भर्खरै :

नाफा जति उद्योगपतिको खल्तीमा, विद्युत् शुल्क नेपाली जनताको थाप्लोमा ?

सुविज्ञा थापा
नेपाल मात्रै यस्तो देश हो जहाँ दुई र दुई जोड्दा योगफल शून्य पनि आउन सक्छ । नेपाल यस्तो देश हो जहाँ मान्छेको ज्यान लिएका हत्याराहरू मन्त्री, न्यायाधीश र प्रहरीसँगसँगै विशिष्ट भएर घुम्न पाइन्छ र पीडितहरू डराई डराई बस्नुपर्छ र न्याय माग्न आमरण अनशन बसेर प्राणसमेत त्याग्नुपर्छ । नेपालमा यस्ता अन्यायपूर्ण विशेषता देशको हरेक क्षेत्रमा देख्न सुन्न पाउँछौं ।
अहिले नेपालका कथित उद्योगी, व्यापारी र व्यवसायकर्ताहरू एउटै अडानमा एकमुख भएर बोलिरहेका छन् – हामीले उपभोग गरेको करोडौं रूपैयाको विद्युत महशुल हामी तिर्दैनौं, त्यो महशुलको भार सर्वसाधारण नेपाली जनताको थाप्लोमा पार्नुपर्छ ।
नेपालको विद्युतको सर्वाधिकारप्राप्त निकाय – नेपाल विद्युत प्राधिकरणले केही वर्ष आगाडिदेखि सर्वसाधारण नेपाली जनतालाई अँध्यारोमा राखेर उद्योग, कारखाना, सरकारी तथा निजी अस्पताल, होटल आदिलाई डेडिकेटेड तथा ट्रङक लाइन भनेर विद्युत कटौती नहुने विद्युत लाइनमार्फत विद्युत उपलब्ध गराउँदै आएको थियो । त्यस्ता विशेष विद्युत लाइन प्राप्त गरेका केही उद्योग र व्यवसायहरूले त्यसबापतको विद्युत महशुल तिरे भने आधाभन्दा बढीले महशुल तिर्न आनाकानी गर्दै वर्षौं बिताए । जब विद्युत प्राधिकरण आफै घाटामा जान लाग्यो, प्राधिकरण तातेर महशुलका लागि ताकेता गर्न थाल्यो । विद्युत प्राधिकरण तातेपछि विद्युत महशुल नतिरेका उद्योगी र व्यवसायीहरूले आफ्नो प्रभावको दुरूपयोग गरी नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घलगायत सङ्घहरूलाई महशुल मिनाहाको पक्षमा उतारेका छन् ।
उद्योग–व्यवसाय घाटामा जान र बन्द हुनबाट रोक्न आफ्नो सहर गाउँवस्ती अँध्यारोमा राखेर उद्योग–व्यवसायलाई डेडिकेटेड तथा ट्रङक लाइन दिएर विद्युत उपलब्ध गराउँदा पनि सर्वसाधारण जनताले सहेकै थिए । त्यसबाट नियतवश घाटा देखाएका बाहेक उद्योगी व्यवसायीले सन्तोषप्रद रूपमा नाफा पनि आर्जन गरेकै छन् । अहिले आएर आफूहरूले उपभोग गरेको विद्युतको महशुल समेत तिर्दैनौं भन्नु कुन व्यवसायिक आचरण हो ? ती उद्योगी–व्यवसायीहरूले नतिरेपछि स्वाभाविक रूपमा त्यसको भार नेपाली जनतामाथि आउँछ । अनि के नाफा जति उद्योगपतिको खल्तीमा, विद्युत शुल्क नेपाली जनताको थाप्लोमा ? यसबारे वर्तमान शासक राजनीतिक पार्टीहरू र सरकार स्वयम्ले पनि केही बोल्न सकेका छैनन् । उद्योगी–व्यवसायीहरूको नुन मुखमा परेकोले सायद उनीहरूको विपक्षमा बोल्न नसकेका होलान् तर त्यसो गरेर नेपाली जनताको विश्वास र आशामाथि घात गरिरहेको तथ्य सचेत नेपाली जनताले भुल्ने छैन । जनमतको आधारमा बनेका पार्टी र सरकार जनमतकै आधारमा चल्नुपर्छ, अन्यथा ती विश्वासघाती र दलालमात्र रहन जानेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *