भर्खरै :

‘भेनेजुयलाः हिजो र आज’ पुस्तक सार्वजनिक

काठमाडाँै, ४ जेठ । पत्रकार समाज नेपालले दक्षिण अमेरिकी देश भेनेजुयलाको पछिल्लो राजनीतिक घटनाक्रमबारे ‘भेनेजुयलाः हिजो र आज’ पुस्तक प्रकाशन गरेको छ । शनिबार आयोजित एक कार्यक्रमबीच नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले उक्त पुस्तक सार्वजनिक गर्नुभयो ।
उक्त कार्यक्रममा अध्यक्ष बिजुक्छेँले भेनेजुयलामाथि संरा अमेरिकी हस्तक्षेप अमेरिकी शासक वर्गको पागलपन भएको बताउनुभयो ।
ह्वान ग्वाइडोले आफूखुसी आफैंलाई ‘राष्ट्रपति’ घोषणा गर्नु र संरा अमेरिकालगायत केही देशका सरकारले त्यसलाई वैधानिकता दिनु मूर्खता भएको भन्दै उहाँले अमेरिकी साम्राज्यवादको आयु सकिंदै गएको विचार राख्नुभयो ।
“मर्ने मानिसले हातखुट्टा झट्कारेजस्तै संरा अमेरिकी साम्राज्यवादले पनि आफ्नो अन्तिम दिनमा संसारका विभिन्न देशमा हमला र हस्तक्षेप गरिरहेको छ । संरा अमेरिकाको साम्राज्यवादको मिति पुग्दैछ ।”, अध्यक्ष बिजुक्छेँले भन्नुभयो ।
साम्राज्यवादी हमलाविरुद्ध प्रतिरोध गरिरहेका भेनेजुयलाको माडुरो सरकार र जनताको पक्षमा गतिविधि गर्नु अन्तर्राष्ट्रवादी कर्तव्य भएको चर्चा गर्दै उहाँले संरा अमेरिकी रक्षा सचिव रोबर्ट मेकनमाराको हत्या गर्ने प्रयासमा भियतनामी लडाकू न्युगेन भान त्रोय पक्राउ गरिंदा तत्कालीन भेनेजुयाली क्रान्तिकारीहरूले आफूले बन्दी बनाएका अमेरिकी नागरिकसँग साटफेर गर्ने प्रस्ताव गरेर अन्तर्राष्ट्रवादी कर्तव्य पूरा गरेको स्मरण गर्नुभयो ।
भेनेजुयलामा संरा अमेरिकी हस्तक्षेप बढिरहेको समयमा साम्राज्यवादविरुद्ध संसारभर विरोधका गतिविधि नभएको चर्चा गर्दै अध्यक्ष बिजुक्छेँले क्रान्तिकारी योद्धा चे ग्वेभाराको बोलिभियामा हत्या हुँदा संसारभर साम्राज्यवादविरुद्ध जनलहर उठेको स्मरण गर्नुभयो ।
अध्यक्ष बिजुक्छेँले भन्नुभयो, “यदि नेकपा सरकार कम्युनिष्ट सरकार भएको भए उसले सडकबाट साम्राज्यवादको विरोध गर्नुपथ्र्यो ।” उहाँले सरकार आफ्नो कर्तव्यबाट च्युत भए पनि नेपाली जनता अन्तर्राष्ट्रवादी दायित्वबाट च्युत हुन नहुने धारणा राख्नुभयो ।
भियतनाम युद्धको क्रममा नेपालमा भएका साम्राज्यवादविरोधी गतिविधिले अन्तर्राष्ट्रिय रूपमा प्रभाव पारेको चर्चा गर्दै अध्यक्ष बिजुक्छेँले साम्राज्यवादविरोधी गतिविधिले नयाँ पुस्तालाई अझ सक्रिय बनाउने धारणा राख्नुभयो ।
उहाँले भन्नुभयो, “अरु देशमाथि अत्याचार हुँदा हामीले विरोधमा बोलेनौँ भने कुनै समय हाम्रो देशमाथि साम्राज्यवादले अत्याचार गर्दा बोलिदिने कोही हुने छैन ।”
दुई वर्षअघि नेपालको तत्कालीन सरकारले बेलायती साम्राज्यवादविरुद्ध सङ्घर्ष गरेको तर अहिलेको ‘कम्युनिष्ट’ दाबी गर्ने सरकारले साम्राज्यवादविरुद्ध बोल्न नसकेको उहाँले भन्नुभयो ।
भियतनामी क्रान्तिकारी जनताप्रति ऐक्यबद्धतामा निकालिएको विभिन्न देशको प्रदर्शनसम्बन्धी समाचारले भियतनामी क्रान्तिकारीलाई साम्राज्यवादविरुद्ध लड्न उत्साहित गर्ने गरेको चर्चा गर्दै नेपालमा हुने साम्राज्यवादविरोधी गतिविधिले साम्राज्यवादविरुद्ध लडिरहेका जनतालाई उत्साहित बनाउने विचार राख्नुभयो ।
नेमकिपाका केन्द्रीय सचिव प्रेम सुवालले भेनेजुयलामा साम्राज्यवादी हस्तक्षेपको विरोधमा नेमकिपाले सुरूदेखि नै भेनेजुयाली जनता र माडुरो सरकारको पक्षमा बोल्दै आएको जानकारी दिनुभयो । उहाँले माघ १८ गते नेमकिपाले वक्तव्य जारी गरी भेनेजुयलामा संरा अमेरिकाको साम्राज्यवादी हमलाको विरोध गरेको, प्रतिनिधिसभामा माडुरो सरकारको पक्षमा बोलेको र नेमकिपासम्बद्ध युवा–विद्यार्थीले कोणसभा आयोजना गरी साम्राज्यवादविरोधी जनताप्रति ऐक्यबद्धता व्यक्त गरेको बताउनुभयो । भेनेजुयलामा अस्थिरता निम्त्याउन संरा अमेरिकी साम्राज्यवाद नै दोषी भएको विचार राख्दै उहाँले मानव अधिकार र प्रजातन्त्रको नाममा पश्चिमा देशहरूले हस्तक्षेप थोपरिरहेको बताउनुभयो ।
नेपालको संसद्मा पेश भएको मानव अधिकार आयोगसम्बन्धी विधेयकले मानव अधिकार आयोगले मानव अधिकार उल्लङ्घनको विषयमा सिधै सरकारलाई निर्देशन दिन सकिने प्रावधानमा संशोधन गरी महान्यायाधिवक्ता कार्यालयमार्फत निर्देशन दिने प्रस्ताव गरिएको जानकारी दिनुभयो ।
त्यस्तो प्रावधानले मानव अधिकारप्रति सरकारलाई गैरजिम्मेवार बनाउने धारणा राख्दै उहाँले मानव अधिकार आयोगमा प्रधानमन्त्रीले आफू अनुकूलको व्यक्तिलाई नियुक्ति गर्ने परिपाटीको अन्त्य गर्नुपर्ने विचार राख्नुभयो ।
उहाँले भन्नुभयो, “आर्थिक समानतासहितको मानव अधिकार नै वास्तविक मानव अधिकार हुनसक्छ । बाघ र बाख्रालाई एउटै खोरमा राख्नु मानव अधिकार हुनसक्दैन ।”
पत्रकार समाज नेपालका अध्यक्ष एवम् श्रमिक साप्ताहिकका कार्यकारी सम्पादक अनुराधा थापामगरको सभापतित्वमा भएको कार्यक्रममा पत्रकार समाज नेपालका सदस्यहरू धीरेन्द्रमान बिजुक्छेँ, प्रकाश थुसा र नीरज लवजूले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *