अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
पुरञ्जन आचार्य
सीमावर्ती क्षेत्र विराटनगरमा जन्मे र हुर्केको मेरो पुस्ताका लागि भारतमा हुने कुनै पनि तहको निर्वाचनले ध्यान आकृष्ट गर्छ । भारतमा हुने निर्वाचनप्रतिको उत्सुकता हाम्रा लागि खेलकुदझैँ थियो । निर्वाचनको जय र पराजयमा हामी हाम्रो मनपर्ने र नपर्ने उम्मेदवार छनोट गथ्र्यौँ । रमाइलो खेल हो भनी भारतको निर्वाचन प्रणाली जानियो । राज्य र युनियन टेरोटेरी पनि बुझियो । संसदीय व्यवस्थामा सरकार बन्ने र गिर्ने खेल पनि मज्जाले देखियो । संसद्को कार्यविधि र त्यसको गरिमा पनि उत्सुकताको विषय भयो । राजनीति पढेरभन्दा त्यसमा पसेर, भिडेर र खेलेर जानियो । भारतको स्वतन्त्रता आन्दोलनसँगै उपहारको रूपमा प्राप्त त्यहाँको लोकतान्त्रिक अभ्यास मेरो पुस्ताका लागि नेपालमा लोकतान्त्रिक आन्दोलनको ऊर्जा र प्रेरणा थियो । मेरो पुस्ता बीपी कोइराला साढे ४ दसकअगाडि भारत प्रवासबाट नेपाल फर्केदेखि लोकतान्त्रिक विचारसँग जोडियो । नेपाली काङ्ग्रेससँग जोडियो ।
भर्खरैको भारतीय निर्वाचन
भारत स्वतन्त्र भएको ७ दसक बढी भयो । यसक्रममा १७ औँ लोकसभाको निर्वाचन भर्खरै सम्पन्न भयो ।
विगत साढे ४ दसकदेखि भारतमा भएको लोकसभा, विधानसभा र स्थानीय निकायको निर्वाचनहरूबारे पढ्ने, हेर्ने र बुझ्ने अवसर मेरा लागि हिन्दी र अङ्गे्रजी पत्रपत्रिका पढ्नुमा मात्र सीमित थिएन । भारतमा हिन्दू–मुसलमान दङ्गा देखियो । कथित ठूला जातिबाट भारतको राजनीति क्रमशः तल्लो जातिमा सरेको बिहार र यूपीमा मात्र होइन, दक्षिण भारतमा पनि देखियो । तर, यो पटकको निर्वाचन विशेष थियो र यो विशेष निर्वाचन हुन गयो । भारतका प्रम मोदी र भाजपाका अध्यक्ष अमित शाहको युगलबन्दीका कारण यसपटकको निर्वाचन विशेष थियो । भारतीय जनता पार्टीले दोस्रो कार्यकाल अर्थात् १७ औँ लोकसभामा बहुमत ल्याउला वा १५ वर्षअगाडि यही पार्टीका नेता अटलबिहारी वाजपेयीको ‘साइनिङ इन्डिया’ कै नियति भोगी सत्ताबाट बहिर्गमन होला ? भारतीय जनता पार्टीले एक्लै बहुमत ल्याउँछ भन्ने अड्कल कमै गरिन्थ्यो । तर, निर्वाचन परिणाम सार्वजनिक भयो र भारतीय जनता पार्टी एक्लैले ५४२ मा ३०२ सीट जित्न सफल भयो ।
भाजपा नेतृत्वको राष्ट्रिय जनतान्त्रिक गठबन्धन अर्थात् एनडीएले ३५२ सीट जितेर रीकर्ड कायम ग¥यो । कसरी सम्भव भयो प्रम मोदीको यो दिग्विजय ? किन ५ वर्षको शासनकालमा ‘एन्टी एनकम्वेन्सी’ नभएर प्रो एनकम्वेन्सी भयो ? किन धर्म निरपेक्ष देश भारतका जनताले धार्मिक रथमा सवार मोदीको विजयगाथालाई निरन्तरता दिए ? त्यस्तै ५ वर्ष विपक्षमा बसेको भारतीय राष्ट्रिय काङ्ग्रेसले किन सकेन या लज्जाजनक हार बेहोर्नुप¥यो ।
मोदी जीतका कारण
प्रम मोदीको १७ औँ लोकसभामा जीतका अनेक कारण छन् । कारणको खोजी अनेक कोणबाट हुँदै गर्छ । यो राजनीतिक पण्डितहरूको काम हो तर राजनीतिलाई समाजशास्त्र र अर्थशास्त्रको सामान्य कोणबाट बुझ्ने प्रयास गर्ने हो भने निर्वाचन परिणामबाट म अचम्मित भइनँ । म भारतमा १७ औँ लोकसभा निर्वाचनभन्दा निकै अगाडि दिल्ली, गुजरात र राजस्थान तीन हप्ताका लागि गएको थिएँ । झण्डै ३ हजार किलोमिटरको यात्रा गाडीबाट गर्दा राजस्थान विधानसभा चुनावको सरगर्मी थियो । ट्याक्सी चालकदेखि ढावा र नरिवल पानी बेच्ने सबै मोदीको प्रशंसा गर्थे । मोदीको विकल्प छैन भन्थे तर राजस्थानमा हुन गइरहेको विधानसभा चुनावमा त्यहाँको भाजपा सरकारसँग सबै रुष्ट थिए ।
राजस्थानका चिफ मिनिस्टर राजघराना पृष्ठभूमिको मात्र होइन, अहिले पनि ‘रानी’ झैँ जनतासँग व्यवहार गर्ने भएकाले जनताबीच ती अप्रिय थिइन् । राजस्थानको सडकमा ‘मोदी तुझ से वैर नही रानी तेरा खैर नही’ भन्ने नारा थियो । निर्वाचन परिणाम आयो– ‘रानी’ हारिन् ४ महिना अगाडि । अहिले लोकसभाको निर्वाचन परिणाम आउँदा राजस्थानको सबै सीट मोदी नेतृत्वको भाजपाले जित्यो ।
मोदी व्रान्ड छन् भारतमा । उनको व्यक्तित्व पार्टीभन्दा माथिको छ अहिले । मोदीको व्यक्तित्वमा भारतीय जनताले आफ्नो सुरक्षा र समृद्धि दुवै देखे । मोदीले जातिवादी राजनीतिमाथि आक्रामक राष्ट्रवादको नारा बुलन्द गरे । मोदीको परिवार सत्ता र शक्तिबाट टाढा गुजरातमै बस्छन् । ‘फकिर’ मोदीको विकल्प छैन र उनको नेतृत्वमा भाजपाले चुनाव जित्नुको कारण यही हो । यस्तै धारणा छन् मोदीबारे । तर, यो अपुरो धारणा हो र अधुरो पनि । कसरी ? त्यसको उदाहरण यहाँ राख्छु ।
चुनाव र विकासको तयारी
मोदी व्रान्ड, सङ्गठन र संवाद मोदीले चुनाव जित्ने कारण मानिन्छ नेपालमा । तर, यतिमात्र कारण भाजपालाई चुनाव जित्न पर्याप्त थिएन । यस्तो अवस्था आजभन्दा १५ वर्षअगाडि तत्कालीन प्रम अटल बिहारी पाजपेयीलाई पनि थियो तर उनी हारे, उनको पार्टी हा¥यो । योभन्दा पनि केही फरक कारण छन् ।
प्रम मोदीले जनतालाई प्रत्यक्ष लाभ पुग्ने कैयन् योजना अगाडि सारे । उजाला स्किम, जनधन योजना, किसान योजना, शौचालय योजना, आवास योजना यस्ता अनेकन् योजना छन् जुन प्रम मोदीले अगाडि ल्याए । यस्ता योजना कागजीरूपमा विगतका प्रमले पनि नल्याएका होइनन् । तर, मोदीले योजनामात्र ल्याएनन्, योजना कार्यान्वयन तहमा लागू भएको छ कि छैन भनी आफैँ अनुगमन गरे । फरक यहाँ छ । कसरी गरे यो चाखलाग्दो छ ।
प्रम मोदीले पहल गरेका योजनामा २४ करोड ८१ लाख लाभार्थी प्रत्यक्ष जोडिए । यी लाभार्थीसँग प्रम र पार्टी अध्यक्ष अमित शाह सीधा जोडिए । कसरी ? मोदी–शाहको युगलबन्दीले लाभार्थी र योजनाहरूलाई अनुगमन गर्न प्रत्येक ३ निर्वाचन क्षेत्रमा ‘एउटा कल सेन्टर’ निर्माण गरे । यसरी १ सय ६८ कल सेन्टर निर्माण भयो मोदी–शाहको नेतृत्वमा । यसमा १५ हजार ६ सयले रोजगारी पाए । यी कल सेन्टर र यहाँ काम गर्नेले निरन्तररूपमा किसानको खातामा २ हजार पुग्यो कि पुगेन, शौचालय बन्यो कि बनेन, घरमा बिजुली पुग्यो कि पुगेन भनी निगरानी राखे । सबै सूचना प्रम वा पार्टी अध्यक्षसामु सीधा पु¥याउँथे ।
प्रम मोदी र पार्टी अध्यक्ष अमित शाह तलको सूचनाका आधारमा पार्टीको गाउँ एकाइसम्म भिडियो कन्फ्रेन्स गर्थे । पार्टी कार्यकर्ताहरूमा विकास र राजनीतिलाई सँगै लग्ने स्किमबारे बहस र छलफल गर्थे । कार्यकर्ता आफ्नो नेतासँग ज्ञान र सामीप्यता पाएपछि मेसिनझैँ खट्थे । यो अनवरत साधना प्रम मोदीले २०१४ मा निर्वाचन जितेर सत्ता सम्हालेपछि लगत्तै २०१९ को तयारीको रूपमा सुरु गरे । यही कारण थियो, पश्चिम बङ्गाल र उडिसामा भाजपाका कार्यकर्ता ५ वर्ष अहोरात्र खटे । यही कारण हो, ग्रामीण मतदातासमक्ष मोदी र अमित शाह ५ वर्ष अनवरत सम्पर्कमा रहे । यही कारण हो, भाजपा आज सहरिया मध्यमवर्गको मात्र होइन, गाउँका सीमान्त वर्गको पनि आशा र भरोसाको केन्द्र भएको छ ।
मोदी र शाहको जोडीले यी कल सेन्टरबाट १४ करोडसँग सम्पर्क गरे ५ वर्षमा । ६ करोडलाई त ‘एसएमएस’ नै गरे । यी कल सेन्टरमा सरकारी योजनाअनुरूप सुविधा नपाएको ११ करोड फोन आए । ती ११ करोड ग्रामीण जनताको घर÷घरमा भाजपाको पार्टी सङ्गठन पुग्यो । यसमा राष्ट्रिय स्वयम्सेवक सङ्घका ३३ युनिटको सक्रियता अद्भूत र आश्चर्यमा पार्ने खालको छ । भ्रातृ सङ्घ इमानदार र उद्देश्यप्रति निष्ठावान भए निर्वाचनमा ‘सुनामी’ ल्याउन कसरी सकिन्छ भन्ने उदाहरण भारतको यो निर्वाचन हो ।
सरकारी सुविधा र योजना प्रक्रियामा जोडिन महिला अग्रणी थिए । दलितहरूको आवाज रिकर्ड भयो पहिलोपल्ट यी कल सेन्टरमा । लाखौँलाख दलितको आवाज र गुनासो सीधा प्रम र पार्टी अध्यक्षले सुने । शौचालय थियो, पानी थिएन । अब अर्कोपल्ट मोदी जितेमा पानी आउँछ भनेर आश्वस्त पार्ने काम कार्यकर्ताले गरे । प्रत्येक अधुरो र अपुरो योजनालाई भाजपाका कार्यकताले १७ औँ लोकसभाको निर्वाचनपछि मोदी सरकारले गर्छ भने । ग्रामीण जनताले पत्याए । १५ वर्षअगाडि अटलबिहारी वाजपेयीको सरकार जहाँ चुक्यो मोदी र अमितशाहको जोडीले त्यहीँबाट कार्य प्रारम्भ गरे ।
अर्थात् गाउँ र गरिबबाट
प्रत्येक योजनामा देखिएका कमजोरी सुधार्ने वाचा स्थानीय कार्यकर्ताले मात्र दिएनन्, भिडियो कन्फ्रेन्समार्फत मोदी र अमित शाहले पनि दिए । ७ चरणको चुनावको मिति र क्षेत्र निर्धारण गर्दा यी दुई युगल बन्दीले यस्ता समस्या सम्बोधन गर्ने र मतदातालाई विश्वास र भरोसा दिलाउने रणनीतिक चाल अपनाएको विपक्षी दलले पत्तो नै पाएनन् । प्रम मोदी भन्दै थिए– ‘म जम्मा ३ घण्टा सुत्छु ।’ तर, उनी राति के गर्थे भन्नेतर्फ कसैको ध्यान नै गएन । प्रम मोदी र अमित शाहको जोडी प्रत्येक रात गाउँका किसान, विद्यार्थी, शिक्षक र मजदुरसँग भिडियो कन्फ्रेन्स गर्थे र त्यो गराउन १ सय ६८ कल सेन्टरमा काम गर्ने १५ हजार ६ सय युवा ५ वर्ष निरन्तर सक्रिय रहे ।
यहाँ भारतीय राष्ट्रिय काङ्ग्रेसका अध्यक्ष राहुल गान्धी मोदी र अमित शाहको कुनै पनि रणनीति बुझ्न पूर्णतः असफल भए । राहुल गान्धी पार्टी सञ्चालनमा नयाँ ऊर्जा भर्न र संसद्मा प्रतिपक्षको भूमिका खेल्न दुवै भूमिकामा असफल भए । उनी प्रम मोदीलाई ‘चौकिदार चोर है’ भन्दै थिए तर मोदीका कार्यकर्ता ‘हामी सबै चौकिदार’ भनी झनै उत्साही भए । काउन्टर चुनावी रणनीति भनेको यही हो ।
मोदी र शाहको युगल जोडीले २०१४ मा चुनाव जितेर सत्ता सम्हालेपछि २०१९ को जुन तयारी गरे त्योभन्दा पनि ठूलो तयारी राहुलबाट अपेक्षित थियो । तर, उनी मोदीले सत्ता सम्हालेको ३ वर्षसम्म ‘पार्ट टाइम पोलिटिसियन’ भए । अन्तिम वर्ष आएरमात्र ब्युँझिए ।
नेपालमा कसले के सिक्ने ?
नेपालको सत्ता पक्षमा युगल जोडी अहिले प्रम ओली र प्रचण्ड हुन् । भन्न सकिन्छ– यिनले नेपालमा मोदी र अमित शाहको भूमिका खेल्न सक्थे तर चाहेनन् । नेपालमा सत्ताको सनातनी चरित्रभन्दा यी एक इन्चमाथि उठ्न सकिरहेका छैनन् अहिलेसम्म । कम्तीमा केही नसके पनि मोदीले आफ्ना सांसदलाई ‘भीआइपी कल्चर र दिल्लीमा हुने बिचौलिया ट्राप’ बाट जोगिन दिएको नसिहतमात्र ओली प्रचण्डले सिके पुग्थ्यो । तर, सत्ता नै बिचौलिया भएपछि ओली र प्रचण्डको युगल जोडीबाट के आशा गर्ने ? समय अझै छ, ओली प्रचण्ड जोडीले नयाँ सोचबाट सुरु गर्ने ।
नेपाली काङ्ग्रेस र भारतीय राष्ट्रिय काङ्ग्रेसको नियति एउटै दिशातर्फ उन्मुख छ । भारतमा लोकसभाको निर्वाचनमा पराजयपछि राहुल गान्धीले पार्टी अध्यक्षबाट नैतिक जिम्मेवारी लिँदै राजीनामाको प्रस्ताव राखेका छन् । देउवाबाट त्यो सामान्य लोकतान्त्रिक संस्कृति पनि प्रकट भएन ।
काङ्ग्रेस सभापति देउवाको इतिहास जोगाउने हो भने उनले सम्मानपूर्वक राजनीतिबाट बिदावारी लिनुपर्छ भन्दै आएको छु म । मैले कैयन् ठाउँमा उनको योग्यता र क्षमताबारे कुरा राख्दा आलोचना भोग्दै छु । भारतीय जनता पार्टी आजको ठाउँमा पुग्न लालकृष्ण आडवानी, मुरलीमनोहर जोशी र ‘दिल्लियाइट’ सुविधाभोगीलाई पार्टीबाट किक गरेरमात्र सम्भव भयो । आउटडेटेड र अल्छीलाई ‘किक’ गरे पार्टीका युवा पङ्क्तिले त्यहाँ । नेपालमा अक्षमलाई किक गर्ने कुनै उपाय छैन पार्टी विधान र संविधानमा । नेकामा त झन् कोही तयार नै देखिँदैनन् ।
अन्तमा, भारतमा काङ्ग्रेस ठेलिएर छेउ किनाराको पार्टी भएको छ । नेपालमा नेकाको नियति यतिखेर त्यही छ । कम्तीमा पनि भारतमा मोदी र अमितशाहको जोडीसँग करोडौँ भारतीय यतिखेर जोडिएका छन् । दुर्भाग्यले नेपालमा त्यो आशा र विश्वास पनि कतै देखिएको छैन अहिलेसम्म ।
लेखको समयसान्दर्भिकताका कारण नागरिक दैनिकबाट साभार
Leave a Reply