युद्ध र वार्ताजस्तै नाकाबन्दी पनि सफल हुनेछैन
- बैशाख ५, २०८३
सुरेन्द्रराज गोसाई
प्रदेश सरकारको दोस्रो नीति तथा कार्यक्रमबारेको छलफल ऐतिहासिक महत्वको समयमा गर्दै छौँ । देश गणतन्त्रमा प्रवेश गरेको १२ औँ वर्ष भर्खरै प्रारम्भ भएको बखत प्रदेशको भाग्य र भविष्यबारे चिन्ताका साथ विचार–विमर्श चल्दै छ ।
गणतन्त्र स्थापनाको एघार वर्षपश्चात् जनताको जीवनमा तात्विक हेरफेर नआएको, प्रवृत्ति तथा संस्कारमा परिवर्तन नभएको, शासकहरूमा निरङ्कुश सोच तथा शैली बढेको, नव–खान्दानी वर्गको अत्याचार तथा शोषणबाट समाज आक्रान्त भइरहेको आदि आक्रोशपूर्ण अभिव्यक्ति आइरहेका छन् । गणतन्त्र दिवसमा सञ्चार माध्यम र सामाजिक सञ्जालमार्फत व्यक्त भएका जनताका अभिव्यक्ति, राजनीतिक व्यक्तित्वहरूका भनाइ र संवेदनशील समुदायका आलोचनात्मक टिप्पणीले जनताको बलिदानीपूर्ण आन्दोलनको भावनाप्रति शासकहरू इमानदार तथा कृतज्ञ बन्नुभन्दा पनि नव–सामन्त बनी जनताको विश्वासप्रति घात गरिरहेको छर्लङ्ग पार्छ ।
प्रदेश सरकारका केही जिम्मेवार व्यक्तिहरूले बेला–बेलामा दिएका अभिव्यक्ति, देखाएको सामन्ती सोच तथा चरित्र, विपक्षीहरूप्रति देखाएको असहिष्णु व्यवहार, प्रतिपक्षीहरूका रचनात्मक आलोचनाको नवमण्डले शैलीमा प्रतिकार र प्रदर्शित अहङ्कार आदिले गणतन्त्रमा नव–पञ्चहरूको हालीमुहाली चलिरहेको आभास भइरहेको छ । प्रतिपक्षले उठाएका सवालप्रति बेवास्ता गर्ने, हेपाहा तथा मिचाहा प्रवृत्ति देखाउने, अहङ्कार तथा आडम्बरमै रम्ने प्रदेश सरकारका केही मन्त्रीको शैलीले गणतन्त्रलाई गिज्याइरहेको र सरकार विवादमा पर्दै गइरहेको अनुभव हुन्छ । तिनका भनाइ र गराइमा साम्प्रदायिक भावना, जातीय अहङ्कार र वडा राष्ट्र अहङ्कारवादको गन्ध आइरहेको जनता अनुभव गर्दै छन् । सभ्य समाज निर्माण अभियानमा जुटेका कालिगढहरूप्रति बदलाको भाव अभिव्यक्त हुनु, नगर सभ्यताकै निन्दा गर्नु बर्बरताकै सङ्केत हो । ठूलो सङ्ख्या र शक्तिलाई नै अन्तिम सत्य ठान्नु तर विचार, सिद्धान्तलाई सानो ठान्नु र स्वच्छ छविलाई तुच्छ ठान्नु, आन्दोलनकारी शक्तिलाई कमजोर देख्नु गणतान्त्रिक होइन दास मानसिकता र सामन्ती चिन्तन हो । सत्ताको मातमा सिद्धान्तको अपव्याख्या गर्नु राजनीतिक बेइमानी हो । कुर्सीमा पुग्ने कलालाई माक्र्सवादी विचार भनी हो–हल्ला गर्नु, पुँजीपति वर्गको हाडखोर प्राप्तिलाई परिवर्तन सम्झनु, पुँजीवादी व्यवस्थाको कुर्सीकेन्द्रित घृणित राजनीतिको मोहजालमा नफस्नेहरूलाई होच्याउनु या गलत प्रमाणित गर्न खोज्नु, झण्डावाल गाडीमा धुवाँको मुस्लो फ्याँक्दै र धुलो उडाउँदै सिस्नेरी सडकमा आऊ–जाऊ गर्नुलाई नै समाजवादतर्फको यात्रा ठान्नु वैचारिक दरिद्रता हो । शासक दलको यस्तै व्यवहार, अभिव्यक्ति र कार्यशैलीकै कारण गणतन्त्रप्रति जनताको अनास्था बढ्दो छ र नयाँ शैलीमा राजतन्त्रको अभ्यास भइरहेको भनी गुनासो सुनिइँदै छ । गणतन्त्र दिवस मनाइरहँदा यी र यस्ता प्रवृत्ति एवं घटनाले निश्चय पनि जनतामा उत्साह सञ्चार गर्नसक्दैन ।
अनेक जालझेल, छलकपटबाटै भए पनि निर्वाचन जितेर सरकारमा पुगेका शासकहरूलाई सचेत पार्न चाहनु हरेक नागरिक र प्रतिपक्षको कर्तव्य हो । शक्ति र सङ्ख्याको घमण्ड गर्नेहरू, जनताको भावनामाथि खेलबाड गर्नेहरू, विरोध तथा आलोचना सुन्न धैर्य नदेखाउने शासकहरू, सिद्धान्तलाई सरकारमा पुग्ने भ¥याङ्ग बनाउनेहरूको पनि उही निरङ्कुश राजतन्त्रको दुर्भाग्य त्यति टाढा छैन । इतिहासले सिकाएको पाठबारे हामी अवगत छौँ । सिद्धान्तहीन दल भनेको कुहेको फर्सीझैँ हो । ठूलो, बाहिरबाट चिटिक्क परी लोभलाग्दो तर यथार्थमा अखाद्य तथा दुर्गन्धित! सिद्धान्तच्युत प्रवृत्तिले समाजवादको सपना देख्नु भनेको कुहेको फर्सीमा भोज खाने सपना पाल्नुझैँ हो । बेलैमा चेत खुलोस्, गणतन्त्र दिवसमा यही शुभेच्छा छ । हेक्का रहोस्, गणतन्त्र भनेको जनताको तन्त्र हो मन्त्रीतन्त्र होइन न त मनपरीतन्त्र नै । जिन्दगीमा पद र पैसामात्र कमाउँदै हिँड्नेलाई कम्युनिस्ट होइन कमाउनिस्ट भन्नु उपयुक्त होला । अर्थ न बर्थका कुरा गर्दै हिँड्नेको नाउँ अर्थबहादुर राख्नु जसरी अनर्थ हुन्छ त्यसै गरी लोभीहरूको तन्त्रलाई लोकतन्त्र र गुण्डाहरूको तन्त्रलाई गणतन्त्र भन्नु गलत हुनेछ । यति मात्र समझदारी विकास गर्नसक्यौँ भने पनि यसपालिको गणतन्त्र दिवस सार्थक हुनेछ ।
हामी स्पष्ट छौँ, वास्तविक गणतन्त्र त ल्याउनै बाँकी छ, समाजवादी गणतन्त्र । बहुसङ्ख्यक कामदार जनताको हक र हित समाजवादी गणतन्त्रमा मात्र पूर्णरूपमा सम्भव हुनेछ । जनताको अबको सङ्घर्ष त्यही उद्देश्य प्राप्तिको निम्ति हुनेछ । समाजवादको नारा दिंदै पुँजीवादी गणतन्त्रलाई गन्तव्य घोषणा गर्नेहरूलाई इतिहासको कठघरामा एकदिन उभ्याइनेछ । इतिहास अगाडि बढ्छ, कसैले चाहोस् या नचाहोस् ।
गणतन्त्रको १२ औँ वार्षिक उत्सवको सेरोफेरोमा ल्याइएको प्रदेशको नीति तथा कार्यक्रमले गणतन्त्र र सङ्घीयतालाई थप बलियो तथा तेजिलो बनाउने योजना दिन सकेन । भद्दा श्रृङ्गारपटारले रूप न रङ्ग बनेको यो नीति तथा कार्यक्रम गत वर्षको नीति तथा कार्यक्रम लागू नै नभई या व्यवहारमा अत्यन्त फित्तलो भएजस्तै अन्त्य हुनेछ । उही शैलीमा उही किसिमको नीति तथा कार्यक्रम यो वर्ष पनि ल्याइयो । इच्छा, आकाङ्क्षा असङ्ख्य पाल्ने तर काम पटक्कै नगर्ने । यही प्रवृत्तिका कारण गत वर्षको नीति तथा कार्यक्रम पूर्णरूपमा असफल भयो । त्यही शङ्काको घेरामा यो वर्षको नीति तथा कार्यक्रम पनि परेको छ । झट्ट हेर्दा यो नीति तथा कार्यक्रम श्लोकसङ्ग्रह या ठगी विद्याको मन्त्र सङ्कलनजस्तो हुनु सुखद विषय होइन । एउटा रोमान्सप्रेमी ठिटोले आफ्नो अटोग्राफ डायरीमा अनेकौँ खालका गीतका टुक्रा–टाक्री सङ्कलन गरेझैँ यो नीति तथा कार्यक्रममा जनतालाई भुलाउने, अल्मल्याउने, झुक्याउने शब्दजाल, शब्द–अलङ्कारको प्रचुरता पाइन्छ । यसलाई सरकारको बठ्याइँ र चतु¥याइँको सङ्ग्रहभन्दा फरक नपर्ला । आधी उमेर जान लाग्दासमेत केटाकेटीपन नहराउनु, चुलबुलेपन तथा चञ्चले स्वभाव कायम रहनु अस्वाभाविक हुर्काइ हो । गत वर्षको नीति तथा कार्यक्रम सोचे जति परिणाम दिन नसकेको आज स्वीकारेजस्तै सरकारले अर्को वर्ष पनि त्यही नै भनाइ दोहो¥याउनुपर्नेमा कुनै शङ्का छैन । समाजवादउन्मुख अर्थतन्त्र निर्माणको आधारशीला खडा गर्ने सरकारी नारा स्याल हुइँयाबाहेक केही होइन ।
यो नीति तथा कार्यक्रम प्रदेश सरकारको धरातलीय यथार्थभन्दा टाढा छ । समयको माग र बहुमत जनताको आवश्यकतालाई सम्बोधन गर्न यो सफल छैन । शासक दलको इमानदारीको अभाव, प्रतिफल देखाउनेभन्दा प्रतिवादमात्र गर्दै हिँड्ने संस्कारका कारण यो वर्षको नीति तथा कार्यक्रम दाबी गरिएझैँ सफल हुने देखिँदैन । यो असफलताको अर्को अध्याय साबित हुने सम्भावना प्रवल छ । एउटा प्रसिद्ध चिनियाँ भनाइ छ– म्यलुत क्बथ ध्भ म्ष्मलुत ध्बचल थ्यग १ अर्थात् बेलैमा सचेत किन गराएनौ, भोलि दुःखेसो नगर्नु होला ।
माथिल्लो तहबाटै देखिएको नार्सियाली रोगबाट समयमै मुक्ति पाउनु सुखद विषय हुनेछ ।
(प्रदेश नं ३ को नीति तथा कार्यक्रम ०७६–०७७ माथि प्रदेशसभा बैठकमा बिहीबार भएको छलफलमा सांसद सुरेन्द्रराज गोसाईले व्यक्त गर्नुभएको विचार)
Leave a Reply