भर्खरै :

चिनियाँ सामान सस्तो हुने आशा

विसं २०७२ को भूकम्पलगत्तै बन्द भएको उत्तरी नाका तातोपानी (खासा) चार वर्षपछि सञ्चालनमा आउनु नेपालीको निम्ति खुसीको कुरा हो । हिउँदको कठ्याङ्ग्रिदो जाडो कटाउन ज्याकेट किन्ने औकात राख्न थालेका नेपाली जनता खासाबाट फेरि सामान आउने भयो भन्दा खुसी नहुने कुरै भएन । खासाबाट आउने कपडा, जुत्ता, थर्मस, झोला, रेडियोलगायत अनेक इलेक्ट्रोनिक्स सामानले आम नेपालीको जीवन सरल बनाउन थालेको थियो भन्दा फरक पर्दैन ।
तातोपानी नाकाबाट बर्सेनि १५ हजारभन्दा बढी पर्यटक आउजाउ गर्थे भने २० अर्बको आयात र ३ अर्बको निर्यात हुनेगथ्र्यो । पछिल्लो समय आर्थिक क्षेत्रमा चीनले गरेको प्रगति र व्यापार विस्तारले गर्दा चीनसँग नेपालको व्यापार अझ बढेको छ ।
सन् १९७० ताका निर्माण गरिएको अरनिको राजमार्ग र तातोपानी भन्सार नाका नेपाल चीनबीच व्यापार हुने एकमात्र भरपर्दाे स्थल मार्ग मानिन्छ । तातोपानी नाका नजिकै रहेको लार्चामा चिनियाँ सरकारकै सहयोगमा एक अर्ब २० करोड रुपियाँको लागतमा निर्माणाधीन सुक्खा बन्दरगाह अब प्रयोगमा आउने छ । काभ्रेको पाँचखालमा प्रस्ताव गरिएको अर्काे सुक्खा बन्दरगाहको योजना पनि अलपत्र पर्ने अवस्थामा पुगेको थियो, अब त्यसको काम पनि अगाडि बढ्ने सम्भावना छ ।
तातोपानी नाका बन्द भएपछि केही केरुङ नाकाबाट सामान आइरहे तापनि अधिकांश सामान समुद्री मार्ग हुँदै भारत भएर नेपाल आइरहेको थियो । तर लामो बाटो र कम्तीमा ४० दिनको यात्राकै कारण ढुवानी बढी परिरहेको थियो । अब छोटो बाटोबाट चिनियाँ सामान नेपाल भित्रिने भएपछि सामान सस्तो हुनेछ । यसबारे सरकारी सम्बन्धित निकाय चनाखो हुनैपर्छ, नत्र कमाउ धन्दामा लाग्ने व्यापारी, सिन्डिकेटधारी व्यवसायी आदि सर्वसाधारण नेपालीको हितप्रति संवेदनशील रूपमा प्रस्तुत हुन्छन् नै भन्ने निश्चित छैन । भूकम्पपछि चिनियाँ सामान १० प्रतिशतले महँगो भएको हिसाबमा अब त्यति नै प्रतिशतमा सस्तो हुनुपर्ने विश्लेषण गरिएको छ । यसो भयो भने नेपाली जनताको निम्ति झन् खुसीको कुरा हुनेछ ।
नेपालले चीनसँगको सम्भावित थप नाका खोल्न कूटनीतिक पहल अझ अगाडि बढाउनुपर्छ । मुस्ताङको कोरला नाकासम्म सडक पुगे पनि नाका सञ्चालनमा आउन सकेको छैन । त्यस्तै ओलाङ्चुङगोला, किमाथाङ्का, यारी, हिल्सा आदि नाका खोल्न पाएमा नेपाल र चीनबीचको आर्थिक तथा सामाजिक सम्बन्ध अझ अगाडि बढ्ने निश्चित छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *