भर्खरै :

संरा अमेरिकाः खतरनाक देश

काठमाडाँै, ५ जेठ । संरा अमेरिकाले पर्सियाली खाडीमा यूएसएस अब्राहम लिङ्कन युद्धकविमान बोक्ने युद्धपोत र बम हमलाकारी समूह तैनाथ गरेको छ । विश्लेषकहरूका अनुसार उक्त संरा अमेरिकी सैनिक तैनाथी इरानविरूद्ध संरा अमेरिकी सैनिक कारबाहीको प्रारम्भ हो ।
शीतयुद्धपछि संरा अमेरिकाले अरू देशविरूद्ध सैनिक हमलाको धम्की दिने काम नियमित रूपमा गर्दै आएको छ । संरा अमेरिका सधैँ अन्त्यहीन युद्धको मनस्थितिमा रहेको भन्नु अतिशयोक्ति नहोला । त्यस्ता युद्धहरू प्रायशः तेल वा अन्य रणनीतिक महत्वको भूगोल आफ्नो नियन्त्रणमा लिन गरेको आम बुझाइ छ ।
तथापि दीर्घकालीन युद्ध सञ्चालन गर्ने संरा अमेरिकी क्षमतालाई अतिरञ्जनापूर्वक प्रस्तुत गरिने गरेको छ भने त्यसको राष्ट्रिय आक्रामक चरित्रलाई न्यूनाङ्कन गर्ने गरिन्छ ।
संरा अमेरिकाले भाग लिएका जति पनि युद्ध छन्, ती कुनै पनि युद्ध उसको प्रमुख रणनीतिक हितसँग सम्बन्धित छैन । शीतयुद्धको अन्त्यपछि सन् १९९३ मा भएको सोमालिया युद्ध, सन् १९९९ को कोसोभो युद्ध, सन् २००१ मा सुरू भएको अफगानिस्तान युद्ध, सन् २००३ देखि २०११ सम्म भएको इराक युद्ध, सन् २०११ मा भएको लिविया युद्ध र सन् २०११ मा भएको सिरिया युद्धमा संरा अमेरिकी संलग्नता यसका उदाहरण हुन् ।
संरा अमेरिकाले आफ्ना सैनिक कारबाहीलाई विभिन्न तरिकाले व्याख्या र परिभाषित गर्ने गरेको छ । उसले संयुक्त राष्ट्र सङ्घको भूमिकामा रूपान्तरण, मानवीय हस्तक्षेप, आतङ्कवादको प्रतिरोध, आम नरसंहारकारी हतियारको उन्मूलन र प्रजातान्त्रिक सुधारजस्ता तर्क र व्याख्याको आधारमा त्यस्ता हमला गर्दै आएको छ । न्यून वा शून्य रणनीतिक हितका यस्ता युद्धमा संरा अमेरिकाको संलग्नता स्वेच्छाचारी र विवादास्पद हुन्छन् ।
युद्धमा संरा अमेरिकाको सहज संलग्नता मूलतः सुरक्षा अवधारणामा आधारित छ । तर, संरा अमेरिकाको शब्दमा सुरक्षा भनेको बाँकी विश्वलाई अमेरिकी ढाँचामा ढाल्नु हो ।
अमेरिकी स्वतन्त्रता युद्ध यता संरा अमेरिकाले आफ्नो ढाँचामा नढालिएका कमजोर देश वा राजनीतिक शक्तिलाई आफू अनुकूल बदल्ने नभए शक्तिबाट गलहत्याउने रणनीति अङ्गीकार गर्दै आएको छ ।
उन्नाइसौं शताब्दीमा अमेरिकीहरूले आदिवासी जनताको हत्या गर्थे । उनीहरूले मेक्सिकोमाथि कब्जा जमाएर विभाजन गरे र स्पेनी उपनिवेशवादी शासनलाई पराजित गरे ।
बीसौं शताब्दीमा भएको शीतयुद्धको क्रममा संरा अमेरिकाले चौध वर्ष भियतनाम युद्धमा खेर फाल्यो । भियतनाम युद्ध संरा अमेरिकी रणनीतिक हितसँग कुनै सरोकार थिएन ।
आफूभन्दा बलियो वा समान शक्तिका देशलाई संरा अमेरिकाले आफ्नो स्वार्थको लागि सम्मान देखाउने गर्छ । त्यस्ता देशसँग संवादमार्फत मतभेद समाधान गर्ने गरेको हुन्छ । उन्नाइसौं शताब्दीमा उत्तर अमेरिकामा बेलायती शक्तिप्रतिको उसको नीति र बीसौं शताब्दीमा तत्कालीन सोभियत सङ्घप्रतिको उसको नीति यसका केही उदाहरण हुन् ।
कुनै कमजोर देशसँग गम्भीर मतभेद देखापर्दा संरा अमेरिकाले शक्तिको प्रयोग गर्ने गरेको छ । तर, शक्तिशाली देशहरूसँग ऊ सधैँ सजग बन्ने गरेको छ ।
संरा अमेरिकाको यही रणनीतिको कारण ऊ संसारभरका युद्धमा संलग्न हुने गरेको हो । साथै प्रमुख शक्ति देशहरूसँग उसको सम्बन्ध सधैँ कमजोर हुने गरेको छ ।
आफ्नो मूल हित वा स्वार्थमाथि धक्का नपुग्दासम्म युद्धमा हात नहाल्ने देशहरूभन्दा फरक संरा अमेरिका संसारलाई अमेरिकी ढाँचामा बदल्न र युद्ध उछाल्न वा भाग लिन सधैँ तत्पर रहने गरेको हुन्छ ।
रणनीतिक रूपमा महत्वपूर्ण भौगोलिक स्थानमाथि कब्जा वा तेलमाथि नियन्त्रणको तर्कले मात्र संरा अमेरिकाको युद्धप्रतिको आशक्तिलाई व्याख्या गर्न पुग्दो छैन ।
संरा अमेरिकाले स्वतन्त्रता हासिल गरेको समय संसारप्रति उसको व्यवहार सद्भावपूर्ण थियो । ऐतिहासिक रूपमा संरा अमेरिका कहिल्यै पनि यथास्थितिप्रति सन्तुष्ट भएन । विभिन्न क्षेत्रमा गैरजिम्मेवार हस्तक्षेप गरेर संरा अमेरिका आफै लज्जित बनेको हुन्छ । इराक, सिरिया, लिविया र अफगानिस्तानमा थोपरेको युद्धले अराजकता, असङ्ख्य सर्वसाधारणको हत्या र ठूलो आकारको शरणार्थी समस्या सामना गर्नुप¥यो ।
शीतयुद्ध पछि युद्धमा होमिने संरा अमेरिकाको निर्णय प्रक्रिया सधैँ उत्तेजना र विवेकहीनतामा आधारित हुने गरेको छ । मूलधारको भनिएका केही संरा अमेरिकी मिडियाले केही अन्तर्राष्ट्रिय घटनालाई वैचारिक पूर्वाग्रहको जगमा अतिरञ्जनापूर्ण प्रचारमा ल्याउने गरेका हुन्छन् । यस्तो अवस्थामा गरिने कुनै पनि निर्णय गलत हुने गर्दछ ।
संरा अमेरिकाको आन्तरिक राजनीतिमा हुने उच्च तहको ‘धु्रवीकरण’ले त्यहाँका नीति निर्मातालाई युद्धमार्फत संरा अमेरिकी सङ्कटलाई अझ उछाल्न वा अन्यत्र मोड्न प्रयास गर्छन् । यसकारण युद्धमा उत्तेजना र मनपरी हावी हुने गरेको हुन्छ ।
जब संरा अमेरिका अन्तर्राष्ट्रिय व्यवस्थाप्रति खुसी हुँदैन, तब उसले युद्धमार्फत अरू देशहरूलाई आफू अनुकूल बनाउने प्रयास गर्छ । उसको त्यस्तो जिद्दीले अन्य देशमा विभाजन र अराजकता निम्त्याउने गर्छ ।
संरा अमेरिकी कूटनीतिको इतिहासको गहिरो र व्यवस्थित अध्ययन गरेपछि संरा अमेरिकाका चर्चित विद्वान रोबर्ट कागनले संरा अमेरिकाको युद्धपिपासु र आक्रामक परम्पराबारे बुझे ।
निष्कर्षमा उनले भने, “संरा अमेरिका खतरनाक देश हो ।” यो निष्कर्ष निकै अमिलो लाग्न सक्छ तर यसले संरा अमेरिकी कूटनीतिको आन्तर्य अभिव्यक्त गर्छ ।
–ग्लोबल टाइम्समा प्रकाशित ली हायतोङको लेखमा आधारित विश्लेषण

Leave a Reply

Your email address will not be published. Required fields are marked *