भर्खरै :

निक्षेप सङ्कलन र कर्जा प्रवाहमा बेमेल कायमै

काठमाडौँ, ५ जेठ । चालू आर्थिक वर्षको नौ महिना व्यतित हुँदा पनि नेपाली बैङ्क तथा वित्तीय संस्थाहरूको निक्षेप सङ्कलन र कर्जा प्रवाहमा बेमेल कायमै रहेको छ । नेपाल राष्ट्र बैङ्कले आइतबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार बैङ्क तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप २०७५ असारको तुलनामा १०.६ प्रतिशतले बढेर २०७५ चैत मसान्तमा रू. ३० खर्ब ३३ अर्ब ५२ करोड २ लाख पुगेको छ । कुल कर्जा तथा सापट भने १५.७ प्रतिशतले बढेर रू. ३१ खर्ब ९७ अर्ब ४ करोड ५२ लाख पुगेको छ । यसले बैङ्क तथा वित्तीय संस्थाहरूले सङ्कलन गरेको निक्षेपभन्दा बढी रकम कर्जा तथा सापटको रूपमा प्रवाह गरेको देखाउँछ । समीक्षा अवधिमा मात्र बैङ्क तथा वित्तीय संस्थाहरूको निक्षेप रू.२ खर्ब ९१ अर्ब ४१ करोड ७२ लाखले बढेको छ भने कर्जा तथा सापट रू.४ खर्ब ३३ अर्ब ७५ करोड ७० लाखले बढेको छ । यसले बैङ्क तथा वित्तीय संस्थाहरूको निक्षेप सङ्कलन र कर्जा प्रवाहमा बेमेल झन् बढाएको छ ।
२०७५ चैत मसान्तमा बैङ्क तथा वित्तीय संस्थाहरूले निजी क्षेत्रतर्फ कुल कर्जा तथा सापटमध्ये रू. २८ खर्ब ३९ अर्ब २८ करोड ५० लाख कर्जा प्रवाह गरेका छन् । यो कर्जा रकम २०७५ असार मसान्तमा प्रवाहित कर्जाभन्दा १६.५ प्रतिशत अर्थात् रू. ३ खर्ब ९५ अर्ब ८४ करोड १५ लाखले बढी हो । निजी क्षेत्रतर्पm प्रवाहित कर्जामध्ये वाणिज्य बैङ्कहरूको कर्जा १५.१ प्रतिशतले, विकास बैङ्कहरूको २८.६ प्रतिशतले र वित्त कम्पनीहरूको १४.८ प्रतिशतले बढेको छ ।
वार्षिक बिन्दुगत आधारमा २०७५ चैत मसान्तमा बैङ्क तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रतर्पm प्रवाहित कर्जा २२.१ प्रतिशतले बढेको छ । २०७५ चैत मसान्तमा बैङ्क तथा वित्तीय संस्थाहरूको लगानीमा रहिरहेको कर्जामध्ये ६४ प्रतिशत कर्जा घर जग्गाको धितोमा र १४.१ प्रतिशत कर्जा चालू सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को धितोमा प्रवाह भएको छ । २०७४ चैत मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६१.४ प्रतिशत र १४.८ प्रतिशत रहेको थियो ।
समीक्षा अवधिमा बैङ्क तथा वित्तीय संस्थाहरूबाट प्रवाहित आवधिक कर्जा २४.७ प्रतिशतले, ओभरड्राफ्ट कर्जा १३ प्रतिशतले, ट्रष्ट रिसिट (आयात) कर्जा १३.१ प्रतिशतले, डिमान्ड तथा चालू पुँजी कर्जा २१.१ प्रतिशतले, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जा समेत) ९.२ प्रतिशतले, मार्जिन प्रकृति कर्जा २.३ प्रतिशतले तथा हायर पर्चेज कर्जा ७.४ प्रतिशतले बढेको छ ।
समीक्षा अवधिमा कुल आन्तरिक कर्जा भने १३.२ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त कर्जा १२.६ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७५ चैत मसान्तमा यस्तो कर्जा २७.२ प्रतिशतले बढेको छ । समीक्षा अवधिमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दाबी १६.४ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो दाबी १६.८ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७५ चैत मसान्तमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दाबी २१.९ प्रतिशतले बढेको छ ।
बढ्दै मुद्दति निक्षेप र घट्दै बचत निक्षेप
नेपाली बैङ्क तथा वित्तीय संस्थाहरूले सङ्कलन गरेको कुल निक्षेपमा मुद्दति निक्षेपको अंश क्रमशः बढ्दै र बचत निक्षेपको अंश घट्दै गएको छ । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको तथ्याङ्कअनुसार २०७३ असार मसान्तमा कुल निक्षेपको ३०.५ प्रतिशत अंश रहेको मुद्दति निक्षेप २०७५ चैत मसान्तमा ४७.३ प्रतिशत पुगेको छ । उक्त अवधिमा बचत निक्षेपको अंश भने ४३.३ प्रतिशतबाट घटेर ३३.६ प्रतिशत कायम भएको छ ।
२०७५ चैत मसान्तमा बैङ्क तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दतिको अंश क्रमशः ८.६ प्रतिशत, ३३.६ प्रतिशत र ४७.३ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो अंश क्रमशः ८.७ प्रतिशत, ३५.८ प्रतिशत र ४४.९ प्रतिशत रहेको थियो ।
२०७५ चैत मसान्तमा बैङ्क तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ४५.२ प्रतिशत रहेको छ । २०७४ चैत मसान्तमा यस्तो निक्षेपको अंश ४३.८ प्रतिशत रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *