भर्खरै :

सुविविका सबै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी

कञ्चनपुर, ७ जेठ । सुदूरपश्चिम विश्वविद्यालयअन्तर्गतका क्याम्पसमा प्राध्यापक र कर्मचारीले सबै क्याम्पसका प्रमुखको कार्यकक्षमा आज तालाबन्दी गरेका छन् । विश्वविद्यालयअन्तर्गतका शिक्षक कर्मचारीले आफूहरूले तलबभत्ता नपाएको भन्दै तालाबन्दी गरेका हुन् ।
सरकारको निर्णयानुसार समायोजन गरेका १४ क्याम्पसमा कार्यरत २१७ शिक्षक कर्मचारीले विगत ११ महिनादेखि तलब पाएका छैनन् । “राजनीतिक दाउपेचको शिकार बनेको सुदूरपश्चिम विश्वविद्यालय पछिल्लोपटक यस्तै अस्थिरताका कारण सङ्कटमा परेको छ”, सुप विश्वविद्यालय प्राध्यापक सङ्घ टीकापुर बहुमुखी क्याम्पस एकाइ समितिका सभापति रामप्रसाद तिवारीले भन्नुभयो ।
उहाँले विश्वविद्यालयको आङ्गिक टीकापुर बहुमुखी क्याम्पस प्रमुखको कार्यकक्षमा मङ्गलबार सङ्घले तालाबन्दी गरेको बताउनुभयो ।
एकाइ समितिका सभापति तिवारीले यसै आर्थिक वर्षको साउन १ गतेदेखि १४ क्याम्पसमा समायोजन नियुक्ति पाएका शिक्षक कर्मचारीको तलब भत्तालगायतको बजेट विश्वविद्यालयसभाबाट पारित भए तापनि हाल नपाएकाले तालाबन्दी गर्न बाध्य भएको बताउनुभयो । “एक हप्तामा समस्या समाधान नगरिए क्याम्पसको प्रशासनिक तथा शैक्षिक क्रियाकलाप बन्द गर्छौँ”, तिवारीले भन्नुभयो ।
सुदूर पश्चिम विश्वविद्यालयका निमित्त रजिष्ट्रार डा. गोविन्दसिंह विष्ट भने विश्वविद्यालय सभाको बैठकपछि समायोजनका सबै समस्या समाधान हुने बताउनुहुन्छ ।
डा. विष्टले विश्वविद्यालय सभाको निर्णयानुसार भत्ता र सञ्चयकोष हुने गरी अहिले आधारभूत तलब क्याम्पसको खातामा निकासा गरिसकिएको बताउनुभयो । कार्यकारी परिषद्ले समायोजन भएका शिक्षक कर्मचारीका लागि असहज नहुने गरी सभामा प्रस्ताव लैजाने आश्वासन आफूहरूले दिएको भए पनि प्राध्यापक र कर्मचारीले नमानेको विष्टले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *