भर्खरै :

श्रीलङ्काको सङ्कटकाल थप नलम्बिने राष्ट्रपति सिरिसेनाको भनाई

कोलम्बो, जेठ १३ (रासस/एएफपी) : श्रीलङ्कामा एक महिनाभित्र कडा सङ्कटकालीन कानूनलाई विस्तारै खुकुलो पार्ने राष्ट्रपति मैत्रीपाला सिरिसेनाले सोमबार बताउनुभएको छ ।
राष्ट्रपति सिरिसेनाले इस्टर वम आक्रमणपछिका हालसम्म आइपुग्दा देशको सुरक्षा अवस्था ‘९९ प्रतिशत सामान्य अवस्थामा पुगेको’ बताउँदै अव सङ्कटकालीन कडा कानूनको औचित्य समाप्त भएको बताउनुभयो ।
मैत्रीपाला सिरिसेनाले कोलम्बोस्थित अष्ट्रेलिया, क्यानडा, जापान, अमेरिका र यूरोपेली मुलुकहरूका कूटनीतिज्ञहरूसँग कुरा गर्दै उहाँले भन्नुभयो,“श्रीलङ्काको सुरक्षाकर्मीले गत अप्रिल २१ गते इस्टर पर्वका समय गरिएको आक्रमणमा सहभागी तथा जिम्मेवार सबैलाई सुरक्षा नियन्त्रणमा लिई अनुसन्धान अघि बढाउन सफल भएको बताउनुभयो ।
राष्ट्रपति सिरिसेनाले गत महिनाको वम आक्रमण, जसमा २५८ जनाको मृत्यु र ५०० घाइते भएका थिए, का दोषीलाई पक्राउ गर्न र दोषीलाई जेल चलान गर्नका लागि सम्पूर्ण शक्ति सेनामा निहित गरेको थियो ।
तीन छुट्टाछुट्टै गिर्जाघर र सुविधासम्पन्न होटेलमा एकै दिनमा गरेको आक्रमणमा स्थानीय जिहादी समूह नेशनल तोहित जमात (एनटीजे) लाई दोषी ठहर गर्दै आक्रमण पछि उक्त समूहलाई प्रतिबन्ध लगाइएको छ ।
“सङ्कटकाल तत्कालको सुरक्षा अवस्थालाई मध्यनजर गर्दै घोषणा गरिएको थियो,” राष्ट्रपतिको कार्यालयले सिरिसेनालाई उद्धृत गर्दै उल्लेख गरेको छ ।
“तर, थप समय सङ्कटकाल लम्ब्याउनुपर्ने अवस्था नरहेको देखिएको छ ।”
श्रीलङ्काको कानून अनुसार एक पटकमा बढीमा एक महिनाका लागि सङ्कटकाल घोषणा गर्न सकिन्छ । राष्ट्रपतिले सङ्कटकालको अवधिलाई गत मे २२ मा पुनः एक महिनाका लागि भन्दै थप गरिसक्नुभएको छ ।
सिरिसेना, जसले रक्षा, कानून मन्त्रालयको कार्यभार आफैमा निहित राख्नुभएको छ, ले सुरक्षा बललाई पुनः संरचना गरिएको र अव मुलुकमा आतङ्कवादी आक्रमणको सम्भावना नरहेको दावी उक्त अवसरमा गर्नुभयो ।
सिरिसेनाले दोहोराउनुभयो, “आक्रमणमा सम्लग्न रहेको भेटिएका दोषीहरू कि त मारिएका कि पक्राउ परिसकेका छन् ।”
प्रहरीका अनुसार घटनामा सम्लग्न रहेका १० महिलासहित १०० जनाभन्दा बढी जेल चलान भइसकेका छन् । सुरक्षाकर्मीले अरोपित थप १०० जनालाई गत बिहीबारदेखि शुरूभएको चारदिने ‘कर्डन–एण्ड–सर्च’ सुरक्षा अपरेसनमा पक्राउ गरिएको बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *