भर्खरै :

भारतमा के प्रतिपक्ष पराजीत भए ?

राना अयुब
छ साता लामो भारतको बहु–चरणको लोकसभा निर्वाचन सकिंदैछ । आइतबार सार्वजनिक एक मत सर्वेक्षण परिणामअनुसार सत्तासीन भारतीय जनता पार्टी (भाजपा) ले लोकसभामा बहुमत हासिल गर्ने देखिएको छ ।
मतपेटिकाभित्र वास्तवमा के छ भन्ने कुरा मे २३ (जेठ ९ गते) सार्वजनिक हुनेछ । परिणाम जे भए पनि भारतका प्रतिपक्ष दलहरू भाजपाका राजनीतिक मुद्दा र उसको राष्ट्रवादी विचारधारालाई प्रभावकारी ढङ्गले चुनौती दिन असफल भएको कुरा भने प्रष्ट भइसकेको छ ।
यो निर्वाचनमा दोस्रोपटक निर्वाचित हुन भाजपासामु मुख्य चुनौती भनेको नेहरू परिवारका चौथो पुस्ताका नेता राहुल गान्धीले नेतृत्व गरेको भारतीय काङ्ग्रेस थियो । सन् २०१४ को लोकसभा निर्वाचनमा आफ्नो पार्टीले नराम्ररी पराजय भोग्नुपरेपछि गान्धीले फेरि एकपल्ट आफूलाई राजनीतिक रूपमा सान्दर्भिक प्रमाणित गर्न र आफूमाथि लागेको कूलीन र जनताबाट विमुख नेताको छविलाई असत्य भएको देखाउन कडा परिश्रम गर्नुप¥यो ।
राहुल नेतृत्वको काङ्ग्रेसले मोदीलाई निष्प्रभावी चौकीदारको रूपमा प्रस्तुत गर्ने रणनीति अवलम्बन गरियो । मोदीलाई ठूला व्यापारी र उद्योगपतिलाई जोगाएको र आम भारतीयको जीवनमा सुधार ल्याउने वचन पूरा गर्न असफल भएको आरोप लगाउँदै राहुलले आफ्ना सबैजसो भाषणको सुरू र अन्त्यमा ‘चौकीदार चोर हो’ को नारा लगाए ।
काङ्ग्रेसले गत साल निकै चर्चामा रहेको ३६ फ्रान्सेली लडाकु जेट विमान खरिदमा भएको भ्रष्टाचार काण्डलाई अघि सारेर लगनशील र इमानदार नेताको मोदीको छविलाई धमिल्याउने लगातार प्रयास गरिरहे । भारतकै र अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले विमान खरिदसम्बन्धी सो (राफेल) काण्डको धेरै चर्चा गरे पनि त्यसले भारतको तल्लो तहका जनतालाई त्यति छुन सकेको देखिएन । भारतका ग्रामिण क्षेत्रको भ्रमणको क्रममा मैले किसान, न्यून आय समूहका मजदुर र कामदारलाई सो काण्डबारे सोध्दा अनविज्ञता देखाए । उनीहरूले त्यो विषयलाई धनीमानीको चासोको विषय बताए ।
काङ्ग्रेसले भाजपाको ध्वङ्सकारी कृषि नीतिको आलोचना गर्दै गरिब जनताको मत तान्ने प्रयत्न ग¥यो । भारतीय जनताले चर्को मूल्य सहनु परेको नोटबन्दी र गरिबी निवारणमा असफलताका कुरा गरेर पनि गरिब जनताको मत आफ्नो पक्षमा ल्याउन खोजियो । काङ्ग्रेसको चुनावी अभियानमा गरिबीको रेखामुनि रहेका परिवारलाई मासिक ८० अमेरिकी डलर दिने प्रतिबद्धताको निकै चर्चा गरियो । तर, कुनै पनि यस्ता रणनीतिले ग्रामीण र सहरी क्षेत्रका गरिब जनताको मतमा उल्लेख्य तलबितल ल्याउन सकेको देखिएन ।
भाजपाले आफूमाथि गरेको धार्मिक हमला र ‘हिन्दूविरोधी’, ‘मुस्लिम पक्षधर’ पार्टीको आरोपको प्रतिकार गर्न काङ्ग्रेसले कडा मिहिनेत गर्नुप¥यो । भारतभरि गैरकानुनी हत्या, बहुमतको बढ्दो दम्भ र अल्पसङ्ख्यक तथा नागरिक स्वतन्त्रतामाथि हमला हुन थालेपछि गान्धीले देशैभरिका प्रमुख हिन्दु मन्दिरहरूको सृङ्खलाबद्ध भ्रमण गरे । अल्पसङ्ख्यकमाथिको हमलाबारे उनी प्रायशः मौन बसे । काङ्ग्रेसमा नरम हिन्दुवादी अवधारणा फेरि फर्केको देखियो । एकजना भाजपाका नेताले भने, “जब असली हिन्दुवादी नेताहरू नै हामीसँग छ भने नक्कली नेतालाई किन मतदान गर्ने ?”
काङ्ग्रेस नेता राहुल स्वयम्मा पनि धेरै प्रकारको बदलाव देखियो । उनीमाथि नयाँ दिल्लीको तुगलक लेन निवासभित्र उच्च घरानाको घेराबन्दीमा रमाइरहेको, कुलीन मित्रहरूसँग रमझममा समय व्यतीत गरेको र मोदीमाथि विपक्ष दलको नेताको हैसियतले खनिनुपर्ने समयमा बिदा मनाउन घुम्न जाने गरेकोजस्ता आरोप लाग्ने गरेको थियो । ती सबै आरोपबीच यो निर्वाचनमा गान्धीले धरातलीय यथार्थसँग जोडिएको नेता बन्न निकै मिहिनेत गर्नुप¥यो ।
विगतमा राहुल गान्धी मिडियामा आउन लजाउने स्वभावका थिए । तर, गएको महिना उनले भारतका अधिकांश सञ्चारमाध्यममा गएर आफ्ना भनाइ राखे । क्षेत्रीय र राष्ट्रिय मिडिया दुवैमा उनी देखिए । उनी सर्वत्र छाएः न्युज वेभसाइट, टेलिभिजन च्यानल, अखबार । अन्तर्वार्ताको लागि आएका सबै अनुरोधलाई उनले सकारे । राहुललाई साथ दिएकी थिइन्, उनकी बहिनी प्रियंका गान्धीले । विशेषतः उत्तर प्रदेशको चुनाव प्रचारमा प्रियंका निकै सक्रियतापूर्वक लागिन् । तर, उनको आगमन ढिला भइसकेको थियो । उत्तर प्रदेशमा भाजपाका कार्यकर्ताले मोदीको पक्षमा गएको दुई वर्षअघि देखि नै अभियान थालिसकेका थिए । त्यस अवस्थामा प्रियंकाको ढिलो आगमनले मतदाताको मनस्थितिमा त्यति उल्लेख्य परिवर्तन गर्न सकेन ।
काङ्ग्रेसको सबभन्दा ठूलो गल्ती भनेको प्रमुख राष्ट्रिय तथा क्षेत्रीय दलहरूसँग साझा मोर्चा बनाउन मिहिनेत नगर्नु वा प्राथमिकता नदिनु थियो । त्यही गल्तीले भाजपालाई चुनावी विजयको ताज लगाइदिने अवस्था बनेको छ ।
नयाँ दिल्लीमा काङ्ग्रेसले अरबिन्द केजरीवालको आम आदमी पार्टीसँग गठबन्धन निर्माण गरेन । वैकल्पिक चुनावी अभियानका साथ सन् २०१४ मा उदाएको आम आदमी पार्टीले नयाँ दिल्लीमा चुनाव जितेको थियो । भारतको राजधानीमा संयुक्त रूपमा चुनावी प्रतिस्पर्धा गर्न दुवै मोदीका आलोचकहरू–राहुल र केजरीवालले आपसी मतभिन्नतालाई एक छेऊ थाती राख्न सकेनन् । फलतः पछिल्लो मत सर्वेक्षणअनुसार नयाँ दिल्लीका सबै सात वटै स्थान भाजपाको पोल्टामा पर्ने देखिएको छ ।
उत्तर प्रदेशका दुई वटा महत्वपूर्ण राजनीतिक खेलाडीहरू–अखिलेश यादवको समाजवादी पार्टी र बहुजन समाज पार्टीका मायावतीसँग मोर्चाबन्दी गर्न काङ्ग्रेसले अस्वीकार ग¥यो । समाजवादी पार्टी र बहुजन समाज पार्टीले अर्को स्थानीय राजनीतिक दल राष्ट्रिय लोक दलसँग मिलेर महागठबन्धन गठन गरे । उत्तर प्रदेशमा मोदीको चुनावी अभियानको लागि काङ्ग्रेसभन्दा त्यही महागठबन्धन शक्तिशाली चुनौती बन्यो । निकै साधारण पृष्ठभूमि (चिया बेच्ने मान्छे) बाट आएको भन्ने मोदीको छविको लागि मायावतीको छवि सबभन्दा खतरनाक सांस्कृतिक र राजनीतिक चुनौती थियो । मायावती दलित हुन् । उनी तल्लो जातिका प्रतिनिधि आवाज मानिन्छिन् । उनका बुबा एक जना टेलिफोन अपरेटर थिए । उनले जातीय उचनिच तथा पितृसत्ताविरुद्ध लडेकी थिइन् । जसले उनलाई आज भारतका सबभन्दा महत्वपूर्ण दलित नेतृ बनाएको छ ।
उत्तर प्रदेशमा महागठबन्धनले भाजपाका केही स्थान ‘चोर्न’ सक्छ । तर, काङ्ग्रेसको अलग उपस्थितिले विपक्ष खेमाको मतमा विभाजन ल्याउन सक्छ । त्यसको फाइदा सत्तासीन पार्टीलाई हुनेछ ।
भाजपालाई प्रभावकारी चुनौती दिन नसक्ने विपक्ष दलमा काङ्ग्रेस एक्लै मात्र पक्कै होइन । पश्चिम बङ्गालमा काङ्ग्रेसबाट अलगिएर ममता बेनर्जीको नेतृत्वमा बनेको त्रिणमुल कांग्रेस भाजपाको प्रमुख चुनौती थियो ।
पश्चिम बङ्गालमा भाजपाले एउटै मुद्दाका आधारमा चुनाव जित्न खोजेको देखिन्छ–बङ्गलादेशी आप्रवासीको ‘खतरा’ । पश्चिम बङ्गालका मुसलमान अल्पसङ्ख्यकहरूलाई खुशी बनाउन भाजपाले बेनर्जीमाथि ‘घुसपैठिया’ हरूलाई संरक्षण गरेको आरोप लगाउँदै आएको छ । निकै शक्तिशाली र स्पष्ट वक्ता मानिएकी त्रिणमुल काङ्ग्रेसकी नेतृ बेनर्जीले सत्तासीन दललाई चुनौती दिएकी छिन् । तथापि उनको अभियानले भाजपाको राजनीतिक गतिलाई रोक्न भने सकेको छैन ।
मत सर्वेक्षणअनुसार यसअघि पश्चिम बङ्गालमा दुई स्थानमा चित बुझाउनु परेको भाजपाले यो पटक दुई अङ्क (दसभन्दा माथि) मा स्थान जित्ने सम्भावना देखाएको छ । लामो समय वामपन्थी पार्टीको आधार मानिएको पश्चिम बङ्गालमा भाजपाको यो विजय अभूतपूर्व हुनेछ । भाजपाको बसाई–सराईविरोधी नीति र अभियानले पश्चिम बङ्गालमा मात्र काम गरेको छैन । छिमेकी आसाम राज्यमा पनि त्यो अभियानले ठूलो परिणाम निकाल्ने देखिन्छ । भाजपाले आसाममा ठूलो विजय हासिल गर्ने देखाएको छ ।
दक्षिण भारतमा भाजपा कहिल्यै पनि बलियो शक्ति बनेको थिएन । यो चुनावमा पनि दक्षिण भारतमा भाजपाले काङ्ग्रेसले जस्तै चुनावी गठबन्धनमा सहयोगी भूमिका मात्र खेलेको देखिन्छ । त्यहाँ राहुल गान्धीसँग मोर्चाबन्दी गरेका अधिकांश दलले राम्रै चुनावी सफलता हासिल गर्ने देखिए पनि आन्द्र प्रदेशमा जगन रेड्डीको वाईएसआर काङ्ग्रेस पार्टीले अन्ततः भाजपालाई संसदमा सहयोग गर्ने अपेक्षा गरिएको छ ।
यदि मत सर्वेक्षणको नतिजा समग्रमा सत्य भए भाजपाले काङ्ग्रेसलाई मात्र होइन, बलियो प्रतिपक्ष मानिएका क्षेत्रीय राजनीतिक दलहरूलाई पराजीत गर्ने देखिएको छ ।
काङ्ग्रेसका संयन्त्रहरूले अहिले नै पार्टी पराजीत हुनेमा दुःख मनाउ गर्न थालिसकेका छन् । केहीले उच्चपदस्थ नेता र तिनका वरपरका मानिसहरूलाई यसको निम्ति दोषारोपण गरिरहेका छन् । मोदीको राष्ट्रपति शैलीको निर्वाचन अभियानका कारण भारतीय सहरको विभाजित मनस्थितिलाई काङ्ग्रेस नेताहरूले बुझ्न नसकेको उनीहरूको आरोप छ । काङ्ग्रेसले सत्तासीन दलको राष्ट्रवादी प्रचारलाई चुनौती दिन नसकेको र भाजपाविरुद्ध संयुक्त मोर्चा गठन गर्न नसकेको महसुस गरिरहेको छ ।
भाजपाले आफ्ना अतिराष्ट्रवादी प्रचारमा विपक्षीलाई फसाइरहेको देखिन्छ । काङ्ग्रेस र अन्य दलहरू भाजपाको सो भनाइको प्रतिकार गर्नमै बढी समय व्यतीत गरेको देखियो । मोदीको सर्जिकल हमलासम्बन्धी चर्चाको खण्डन गरेरै उनीहरूले समय बिताए । त्यही अलमलमा उनीहरूले जनताको आवाज सुन्ने समय नै पाएनन् ।
चुनावको विषयमा गरिएका मत सर्वेक्षण विगतमा असत्य भएका धेरै उदाहरण पनि छन् । सन् २००४ मा गरिएको त्यस्तै मत सर्वेक्षणले काङ्ग्रेस चुनावमा हार्ने पूर्वानुमान गरेको थियो । तर, २००४ भन्दा फरक अहिले मानिसमा भाजपाबाहेक देश हाँक्न सक्ने अर्को दल नभएको सोच व्याप्त छ । राहुल गान्धीले निकै मिहिनेत गरे । उनका अन्य सहयोगी दलहरूले पनि मिहिनेत गरे । तर, भारतीय मतदातालाई देशले तत्काल मागेको आर्थिक र सामाजिक सुधारको लागि राहुल विकल्प हुन सक्नेमा विश्वास गर्न सकेका छैनन् ।
विपक्षीहरूले हार खाइसकेका छैनन् । उनीहरूले मत सर्वेक्षणको परिणाम अस्वीकार गरेका छन् । उनीहरू मे २३ को परिणामको प्रतिक्षामा छन् ।
स्रोतः अलजजिरा
नेपाली अनुवादः नीरज

Leave a Reply

Your email address will not be published. Required fields are marked *