भर्खरै :

सामन्ती संस्कार र अन्धविश्वास

–गौरव प्रधान
सामन्ती संस्कारका कारण विज्ञान र प्रविधिको युगमा पनि अन्धपरम्परा र अन्धविश्वासको जरा फाल्न सकेको छैन । धामी झाँक्रीको विद्या सिक्न नरबलि दिने र छाउपडी प्रथाको कारण चेलीबेटीको निधन भए पनि त्यसलाई छाड्न नसक्ने दृष्टान्तहरू समाजमा अद्यापि छन् । मिथिला नगरपालिका वडा नं. ६ का शम्भुकुमार साहका अधाई वर्षीय छोरा आर्यनलाई छिमेकी शत्रुधन महतोले तान्त्रिक शक्ति प्राप्त गर्न हत्या गरेको खबर प्रकाशमा आयो । उक्त समाचार छापेकै दिन बाँकेका महिलाहरूले ‘छोरीको बिहे १६ वर्षमा गर्न पाऊँ’ भन्दै जिल्ला प्रशासन कार्यालयमा धर्ना दिए । नेपालको कानुनले बिहे गर्न छोरा–छोरीको उमेर कम्तीमा २० वर्ष पुग्नुपर्छ । २० वर्षसम्म कुरेर बस्दा छोरीको विवाह गराउन व्यवहारिक समस्या देखाएर उनीहरूले बिहेको उमेर घटाउन माग गरे । बाल विवाहले गाँजेको सो समाजमा २० वर्षसम्म कुरेर बस्न नसक्ने उनीहरूले दाबी गरे ।
गर्भ भएदेखि नै बिहेको दिन छिने गरेको समाचार केही वर्ष अगाडि छापेको थियो । अहिले पनि कति ठाउँमा ११/१२ वर्षको उमेरमै बिहे गराउने चलन रहेको बताइन्छ । सानैमा बिहे गरेर कतिको ज्यान गएको, बीचमा पारपाचुके गरेको र शारीरिक र मानसिक यातना भोग्नुपरेको कुरा ती महिलाहरू किन भुल्छन् ?
सत्तासीन दलदेखि अन्य राजनीतिक दलका कार्यकर्तादेखि नेता, जनप्रतिनिधि, समाजसेवी, बुद्धिजीवीहरूले जनताको सांस्कृतिक स्तर उठाउन जनचेतना जगाउन नसकेको कारण परम्परा र संस्कारको नाउँमा अनेक अन्धविश्वास र कुरीतिहरू दोहोरिरहेका छन् । ‘बोक्सी’ को आरोपमा दिसा खुवाउने, गाउँ घुमाउने, गाउँबाट निकाल्ने, शारीरिक र मानसिक यातना दिने काम अहिले पनि तराईका प्रदेशहरूमा भइरहेको छ । सानैमा बिहे गराउने, छाउपडी प्रथालाई निरन्तरता दिने र बोक्सीको आरोपमा पीडा दिने कामलाई कुनै हालतमा उत्साहित गर्नुहुँदैन ।
१०÷१५ वर्षअघि भारतमा सती प्रथा कायम गर्नुपर्ने माग गर्दै आइमाईहरूले जुलुस प्रदर्शन गरेको समाचार प्रकाशमा आएको थियो । पतिसँगै पत्नी पनि चित्तामा जलेर मर्न पाउनुपर्ने माग तिनीहरूको थियो । पति बितेपछि पत्नी पनि देहत्याग गर्नैपर्ने या बाँचेर कुनै अर्थ नहुने भन्ठानेर गरिएको त्यो जुलुस प्रदर्शनले आइमाईहरूको सांस्कृतिक स्तर कति उचाइमा छ थाहा हुन्छ । जसरी भए पनि ठूलो दल बनाउने, सरकारमा जाने र भागवण्डाको तँछाडमछाड गर्ने दलका नेता, मन्त्री, सांसद र कार्यकर्ताहरूले जनताको सांस्कृतिक स्तर उठाउनेतर्फ ध्यान नदिंदा यो समस्या देखिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *