भर्खरै :

तिहाडदेखि बेगुसरायसम्म कन्हैयाको यात्रा

 राजन
“म नेता होइन तपाईँको बेटा (छोरो) हुँ”, लत्रक्क भुँडी झुलेका, झुस्स दारीले अनुहार छोपेका, हेर्दै सिनेमाका खलनायकजस्ता देखिने नेताहरूबाट आजित भएका भारतीय जनताले चुनाव प्रचारको क्रममा यस्तो आत्मीय बोली बोल्ने युवा नेता कन्हैया कुमारबाट ठूलो आशा गरेका छन् । छिमेकी राष्ट्र भारतमा भएको संसदीय (लोकसभा) निर्वाचनमा युवा नेता कन्हैयाको चर्चा निकै चल्यो । बिहारको बेगुसराय संसदीय क्षेत्रबाट कन्हैया कुमार भारतीय कम्युनिष्ट पार्टीको उम्मेदवार बनेका छन् । कम्युनिष्ट पार्टीको बलियो पकड भएको क्षेत्र भएकोले बेगुसरायलाई ‘बिहारको मस्को’ पनि भनिन्छ । तर, विभिन्न कारणले सन् १९६७ पछि त्यस चुनाव क्षेत्रबाट कम्युनिष्ट पार्टीका प्रत्याशीले चुनाव भने जित्न सकेका छैनन् । यसपालि युवा नेता कन्हैया कुमारले हँसिया हथौडाको झण्डा फहराउने विश्वास गरिएको छ ।
कन्हैया कुमार भारतीय कम्युनिष्ट पार्टीनिकट विद्यार्थी सङ्गठन अखिल भारतीय छात्र सङ्गठन (एआईएसए)मा आबद्ध थिए । सन् २०१५ मा जवाहरलाल नेहरू विश्वविद्यालय छात्र सङ्घमा उनी अध्यक्ष निर्वाचित भएका थिए । २०१६ मा जेएनयूमा आयोजित अफजल गुरूको स्मृति सभामा विद्यार्थीहरूले ‘भारतविरोधी’ नारा लगाएको भन्दै सरकारले दमन ग¥यो । पछि सो कार्यक्रममा संलग्न रहेको अभियोगमा कन्हैयालाई पक्राउ गरियो । त्यही घटनाले कन्हैया कुमार भारतभरि एकाएक चर्चित बने । भारतीय जनता पार्टीको सरकारको प्रत्यक्ष संलग्नतामा बनाइएको नक्कली भिडियोमा कन्हैया संलग्न भएको देखाइएको थियो । त्यसमा भारतीय सरकारका गृहमन्त्री राजनाथ सिंह प्रत्यक्ष संलग्न भएको बताइन्छ । ‘देशद्रोहीलाई फाँसी देऊ’ भन्ने नारा लगाउँदै भाजपाका कार्यकर्ताले जेएनयूमा जुलुस निकालेका थिए । तर, अदालतले भिडियो नक्कली भएको कारण देखाएर जमानतमा कन्हैयालाई छोडेको थियो । सो घटना हुँदा कन्हैया छात्रावासको आफ्नै कोठामा थिए । यो घटना हुबहु २०४५ सालमा तत्कालीन पञ्चायती व्यवस्थाले रचेको ‘भक्तपुर काण्ड’ सँग मेल खान्छ । त्यतिबेलाको तत्कालीन पञ्चायती शासकले नेमकिपाका नेताहरूलाई कर्णप्रसाद ह्योजुको हत्यामा संलग्न भएको भन्दै षड्यन्त्रपूर्वक पक्राउ गरी फाँसीको माग गर्दै जुलुस गरेका थिए । त्यो जुलुसमा तत्कालीन प्रधानमन्त्री स्वयं सामेल थिए ।
कन्हैया कुमार भारतीय कम्युनिष्ट पार्टीको सदस्य भएर पनि भगत सिंह, महात्मा गान्धी, बीआर अम्बेडकरको नाम आफ्नो भाषणमा खुबै उल्लेख गर्छन् । भारतीय संविधान बचाउनको लागि भाजपालाई हराउन कन्हैयाले भारतीय जनतासमक्ष आव्हान गरेका छन् । ‘तपाइँ लेनिन र गान्धीमध्ये को रोज्नु हुन्छ’ भन्ने प्रश्नको जवाफमा उनी भन्छन्, “अहिलेको भारतीय समाजको समस्या समाधानको लागि हामीलाई भगत सिंह, अम्बेडकर, गान्धीमात्र होइन, लेनिनको पनि उत्तिकै आवश्यकता छ ।” यो कन्हैया कुमारको चलाखीपूर्ण जवाफ हो । उनको भाषण सुन्दा, सन् १९५० को दशकतिर विश्वभरिका जनता समाजवादप्रति आकर्षित हुँदा कम्युनिष्टका प्रखरविरोधी भइकन पनि नेपाली काङ्ग्रेसका नेता विश्वेश्वर प्रसाद कोइरालाले समाजवाद शब्द जोडेर ‘प्रजातान्त्रिक समाजवाद’ लाई आफ्नो कार्यक्रम भनी प्रचार गरेको सम्झना हुन्छ । समाजवाद शब्द जोडेर कम्युनिष्टप्रति सहानुभूति राख्ने जनताको समेत समर्थन प्राप्त गर्ने प्रयास वीपीले गरेका थिए, त्यतिबेला । कन्हैया कुमारले अम्बेडकरको नाम जोडेर दलित जनताको समर्थन प्राप्त गर्ने प्रयास गरेका छन् भने गान्धीको नाममा अहिंसावादीहरूको समर्थन हासिल गर्ने जमर्को गरेको देखिन्छ । भारतको अहिलेको संविधान कम्युनिष्ट विचारधाराअनुरुपको पक्कै पनि होइन, तैपनि उनी भारतीय संविधानका घोर पक्षपाती हुन् । अहिलेलाई यो उनको रणनीतिमात्र हो कि कम्युनिष्ट सिद्धान्तमा नै फेरबदल गर्न चाहेको हो, समयले देखाउने छ ।
तर्कपूर्ण भाषण र सर्वसाधारण जनताले बुझ्ने सरल भाषामा उदाहरण दिंदै उनले आफ्नो विपक्षलाई भित्तोसम्म पु¥याइदिन्छन् । ‘पहेँलो हरेक वस्तु सुन हुँदैन, पहेँलो वस्त्र लाउने हरेक व्यक्ति योगी हुँदैन’ भन्दै रामको नाम जप्दै चुनाव जितेका उत्तर प्रदेशका गेरूधारी मुख्यमन्त्री भाजपाका नेता योगी आदित्यनाथलाई ‘भोगी’ को संज्ञा दिन्छन् कन्हैया कुमार । रामको त्यागको उदाहरण दिंदै भन्छन्, “बाबुको वचन पूरा गर्न राम राजपात त्याग गर्दै जङ्गल गए तर योगी जङ्गल (पूर्वाञ्चल) बाट राजगद्दी (मुख्यमन्त्री) कब्जा गर्न लखनउ आए ।” यस्तो भोगीले रामको नाम लिनु जनतालाई भ्रममा पार्नु हो भनेर धार्मिक जमातलाई धर्मसँगै जोडर बुझाउने प्रयास गर्छन्, कन्हैया ।
जेलबाट रिहा भएदेखि कन्हैयाले भाजपाबाहेक कुनै पार्टीको विरोध गरेका छैनन् । उनको सम्पूर्ण विरोधको तारो भनेको भाजपामात्र छ । यसबारे प्रश्न उठाउँदा कन्हैयाको प्रष्टीकरण हुन्छ, “प्रश्न सोध्नु भनेको सत्तासँग हुनुपर्छ, कमजोरसँग होइन ।” पाकिस्तानमाथि आक्रमण गरेकोमा मोदीले गर्व गर्दा कन्हैयाको मोदीमाथि उल्टो प्रहार हुन्छ, “सियाले सुन्नीलाई मार्छ, सुन्नीले सियालाई मार्छ, बाँकीलाई सेनाले मार्छ, भारतको यूपी प्रदेशमा जति पनि जनसङ्ख्या नभएको एउटा कमजोर प्रतिद्वन्द्वी पाकिस्तानलाई छानेर आफूलाई बहादुर ठान्छ, मोदी । सक्छौ भने चीन, अमेरिकासँग तुलना गर्नू ।” जेलबाट रिहा भएपछि उनले काङ्ग्रेस पार्टीका नेता राहुल गान्धीदेखि विहारका नेता लालु यादवसम्मका विपक्ष नेताहरूलाई भेटेका छन् । चुनावमा भाजपाको विरोधमा अरू विपक्ष दलहरूसँग मोर्चा कस्ने कन्हैयाको इच्छा थियो । तर, विडम्बना आफ्नै चुनाव क्षेत्र बेगुसरायमा समेत विपक्ष एक हुन सकेन ।
जात–जाति, धर्म र पैसाको आधारमा चुनाव हुने बिहारजस्तो राज्यमा जात र धर्मको कुरै नगरी गरिब परिवारमा जन्मेर पनि त्यहाँका जनताको विशेषगरी युवा जमातबीच आकर्षणको केन्द्रबिन्दु हुनसक्नु कन्हैयाको ठूलो सफलता हो । आफ्नो प्रमुख प्रतिद्वन्द्वीमध्ये एकजना मुसलमान हुँदाहँुदै अधिकांश मुसलमानको समर्थन कन्हैयासँग रहेको बताइन्छ । आफू ठूलो जातको भईकन पनि तल्लो जातको पक्षमा रहेका आरक्षणका प्रखर पक्षपाती हुन्, कन्हैया कुमार । त्यसैले दलितहरूको बीचमा पनि कन्हैया कुमार लोकप्रिय छन् । भाजपाको उदय भएपछि मुसलमान समुदायप्रति भइरहेको असहिष्णुताविरूद्ध मोर्चा खोल्ने कन्हैया कुमार नै हुन् । त्यही भएर बेगुसरायका मुसलमान समाजमा वरिष्ठ मुसलमान नेता तनबिर हसनभन्दा कन्हैया कुमार लोकप्रिय छन् । मुसलमानहरू आफैं भन्छन््,“मुसलमानको आवाज तनबिर हसनले भन्दा कन्हैयाले बढी उठाएका छन् ।” अल्पसङ्ख्यक जातिको पक्षमा प्रस्ट वकालत गर्छन्, कन्हैया कुमार ।
हालैमात्र कन्हैया कुमारको ‘बिहारदेखि तिहाडसम्म’ भन्ने पुस्तक प्रकाशित भएको छ । विद्यार्थीकालमा सधंँ कक्षामा प्रथम हुने कन्हैया ४ कक्षा पढ्दा वक्तृत्वकलामा भाग लिएर प्रथम भएका थिए । काकतालीको कुरा ‘मदर तेरेसा’ शीर्षकमा बोलेर प्रथम भएका कन्हैयालाई तिहाड जेलको मदर तेरेसा सेलमा राखिएको थियो । यही घटनाबाट कन्हैया कुमारको जीवनमा ठूलो परिवर्तन ल्यायो । एकाएक भारतमात्र होइन, विदेशमा समेत कन्हैया कुमारको चर्चा चुलियो ।
कन्हैया ‘पुँजीवादबाट आजादी’ को नारा लगाउँछन् । पुँजीवादी देशका शासक पुँजीपतिका कठपुतली हुन् भन्ने सन्दर्भ भारतका धनाढ्य अनिल अम्बानीसँग जोडिन्छ । फ्रान्सको हतियार बनाउने कम्पनीसँग राफेल लडाकु जहाज खरिद गर्दा भएको ३ खर्ब भारतीय रूपैयाँ बराबरको घोटालामा अनिल अम्बानीको कम्पनी संलग्न भएको जनतालाई कन्हैया बुझाउन खोज्छन् । यहाँ स्मरणीय तथ्य के छ भने भारतीय जनता पार्टीको चन्दाको प्रमुख स्रोत भनेकै यस्तै दलाल पुँजीपति हुन्छन् । एक स्रोतका अनुसार यस पटकको चुनावमा भारतीय जनता पार्टीले १० अर्ब भारतीय रूपैयाँ चन्दा उठाएको छ जसमध्ये ४ अर्बको मात्र स्र्रोत खुलेको र बाँकी ६ अर्बको स्रोत खुलाइएको छैन । भाजपाको आम्दानीको प्रमुख स्रोत भनेको यस्तै पुँजीपति वर्ग हुन्छन् । त्यसै कारणले सरकारले तर्जुमा गर्ने ठूल–ठूला नीतिहरूमा यस्तै ठूला घरानियाँ पुँजीपतिहरूको हात हुन्छ ।
कन्हैया कुमारको लोकप्रियता साँच्चै भोटमा परिवर्तन भयो वा भएन यसको पुष्टि आउँदो २३ तारिखमा हुनेछ । उक्त दिन भारतीय संसदीय चुनावको परिणाम घोषणा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *