भर्खरै :

साउदी विमानस्थलमा यमनी विद्रोहीको ड्रोन आक्रमण

साना, ७ जेठ (सिन्ह्वा) । यमनका हुथी विद्रोहीहरूले साउदी अरेबियाको सीमावर्ती सहर नजरानस्थित नजरान सैनिक बिमानस्थलको हातहतियार भण्डारणमा ड्रोन आक्रमण गरेका छन् ।
हुथी विद्रोहीद्वारा सञ्चालित अल–मासिराह टेलिभिजनले कासिफ–के २ ड्रोनबाट गरिएको आक्रमणबाट हतियार भण्डारमा आगो लागेको दाबी गरेको छ ।
यसैबीच साउदी समर्थित गठबन्धनका प्रवक्ता कर्णेल टुर्की अल–मलेकीले विस्फोटक पदार्थ बोकेको ड्रोनबाट नजरान विमानस्थललाई लक्षित गरी आक्रमण भएको बताउनुभयो ।
साउदी अरेबियाले पश्चिमी सहरहरू जेद्दाह र ताइफलाई लक्षित गरिएका ब्यालेस्टिक क्षेप्यास्त्रहरू ध्वस्त बनाएको दाबी गरेकै भोलिपल्ट नजरानमा हुथी विद्रोहीबाट ड्रोन आक्रमण भएको हो ।
हुथी विद्रोहीहरूले यमनमा युद्ध भडकिएदेखि नै साउदी अरेबियाका विभिन्न सहरहरूलाई लक्षित गरी आक्रमण गरिरहेका छन् ।
आइतबार, इरान समर्थित हुथी विद्रोहीहरूले साउदी अरेबिया र संयुक्त अरब इमिरेट्समा रहेका ३ सय वटा महत्वपूर्ण सैनिक ठेगानाहरूमा आक्रमण गर्ने चेतावनी दिएको छ । हुथी विद्रोहीले साउदी गठबन्धनले यमनमा आक्रमण गर्न छाडेमात्र आफूहरूले पनि आक्रमण रोक्ने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *