जनतालाई उत्पादन बढाउन उत्साहित गरेमा देशको अर्थतन्त्र चलायमान हुने
- श्रावण १, २०८३
– दानबहादुर कपाली
संविधानसभाको निर्वाचनपछि २०६५ जेठ १५ गते राजतन्त्रको अन्त्य र गणतन्त्रको घोषणा भयो । गणतन्त्र घोषणा भइसकेको पनि एक दशक नाघिसक्यो । गणतन्त्र घोषणा हुनुको अर्थ सामन्ती व्यवस्थाको अन्त्य हो । तर, सरकारले नेपाली जनतालाई गणतन्त्र स्थापनाको अनुभूति दिन सकेको छैन । व्यवस्था सङ्घीय गणतन्त्रात्मक भए पनि कार्यशैली र सरकारको व्यवहार सामन्ती शैलीकै देखिन्छ । सामन्ती अवशेषहरू फाल्दै गणतन्त्रलाई सबल र सुदृढ बनाएर संस्थागत गर्नुपर्ने हो । गणतन्त्र स्थापनापछि जनतामा खुसी छाउनुपर्ने हो । समाजवादउन्मुख देशमा समाजवादउन्मुख बजेट तथा नीति तथा कार्यक्रम ल्याएर जनतालाई राहत दिनुपर्ने हो । कम्युनिष्ट पार्टीको सरकार भन्ने नेकपाले संविधानको मर्मअनुसार काम गर्न नसक्नु सरकारको कमजोरी हो । राजश्री शैलीको सवारी, पूजापाठ, ‘मेरो सरकार’ को सम्बोधन गणतान्त्रिक देशमा सुहाउँदैन । सच्याइनुपर्ने राष्ट्रपतिको उक्त राजश्री शैलीको गतिविधिलाई समर्थन गरेर प्रमले झन् बढावा दिएर गणतन्त्रको उपहास गरे । पानीजहाज कार्यालयको उद्घाटन गरेर र रेल ल्याउने बखान गरेर गणतन्त्र संस्थागत हुँदैन । जनतामा गणतन्त्रात्मक अनुभूति दिन सर्वप्रथम विद्यमान सामन्तवादका अवशेषहरू विभिन्न नीति निर्माण बनाएर अन्त्य गरिनुपर्छ र त्यो व्यवहारमा ल्याइनुपर्छ । सरकार त अभिमानीको भ¥याङमा चढेर नियमनको नाउँमा मेडिया काउन्सिल र मानव अधिकार आयोगलाई नियन्त्रण गर्ने प्रयास गरेको छ । सेनासम्बन्धी अधिकारलाई प्रमले आफ्नो नियन्त्रणमा राख्ने काम गरेका छन् । जुलुस प्रदर्शन र घेराउ गर्ने अधिकारलाई साँगुरो बनाइएको छ । के अधिकारलाई कुण्ठित बनाउँदै अघि बढ्नु गणतन्त्रात्मक सरकारको चरित्र हो ?
विधिको शासन र सुशासन नेता र मन्त्रीहरूको मुखमा मात्र केन्द्रित छ । भ्रष्टाचार र अनियमितताको घेरा चौडा बन्दै छ । हत्या, हिंसा र बलात्कारका घटनाहरू बढ्दै छन् । बेथिति र अराजकताको नियन्त्रण गर्न सकेको छैन । देश परनिर्भर हुँदै छ । व्यापार घाटा बढ्दो छ । जनताका आधारभूत आवश्यकता पूरा गर्न सकेको छैन । संवैधानिक व्यवस्था भएअनुसार माविसम्म निःशुल्क शिक्षा भइरहेको छैन । स्वास्थ्योपचारको निम्ति नेता, मन्त्रीहरू विदेश जाने क्रम रोकेको छैन । कारबाही गर्नुपर्ने कालाबजारी, घूसखोरी, गुण्डागर्दीहरू शासकको घेरामा सुरक्षित छन् । सरकार विदेशी शक्ति राष्ट्रको उठबसमा उभिरहेको छ । नेपाल विदेशीले परेड खेल्ने भूमि बनिरहेको छ । सरकार आर्थिक सहयोग या विकासको लोभमा साम्राज्यवादी र विस्तारवादी देशको पछि लागिरहेको छ । के यही हो गणतन्त्रको उपलब्धि ? नेकपाले नेतृत्व गरेको सरकारको उपलब्धि ?
Leave a Reply