भर्खरै :

आपसमा सिक्नु – सिकाउनु नै एसियाली सभ्यता हो

चाय वेनसान
एसियाली इतिहासमा आपसमा सिक्ने र सिकाउने समृद्ध र बलियो परम्परा छ ।
एसियाका प्रमुख तीन शक्तिहरू चीन, भारत र जापानलाई यसको उदाहरणको रूपमा लिन सकिन्छ । प्राचीनकालमा चीनले भारतबाट बुद्ध दर्शन सिक्यो । ताङ शासनकाल (६१८–९०७) को चिनियाँ सभ्यताबाट जापानले सिक्यो । सन् १९८० दशकपछि चीनले जापानको आधुनिकीकरणको अनुभव आफ्नो हितमा प्रयोग गर्न थाल्यो । चीनको आर्थिक विकास र जनजीवनको प्रगतिबाट भारतले सिक्यो । एसियाली सभ्यता यतिबेला एउटा अर्को नयाँ चरणमा प्रवेश गरेको देखिंदैछ–एकआपसमा एकै साथ सिक्ने र सिकाउने युग । चीनले अरू सभ्यताबाट पनि पाठ सिक्न सक्छ । साथै आफ्ना अनुभव पनि चीनले अरूलाई सिकाउन सक्छ ।
उदाहरणको लागि चीन र जापानलाई लिऔँ । प्राविधिक अनुसन्धान, ब्रान्ड (औद्योगिक उत्पादन चिन्ह) विकास गर्ने चेतना र आफ्नो संस्कृतिको प्रचारसम्बन्धी जापानी सक्रियता सिक्न लायकको छ । त्यस्तै आफू स्वयम्मा निर्भर हुने र समावेशितासम्बन्धी चिनियाँ अनुभव जापानले सिक्न सक्छ । पश्चिमाहरूको सङ्गतमा जापान एसियाबाट टाढा जान खोजिरहेको छ । जापानले आजको नयाँ युगमा एउटा प्रभावकारी एसियाली राष्ट्रको रूपमा आफ्नो पहिचान पुनः बनाउन सक्नुपर्छ ।
भारतसँग मनग्य भावनात्मक स्रोत छन् । सुधार र खुलापनयता चीनले आफूलाई आर्थिक विकासमा केन्द्रित गरेको छ । तर, समाजको भावनात्मक सभ्यता निर्माणलाई चीनले केही हदसम्म उपेक्षा गरेको छ । निःसन्देह हामीले माक्र्सवादलाई हाम्रो आफ्नो राजनीतिक सिद्धान्तको रूपमा अङ्गिकार गर्दै आएका छौँ । तथापि चीनले भारतको विविध र समावेशी भावनाबाट सिक्न जरुरी छ ।
चीनको सुधार र खुलापन नीतिको कारणले आर्थिक विकासको सन्दर्भमा भारतभन्दा चीन कम्तीमा पनि २० वर्ष अघि बढ्न मद्दत गरेको छ । तसर्थ, भारतले चीनको लगानीमात्र आकर्षण गरिरहेको छैन । बरु चीनको अनुभवबाट पनि सिकिरहेको छ ।
एसियाका अन्य सभ्यतालाई पूर्वाधार निर्माण र गरिबी उन्मूलनसम्बन्धी आफ्ना अनुभव प्रदान गर्नुका साथै चीनले बेल्ट एन्ड रोड परियोजना (बीआरआई) को प्रस्ताव पनि अघि सारेको छ । बीआरआई परियोजना एसियाको लागि सबभन्दा बढी फाइदा पु¥याउने परियोजना हो । एसियाका धेरै देशहरूले चीनको आह्वानलाई सकारिसकेका छन् । भारत भने त्यसको अपवाद बनेको छ । एसियाको एउटा प्रमुख शक्ति हुनुको नाताले आफ्नो आर्थिक विकासको लागि बीआरआईमा सहभागी नबन्ने आफ्नो पूर्व अडानमा भारतले पुनर्विचार गर्नुपर्छ । जापानले एक समय ‘अखिल–एसियावाद’ (पान–एसियानिज्म) कार्यक्रम प्रस्ताव गरेको थियो । तर, दुर्भाग्य त्यो कार्यक्रम उसको सैनिकवादको सैद्धान्तिक आधारमा परिणत भयो । भारतका कवि तथा नोबेल पुरस्कार विजेता रवीन्द्रनाथ टैगोरले ‘अखिल–एसियावाद’ को विचार अघि सार्नुभएको थियो । ‘अखिल–एसियावाद’ को विषयमा छलफल पुनः प्रारम्भ गर्ने समय आएको छ ।
नयाँ अखिल–एसियावादलाई कुनै एउटा देशले मात्र पक्षपोषण गर्नुभन्दा सबै एसियाली देशले समर्थन गर्नुपर्छ । सबै एसियाली सभ्यताको हितका लागि त्यो अन्तदेशीय र सहज हुनुपर्दछ ।
पश्चिमका धेरै मानिस एक्काइसौँ शताब्दी एसियाको शताब्दी हुने विश्वास गर्छन् । एक्काइसौँ शताब्दी अथवा ‘एसियाली शताब्दी’ लाई चीनद्वारा प्रस्तावित बीआरआई र एसियाली भूमण्डिलीकरणले चरित्र चित्रण गरेको छ ।
केही विदेशी शक्तिहरूले एसियाको नेतृत्व गर्न नखोजेका होइनन् । विशेषतः संरा अमेरिका र उसका पिछलग्गू देशहरूले त्यस्तो प्रयास गरेका थिए । तर, एसिया एसियालीहरूकै हुनुपर्ने कुरा सबभन्दा पहिले स्पष्ट हुनुपर्दछ । हामी एसियालीले आफ्नो भविष्यको खाका आफैले कोर्नुपर्छ र कुनै विदेशी शक्तिलाई यो क्षेत्रको भविष्य नियन्त्रण वा ध्वंस गर्न दिनुहुन्न ।
एसियाको भविष्यको एउटै मात्र विकल्प भनेको समृद्धि र सद्भाव आदानप्रदान गर्नु हो । यो लक्ष्य प्राप्तिको लागि एसियाली देशहरू एकजुट हुनुपर्छ । शिक्षा, व्यापार र अन्तर्राष्ट्रिय प्रशासनमा आपसी संवाद, सम्बन्ध विस्तार र सहकार्य गर्नुपर्छ । विशेषतः बीआरआई परियोजनाअन्तर्गत यो काम गर्न सम्भव छ । एसियाली देशहरूबीच साझा भविष्यको लागि एसियाली समुदाय गठन गर्न पनि सम्भव छ ।
साझा भविष्यको लागि एसियाली समुदायले साझा भविष्यको लागि सिङ्गो मानव जातिको समुदाय निर्माण गर्ने मूर्त जग बसाल्न सक्छ । एकपक्षवाद र प्रभुत्ववाद प्राचीन एसियाली इतिहासमा कहिल्यै अस्तित्वमा थिएनन् । आधुनिक समयमा एसियाली सभ्यताहरूबीच मुस्किलले कुनै युद्ध भयो । एसियामा सभ्यताको निर्माण नै प्रमुख कार्य बन्दै आएको छ । तर, आधुनिक इतिहासमा पश्चिमा उपनिवेशवादकै कारण एसियालाई एकताबद्ध हुन गा¥हो भयो ।
युरोपले पनि युरोपेली समुदाय निर्माणको कोसिस गरेको थियो । तर, त्यो प्रयासले हजारौँ हन्डर खानुप¥यो । धैर्यता नै एसियाली मूल्यमान्यता हो । सामूहिक कार्य र सहकार्य नै एसियाली शैलीको विशेषता हो । त्यसकारण युरोपको तुलनामा एसियाको समुदाय निर्माण गर्न सजिलो हुनेछ । एसियाली देशहरूले आफ्ना मौलिक सांस्कृतिक मूल्यको खोजी गरी अघि बढाउनुपर्छ । साथै, सहअस्तित्व र सहसमृद्धिमा आधारित एसिया निर्माण गर्न ती मूल्यमान्यतालाई संस्थागत गर्नुपर्छ । एसियाले बीआरआईको दबुमार्फत साझा भविष्यको लागि क्षेत्रीय समुदाय निर्माण गर्नुपर्छ । अनि मानव जातिको साझा भविष्य निर्माणको लागि साझा समुदाय निर्माण गर्न योगदान गर्नुपर्छ ।
बीआरआई आपसी सम्बन्धमा आधारित मञ्च हो । यो कुनै शून्य परिणाममा टुङ्गिने खेल होइन । आपसी सम्बन्ध भनेको समानता, आपसी सहायता, आपसी सहिष्णुता, आपसी समझदारी र आपसी सिकाइको सम्बन्ध हो । यो साझा भविष्य बोकेका मानव समुदायको दार्शनिक आधार हो ।
पछिल्ला दिनहरूमा संरा अमेरिकाले ‘सभ्यताको द्वन्द्व’ को कुरा खुबै गरिरहेको छ । वास्तवमा यो संरा अमेरिकाका मुठ्ठीभर राजनीतिक नेताहरूको रणनीतिक चालबाजी मात्र हो । यो उनीहरूको अवस्तुगत परिकल्पना मात्र हो । यो कुनै सभ्यताको सिद्धान्त होइन । यसले जनताको अभिमतको प्रतिनिधित्व गर्दैन ।
(लेखक चापमान विश्वविद्यालयको सूचना कलेजका प्राध्यापक हुनुहुन्छ । साथै चीनको रेनमिन विश्वविद्यालयको विकास र रणनीति राष्ट्रिय प्रतिष्ठानका रिसर्च फेलो हुुनुहुन्छ ।)
स्रोतः ग्लोबल टाइम्स
अनुवादः सुशिला

Leave a Reply

Your email address will not be published. Required fields are marked *