply

Your email address will not be published. Required fields are marked *