भर्खरै :

के मोदीको पुनःसत्तारोहण नेपाल र नेपालीको हितमा होला ?

–सुरजसिंह
भारतमा हालै सम्पन्न लोकसभा निर्वाचनमा भारतीय जनता पार्टी र उक्त पार्टीको नेतृत्वमा बनेको चुनावी गठबन्धनले अत्यधिक बहुमत प्राप्त गरेको छ । निर्वाचनमा कसलाई मत दिने या जिताउने भने निर्णय भारतीय जनताको हो, त्यसमा हामी नेपाली जनतालाई केही भन्नु छैन । तर भारतीय सरकारी अधिकारी, कर्मचारी र प्रहरी तथा सुरक्षा बलको नेपाल र नेपाली जनताप्रतिको हेपाहा व्यवहारको निम्ति भन्ने भारत र भारतीय सरकारलाई आलोचना र विरोध गर्न हामी बाध्य छौँ ।
नरेन्द्र मोदी बहुमत प्राप्त भारतीय जनता पार्टी संसदीय दलको नेता चयन भएकै दिन भारतीय पक्षले कोसी नदीको धार पूर्वसूचना नदिई फर्काउँदा सप्तरी जिल्लामा पर्ने गोबरगाढाका बासिन्दा डुबानमा परे । कोसीको धार पूर्वबाट पश्चिमतर्फ फर्काउन भारतले भँगालो छुट्याएको रहेछ । त्यही भँगालोमा शुक्रबार नेपाली पक्षलाई थाहै नदिई कोसी फर्काउँदा गोबरगाढाका बासिन्दा डुबानमा परे । उनीहरू त्यहाँबाट बाहिर जानआउन नसक्ने अवस्था उत्पन्न भएको छ । भँगालोमा पानी हालेपछि अर्थात् शुक्रबारबाटै गोबरगाढाका बासिन्दा कोसीको भँगालाको बीचमा थुनिएका छन् । गोबरगाढालगायत किनारका बासिन्दाका लागि कोसीको बाढी र त्यसको कहर नौलो घटना हैन । तर, यसपटक भने प्रकृतिले भारतीय पक्षको ज्यादतीका कारण नेपालीले सास्ती र नोक्सानी सहनु परेको हो । कोसीको पानीको बेग अहिले पूर्वतर्फ छ । त्यसलाई पश्चिमतर्फ फर्काउन भारतले ‘पाइलट च्यानल’ बनाएको छ । त्यो च्यानल बनाउन नेपालसँग सहमति लिएको वा दिएको सार्वजनिक भएको छैन । त्यसैले भारतले कोसीको प्राकृतिक बहाव बदल्न एकतर्फीरूपमा तटबन्ध र नहर बनाएको देखिन्छ । सीमा क्षेत्रमा यसरी दुवै पक्षको सहमतिविना प्राकृतिक बहाव बदल्ने र अर्को मुलुकका जनतालाई सास्ती हुने कार्य गर्न अन्तर्राष्ट्रिय कानुनले निषेध गरेको छ । भारतले सधैँ नै र सबैतिर अन्तर्राष्ट्रिय सन्धि, सम्झौता र अनुबन्धहरूको बेवास्ता गर्दै नेपालको सीमा क्षेत्रमा एकतर्फी बाँध, नहर, तटबन्ध र सडक बनाउँदै आएको छ अर्थात् नेपाललाई हेप्दै र थिचामिचो गर्दै आएको छ । नेपालको सीमावर्ती क्षेत्रमा भारतको हेपाहा प्रवृत्तिकै कारण बर्सेनि हजारौँ जनसङ्ख्याले डुबानको सास्ती भोग्नुपरेको छ ।
त्यसको एक दिनअघि प्रदेश नं. ३ को राजधानी रहेको हेटाँैडा सहरसम्म पशुपति दर्शन गर्ने बहानामा भारतीय प्रहरीका अधिकारीहरूको एक टोली भारतीय प्रहरीको पोशाकमै हतियारसहित आएको थियो । तिनीहरूलाई पक्राउ गरी बिनाकानुनी कारबाही फिर्ता पठाइएको थियो ।
वीरगञ्ज नाकालगायत वीरगञ्ज–हेटाँैडाबीचमा खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरी टोलीले कुन प्रभावमा परेर तिनीहरूलाई रोकेनन् ? छानबिनको विषय छ । केही हप्ताअगाडि नेपाली जनतालाई मात्र होइन प्रहरीलाई समेत भारतीय प्रहरीका अधिकारी र सीमा सुरक्षा बलका अधिकारीहरूद्वारा कुटपिट र दुव्र्यवहार भएको समाचार आएको थियो । मोदी सत्तामा रहँदा र पुनः सत्तारोहन गर्न लागिरहँदा देखिएका यस्ता घटनालाई देखेर नेपाली जनमानसमा एउटा प्रश्न तड्कारो रुपमा उठिरहेको छ –के मोदीको पुनः सत्तारोहण नेपाल र नेपालीको हितमा होला ? यस प्रश्नको जवाफ भारतको नयाँ सरकारको नीति, निर्णय र कामकारबाहीबाट प्रस्ट हुँदै जानेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *