भर्खरै :

मेरो दुई दिनको गुफाबास

पल्पसा रञ्जित
संस्कार–संस्कृति, रीति र परम्परा समयअनुसार बदलिँंदै जान्छ । नेवार समुदायको परम्परामा रजस्वला नभएकी केटीलाई १२ दिन गुफा राख्ने चलन छ । नेपालभाषामा यो परम्परालाई बारा राख्ने भनिन्छ । तर, नेवार समुदायअन्तर्गत पनि बौद्ध परम्पराअनुसार २, ४ वा ६ दिन बौद्ध विहारमा गुफा राख्ने चलन छ । नेवार समुदायकी केटीको परम्पराअनुसार तीन पटक विवाह हुने गर्छ । पहिलो, बेल विवाह (सुवर्ण कुमारसँग), दोस्रो सूर्यसँग र तेस्रो विवाह जीवन साथीसँग । यस्ता परम्परा र रीतिमा वैज्ञानिकता पनि पाइन्छ ।
सानै उमेरमा मेरो बेल विवाह भयो । म ११ वर्षकी हुँदा मलाई गुफा राखियो । तर, मलाई बौद्ध विहारमा बौद्ध परम्पराअनुसार दुई दिन गुफा राखियो ।
एक दिन आमाले अचानक, “छोरी! आज स्कूल जानुपर्दैन, आज काठमाडौँ जाने” भन्नुभयो ।
मैले सोधेँ, “किन र ?”
आमाले भन्नुभयो, “तिमी र म ठूली आमाकहाँ जाने । तिमीलाई गुफा राख्ने काठमाडौँमा सबै बन्दोबस्त भइसक्यो ।” म मुस्कुराउँदै गएँ ।
हामी काठमाडौँको एउटा बौद्ध विहारमा पुग्यौँ । त्यहाँ मलाई भनियो, “तिमी यहाँ दुई रात एक दिन बस्नुपर्छ । तिमीले यहाँको हरेक नियम पालना गर्नुपर्छ ।”
बौद्ध बिहारकी गुरुमाले मलाई सानो पातलो किताब दिनुभयो र गेरु वस्त्र लगाउन भन्नुभयो । साँझ प¥यो । राति सुत्ने बन्दोबस्त एउटा कोठामा गरिएको थियो । मजस्तै पचासौं जना त्यो ठूलो कोठामा भेला भएका थिए । त्यो हुलमा मैले रात बिताउनु थियो । केही बेर मलाई निन्द्रा लागेन । मनमा कुरा खेल्यो– घरमै गुफा राखिएको भए के हुन्थ्यो होला! १२ दिन विद्यालय नजाँदा मैले कोर्सहरू कसरी पुरा गर्थे हुँला ? १२ दिन विद्यालय नजाँदा मेरो पढाइ कति पछि पथ्र्यो होला !
अर्को बिहान व्युँझेर झ्याल बाहिर चियाउँदा उज्यालो भइसकेको थियो । बिहानको ५ बजिसकेको थियो । बिहान सबै हातमुख धोई प्राथना गर्नतिर लाग्यौँ । प्रार्थनाको लागि हात जोडी नमस्कार मुद्रामा बुद्ध बन्दना गर्न लगाइयो । मैले सिकाइएजस्तै गरेँ ।
१० बजेतिर खानाको समय थियो । खाना खानको निम्ति सबैलाई लाइन लगाइयो । लाइनमा बसेँ । खाना खाइसकेपछि आफूले खाएको भाँडा आफैँ माझ्ने त्यहाँको चलन रहेछ । मैले पनि आफ्नो थाल आफैं माझेँ । मलाई त्यो चलन राम्रो लाग्यो । घरमा हामी केटी, आमा वा दिदीबहिनीले मात्र भाँडा माझ्ने चलन हुन्छ । त्यहाँ गुरुमा र गुरुबा सबैले आफ्नो जुठो भाडा आफैं माझ्ने परम्परा देख्दा मलाई अचम्म लाग्यो । दिउँसो हामीलाई पताचारा चलचित्र देखाउन एक कोठामा लगियो । फिल्म हेरिसकेपछि गुरुमालाई सोधेँ, “हामीले बुद्धको मूर्ति चिनेका छौँ । बुद्धको आचरण र व्यवहार थाहा थिएन । समाजमा उनको विचार अँगाल्ने कमैमात्र छन् । भनिन्छ, म आफंै पनि बुद्धिष्ट रे ! तर बौद्ध व्यवहार र आचरण मलाई थाहा छैन ।”
गुरुमाले भन्नुभयो,“पछि बिस्तारै सिक्दै जानेछौ ।”
गुरुमासँग मैले बिस्तारै सोधेँ, “तपाईँ नेवार कि गैरनेवार ?” गुरुमाले भन्नुभयो, “म नेवार नै हुँ ।”
“नेवार समुदायमा मात्र किन गुफा राख्छन् ?”, मैले उत्सुकताभावले सोधें ।
गुफा परम्पराबारे गुरुमाले भन्नुभयो,“प्राकृतिकरूपमा केटीमान्छेलाई रजस्वला हुनुभन्दा अघि त्यसबारे र महिला स्वास्थ्यबारे जानकारी दिन नै गुफा राख्ने परम्परा सुरुआत भएको हुनुपर्छ । महिला स्वास्थ्यको विशिष्टता सिकाउन र त्यसबारे छोरीलाई मानसिक रूपमा तयार राख्न बारा राख्ने परम्परा चलेको हुनुपर्छ । गोप्य शिक्षा भएकोले केटामान्छेभन्दा अलग्ग त्यस्तो परम्परा चलाइएको हुनसक्छ ।”
गुरुआमालाई जिज्ञासा राख्दा “वयस्क अवस्थाबाट पार भई अब तेस्रो विवाहको लागि योग्य र आफ्नो परम्परा, आचरण र व्यवहार सिकाउन १२ दिनमा साथीसङ्गी, टोलको आमा, काकी, बज्यै भेला भई राम्रो आचरण सिकाउन गुफा राखिने” बताउनुभयो ।
गुरुमासँग अर्को एउटा जिज्ञासा पनि राखेँ, “१२ दिन राख्नुपर्ने गुफा के २।४ दिन राख्दा पनि हुने हो र ?”
गुरुमाले भन्नुभयो, “आफ्नो परम्पराअनुसार आफ्नो गच्छेअनुसार व्यवहार गर्नुभयो भने यो राम्रो हो । गुफाको नाममा सकिनसकी भोज र भेटी दान गर्नु गलत हो ।”
साँझ भयो । सुत्नुअगाडि बुद्ध बन्दना गर्ने परम्पराअनुसार बुद्ध बन्दना गरियो र त्यस रात झन् मलाई निन्दा परेन र रात त्यसै बित्यो । बिहान भयो । अघिल्लो दिनको जस्तै सबै मिली हातमुख धोएर बुद्ध बन्दनातिर लाग्यौँ । बन्दना सकाइ बिहानको खाना खाइन्छ । अनि साँझपख त्यहाँ गुफा बस्न आएका सम्पूर्ण गुरुमासँग बिदा लिई विहारबाट घर फर्कियौँ । मेरो दुई दिनको गुफा सूर्य दर्शनको अनुभव अविस्मरणीय रह्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *