युद्ध र वार्ताजस्तै नाकाबन्दी पनि सफल हुनेछैन
- बैशाख ५, २०८३
राकस्था
एक्काइसौं शताब्दीका चुनौतीहरूको सामना गर्नसक्ने युवा पुस्ता तयार हुनुपर्नेबारे बेलाबेला चर्चा हुन्छ तर तिनका अभिभावकहरू कस्ता हुनुपर्छ भन्नेबारे पर्याप्त मात्रामा घोत्लिएको देखिन्न । असल अभिभावकविना के असल युवा पुस्ता तयार होला ? सूचना र प्रविधिको प्रकाशमा तिरमिराएको नयाँ पुस्तालाई मार्गनिर्देश गर्नसक्ने अभिभावक समयानुकूल हुनुपर्ने कुरामा विवाद नहोला । तर, एक्काइसौं शताब्दीको अभिभावकत्व त्यति सरल पनि छैन ।
आजको आधुनिक परिवेशमा हुर्किएका केटाकेटीसँग कसरी व्यवहार गर्ने, कसरी कुराकानी गर्ने भन्नेमा हिजोको परिवेशमा हुर्किएका अभिभावक अलमलमा परेको पाइन्छ । अभिभावक पुस्ता र युवा पुस्ताबीच ‘ग्याप’ कसरी घटाउने भन्नेतर्फ चिन्तन गर्नु जरुरी भइसकेको छ । यथार्थमा अभिभावक शिक्षित भएमात्र बालबालिका सुशिक्षित हुन्छन्, यो एक सरल सत्य हो । त्यसैले अभिभावकलाई शिक्षित बनाउने शिक्षालय, तालिम केन्द्र वा प्रशिक्षणशालाको जरुरी भइसकेको छ । एक अभिभावक फूलबारी स्याहार्ने मालीजस्तै हुन् भने त्यस्ता व्यक्तिलाई तालिम, ज्ञान र सीप जरुर चाहिन्छ ।
एकपटक गम्भीर चिन्तन गरौँ ! कुनै विद्यालय कसरी राम्रो बन्छ ? एउटा सफल विद्यालयको पछाडि कसको बढी हात हुन्छ ? राम्रो पाठ्यक्रम, सुहाउँदो पाठ्यपुस्तक, नियमित पढाइ, बालकेन्द्रित सिकाइ, आदर्श शिक्षक, असल विद्यार्थी, पर्याप्त भौतिक संरचना, प्रयोगशाला, पुस्तकालय, पर्याप्त शैक्षिक सामग्री, सहयोगी शैक्षिक प्रशासन, अतिरिक्त क्रियाकलाप । के यतिले नै अब्बलकोटीको विद्यालय बन्छ होला ? आम मानिसमा विद्यालय राम्रो भएपछि विद्यार्थी स्वतः राम्रो हुने बुझाइ छ । कति अभिभावक हामीलाई त केही थाहा छैन, जे बनाउने हो बनाइदिनुस् भनी विद्यालयका शिक्षकको जिम्मामा बच्चाहरू विद्यालय छोड्छन् । सबै जिम्मेवारी विद्यालय वा शिक्षकलाई छोड्नु वा अभिभावकको भूमिकालाई गौण ठान्नु भनेको नेपाली शिक्षामा अपेक्षित प्रगतिको लागि एक अवरोध हो ।
प्रकृतिमा पर्यावरणीय चक्र छ, शिक्षा पनि एउटा चक्रमा घुम्छ । केटाकेटी विद्यालय जान्छन्, शिक्षकशिक्षिका र साथीहरूबाट सिक्छन् । केटाकेटी विद्यालयबाट घर फर्कन्छन्, परिवार, छरछिमेक, इष्टमित्र, साथीसङ्गतिको बोली व्यवहार, संस्कृति, परम्परा, खानपान आदिबाट अनेकन कुरा सिक्छन् । केटाकेटी कहिले विभिन्न ठाउँ घुम्लान्, कहिले पत्रपत्रिका पढ्लान्, कहिले चलचित्र वा टेलिसृङ्खला हेर्लान्, कहिले अनेक खेलहरू खेल्लान् । यी सबै सिक्ने गतिविधि हुन्, अनुभवबाट सिक्ने विधि हुन्, किनभने सिकाइ विद्यालयको कक्षाकोठामा सीमित हुन्न । विद्यालयबाहिरको सिकाइ झन् प्रभावकारी हुन्छ, यस्तो सिकाइ बढी व्यावहारिक पनि हुन्छ । तर, जीवनसँग जोडिएका कुरालाई सैद्धान्तिकृत गर्ने काम विद्यालयभित्र हुन्छ । विद्यालय बाहिरको सिकाइप्रति जिम्मेवारी बढी अभिभावकको हुन्छ भने विद्यालयभित्रको सिकाइको जिम्मेवारी बढी विद्यालयले लिएको हुन्छ । यस मानेमा विद्यालयबाहिरको सिकाइको नेतृत्व अभिभावकले लिएको हुन्छ भने विद्यालय भित्रको सिकाइको नेतृत्व शिक्षकहरूकोे हुन्छ । तर, विद्यालय र विद्यालय बाहिरका नेतृत्वकर्ताका यी जिम्मेवारीहरू कम जटिल हुन्नन् । अझ विद्यालय र शिक्षकबीचको सम्बन्ध ‘ढुङ्गाको भर माटो र माटोको भर ढुङ्गा’ भनेझैँ हुन्छ । यस मानेमा शिक्षा प्रणालीको चक्रमा अभिभावक छुट्यो भने चक्र अपूरो, अधुरो हुन्छ ।
जुन विद्यालयका अभिभावक सचेत, सक्रिय र सहयोगी हुन्छन्, ती विद्यालयको शैक्षिक प्रगति सदा चुलिएकै हुन्छ । तर, शैक्षिक उन्नतिमा अभिभावकलाई त्यति सा¥हो जिम्मेवारी अनिवार्य गरिएको पाइन्न । सरकारले ‘अभिभावक–शिक्षक सङ्घ’ गठनको नीति त लागू गरेको छ तर कति विद्यालयहरूले यसलाई अनावश्यक एवम् घाँडोको रूपमा लिएको पाइन्छ । यस्ता समितिहरूमा अभिभावकको यथोचित सक्रिय भूमिका पाइन्न । यस्ता समिति सक्रिय नहुनुको कारण अभिभावकको कम जिम्मेवारीबोध पनि एक कारण हो । अभिभावक सचेत नहुँदा पनि यस्तो परिस्थिति बन्न गएको हो ।
शिक्षक, विद्यार्थी र अभिभावकलाई त्रिखुट्टीमा राखेर हेर्दा अभिभावकको काम केटाकेटीेको पालनपोषण, हेरविचार एवम् संरक्षणलगायत घरमा लेखपढ गर्ने वातावरण तयार पार्नु हो । घरको वातावरणले केटाकेटीको पढाइको स्तरवृद्धिमा धेरै हदसम्मको भूमिका निर्वाह गरेको पाइन्छ । पढ्नको निम्ति शान्त वातावरण आवश्यक हुन्छ । शान्त वातावरण भन्ने बित्तिकै होेहल्ला नहुनेमात्र होइन, मानसिकरूपमा शान्त हुने वातावरणसमेत मान्नुपर्छ । घरपरिवारमा सधैँ शान्त वातावरण बनाउन सजिलो भने छैन । आर्थिक अभाव, महँगी, अनेक रोगव्याध, उपभोक्तावादी संस्कृति, ठगी आदिमात्र होइन, नागरिक भावनाविपरीतका छरछिमेकका गतिविधिबाट सृजित अशान्त वातावरणले केटाकेटीमा चिडचिडाहट, डिप्रेशनलगायतका समस्या देखापरेको पाइन्छ । यसको कसरी व्यवस्थापन गर्ने ? कति सन्दर्भमा अभिभावक किंकर्तव्यविमूढ हुन्छन् । त्यस्तो अवस्थामा कोसँग सल्लाह गर्ने ? बालबच्चाको विकृत मानसिकता कहाँ गएर सच्याउने ? यसको जानकारी अभिभावकलाई चाहिन्छ, शिक्षाको जिम्मेवारी लिएका विद्यालय, शिक्षा कार्यालय तथा मन्त्रालयले यसको व्यवस्थाको निम्ति के सोचेका छन् ?
अधिकांश अभिभावकको एउटै गुनासो सुनिन्छ – केटाकेटी कार्टून, भिडियोगेम, फेसबुक, युट्युब वा त्यस्तै आधुनिक सूचनाप्रविधिसँग जोडिएका साधनमा रमाएर बस्छन् । कति भिडियोगेमका कारण केटाकेटीमा हिंस्रक मनोवृत्ति देखापरेको र मानसिक रोगसमेत लागेको घटना देखिएका छन् । मोवाइल वा ल्यापटममै फूटबल, क्यारेम, हक्कि वा क्रिकेट खेल्ने बच्चाले केही नियम त थाहा पाउला तर वास्तविक खेल खेल्न जान्दैन । टीभी, ल्यापटप र मोवाइलकोे अनियन्त्रित प्रयोगले आँखाको दृष्टिक्षमता घटेको कुरा धेरै सुनिएका छन् । अनलाइनमा पाइने सबै सामग्री सही हुन्नन् । इन्टरनेटको जथाभावी प्रयोगले सही र गलत छुट्याउन नसकेर केटाकेटी अलमलमा पर्ने गरेको पनि पाइन्छ । अब यी विद्युतीय सूचना साधनहरूको उपयुक्त प्रयोग कसरी गराउने भन्नेबारे अभिभावकलाई थाहा हुनुपर्छ । केटाकेटीलाई मोवाइल, ल्यापटप वा टीभीको सही प्रयोगबारे सिकाउनुबाहेक अब कुनै उपाय छैन । यसको लागि अभिभावकलाई चनाखो बनाउने तरिका सिकाउने कुनै निकाय र विधि चाहिन्छ ।
खानपानले बच्चाको मानसिक एवम् शारीरिक विकासमा प्रत्यक्ष प्रभाव पारेको हुन्छ । खानाले मानिसको स्वभावमा पनि प्रभाव पारेको हुन्छ । तागतिलो खानेकुरा खानु त अत्यन्तै जरुरी छ नै, हानिकारक खानेकुरा खानबाट जोगाउनु झन् आवश्यक छ । प्राकृतिक खानेकुरा सबभन्दा स्वस्थकर हुन्छन् । सन्तुलित खानेकुरा खाएमा केटाकेटीलाई पुग्दो पोषण मिल्छ । जस्तो, दूध । खानेकुरामा दूध सबभन्दा राम्रो मानिन्छ, किनभने यसमा शरीरलाई आवश्यक लगभग सम्पूर्ण पोषक तत्व पाइन्छन् । यता स्वाद र सुरक्षाको नाममा राखिएका अनेक रसायनयुक्त प्रशोधित खानेकुराले स्वास्थ्यमा प्रतिकूल असर पारेको पाइन्छ । यसबारे अभिभावकलाई सचेत बनाउनु आवश्यक छ ।
असल संस्कार दिने काममा पनि अभिभावककै जिम्मेवारी बढी हुन्छ । धेरै हदसम्म केटाकेटी अभिभावकको प्रतिरूप भएर निस्किन्छन् । अभिभावक नै केटाकेटीको पहिलो गुरू, ‘रोल मोडेल’ हो । सामान्यतः जस्ता अभिभावक त्यस्तै केटाकेटी हुन्छन् । कडा एवम् रुखो बोल्ने अभिभावकका केटाकेटी नम्र बोल्ने कमै भेटिएलान् । लोभलालच गर्ने अभिभावकका सन्तान दानी वा सज्जन बन्ने सम्भावना पनि कमै हुन्छ । असल संस्कार कस्तो हुन्छ भन्नेबारे अभिभावक स्वयम् सचेत हुनु जरुरी छ । असल संस्कारबारे पनि अभिभावक स्पष्ट हुनुपर्छ ।
अभिभावकसँग केटाकेटीको लागि बिताउने समय पुग्दो हुँदैन । सन्तानको निम्ति अनेक दुःख गरेको भन्ने तर उनीहरूसँग कुराकानी गर्ने, मनका भावना साटासाट गर्ने वा हाँसखेल गर्ने समय नै छैन अभिभावकसँग । दैनिक जीविका चलाउनसमेत मानिसलाई धौ धौ छ, व्यस्त नभई कसैलाई सुख पनि हुन्न । गुजारा चलाउन रातदिन खट्नुपर्ने बाध्यता अभिभावकको छ । शिक्षा र स्वास्थ्य दिनप्रतिदिन महँगो हुँदै गएको अवस्थामा अभिभावकलाई मात्र गाली गर्नुको पनि धेरै अर्थ हुन्न । तर, जहाँ इच्छा त्यहाँ उपाय हुन्छ । जति समय छ, त्यतिलाई केटाकेटीसँग छलफल, हाँसखेल र रमाइलो गर्न सकिन्छ ।
कति अभिभावक भन्छन्, आमाबुबाको मन छोराछोरीमाथि, छोराछोरीको मन ढुङ्गामुढामाथि । यस्तो नियति भोग्ने अभिभावकको मन सम्हाल्ने कसरी ? विद्यालयको पढाइमा केटाकेटी अनुत्तीर्ण भए अभिभावकले कस्तो प्रतिक्रिया दिन्छन् ? केटाकेटीले काम बिगारे कसरी सम्हाल्ने ? केटाकेटी बरालिए कसरी व्यवस्थापन गर्नुपर्छ ? यी प्रश्न जति सरल छन्, समस्या आइपर्दा उचित उपाय निकाल्न उत्तिकै गा¥हो हुन्छ । फेरि पनि भन्नुपर्छ – अभिभावकलाई सल्लाहसुझाव दिने कुनै सङ्गठित संस्था चाहिन्छ ।
कुनै आधुनिक विद्युतीय सामान किन्दा निर्देशिका वा म्यानुअल दिइएको हुन्छ, हिफाजतसाथ चलाइयोस् भनी । युवाहरू अभिभावक बनेपछि उनीहरूको लागि बच्चा स्याहार्ने, सम्हाल्ने एवम् हुर्काउने उचित तरिकाबारे तालिम वा शिक्षण अत्यन्तै जरुरी हुन्छ ।
अहिले विद्यालय शिक्षाको जिम्मेवारी स्थानीय तहले लिएको अवस्थामा शिक्षाको यथोचित विकासको निम्ति सम्बन्धित तहहरूले अभिभावक शिक्षाका गतिविधि अगाडि बढाउनु आवश्यक छ ।
अझ समाजवादको कुरा पनि गरिरहेका छौँ । समाजवादमा अभिभावक शिक्षा कस्तो हुन्छ ? त्यसका लागि हामी के गर्नसक्छौँ भनेर सोच्नु अनिवार्य छ ।
Leave a Reply