भर्खरै :

मिथिलाका लोकप्रिय नाच लोप हुने अवस्थामा

सिरहा, १६ जेठ (रासस) ः मिथिला क्षेत्रको ऐतिहासिक, सांस्कृतिक तथा लोक गाथासँग जोडिएको दुई दर्जनभन्दा बढी परम्परागत लोक नाच अहिले लोप हुने अवस्थामा पुगेका छन् ।
साताँै तथा आठौँ शताब्दीदेखि प्रचलनमा रहेका ऐतिहासिक राजा भरथरी, मैना गोविना, कारी माहाराज, नेका बनिजार, राजा नल, मृतकाली, राजा विकटमारी, शैलेन कुमार, गुगली घटमा, रुनाझुना, विजय सिंह, सीत वसन्त, राजा सलहेश, जङ्गली बादशाह, गोपिचन्द, कमला मैया, सुन्दर वन मे सुन्दर फुल, अल्लाहा रुदलजस्ता परम्परागत लोकप्रिय नाच अचेल लोप भएका छन् ।
यस्तै मिथिला क्षेत्रमा अति लोकप्रिय रहेका दिनाराम दिनाभद्री, सति बिहला, दुलहादयाल सिंह, विषहरा, राजा हरिचन्द्र जस्ता नाच पनि लोप भएका छन् । वर्षांैदेखि जङ्गली बादशाह नाच कम्पनीमा काम गर्दै आएका सप्तरीको हरिपुर–३ पोखरीयाका रामचन्द्र पासवान नाचबाट नै कमाएर आफ्ना सम्पूर्ण परिवारलाई पाल्दै आएका थिए । अचेल नाचको माग घट्न थालेपछि पासवान अरुको घरमा मजदूरी गरी आफ्ना परिवार पाल्दै आएका छन् ।
नाच कम्पनी बन्द हँुदा यस क्षेत्रका हजारौँ कलाकार रोजगारीका लागि विदेश तथा छिमेकी मुलुक भारत पलायन भएका छन् । ग्रामीण क्षेत्रमा अत्यन्त लोकप्रिय रहेका ती नाच बढ्दो महङ्गी, सिडी क्यासेट तथा तत्कालीन माओवादी द्वन्द्वकालदेखि नै प्रभावित भएको पासवान बताउनुहुन्छ ।
अहिले पनि विवाह तथा चाडबाडका अवसरमा ती नाच देखाइने गरिन्छ, पासवानले भन्नुभयो, “यस्ता परम्परागत र ऐतिहासिक नाचलाई राज्यले संरक्षण गर्नुपर्दछ ।” ती नाचको संरक्षणका लागि सरकारले स्थानीय तहमार्फत बजेट विनियोजन गर्नुपर्नेमा उनीहरुले जोड दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *