कैयौँ प्रहारले गाल्न नसकेको वन्दनीय चट्टानी नारी ! –१
- श्रावण १, २०८३
–प्रकाश
सन्दर्भ वर्तमान सरकारका उपप्रधान, स्वास्थ्यमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको अभिव्यक्तिको हो । उनी सरकारमा छन्, उपप्रधानमन्त्रीको तलब र सेवा–सुविधा बुझ्छन् तर उनका कतिपय अभिव्यक्ति सुन्दा उनी सरकारको विपक्षमा रहेको पार्टी नेता रहेको आभास हुन्छ । सुर्खेतको वीरेन्द्रनगरमा आयोजित पार्टीको अभिमुखीकरण कार्यक्रममा सम्बोधन गर्दै यादवले कर्णाली प्रदेशलाई उपेक्षामा पारिएको बताए । यादवले कर्णालीका नेताहरू कर्णालीकै जनताबाट मत पाएर जित्ने अनि काठमाडौँ गएपछि हराउने, आफ्नो जमिनलाई बिर्सने प्रवृत्ति रहेको समेत आरोप लगाए ।
यादवको अभिव्यक्ति सुन्दा ‘आफू त महादेव उतानो पर कसले देला वर’ भन्ने नेपाली उखान स्मरण गरायो । यादव स्वयम् यतिखेर शक्तिशाली सङघीय सरकारको उपप्रधान तथा स्वास्थ्य मन्त्री छन्, कर्णालीका स्वास्थ्य केन्द्र स्वास्थ्य उपचौकीहरूमा सिटामोल वितरण गर्ने स्वास्थ्यकर्मी नभएको मात्र होइन, जिल्ला अस्पतालहरूमा समेत चिकित्सक र आवश्यक जनशक्ति नभएका, नपुगेका र स्वास्थ्यकर्मी भएका कतिपय स्वास्थ्य संस्थामा औषधि नभएका खबर दिनहुँजसो आइरहेका छन् । देशको स्वास्थ्यमन्त्री बनेर यादवले यस्ता समस्या समाधान गर्न के नीति बनाए वा के निर्णय लिए केही सार्वजनिक भएको छैन । जनप्रतिनिधि वा नेताहरूले आ–आफ्नो गाउँठाउँ बिर्सनु गलत हो तर देशको विकास नहुनुमा यादवजस्ता पटकपटक मन्त्री भएर पनि ठोस काम नगर्ने नेताहरू बढी दोषी छन् ।
यादवले केही महिनाअघि पनि देशमा भ्रष्टाचार र अनियमितताले चरम सीमा नाघेको भनी वक्तव्य जारी गरेका थिए । तर कमिसनको खेल गरी अस्पताल विकास समितिका पदाधिकारी नियुक्ति गर्ने प्रचलन र अस्पताल विकास समितिहरूमा भइरहेका कमिसन र भ्रष्टाचारका घटनाबारे स्वास्थ्यमन्त्री यादव कहिल्यै मुख खोल्दैनन् । सरकारमा बसेका नेताहरूले समस्या देखाएर लाचारी व्यक्त गर्ने होइन, राज्ययन्त्रको प्रयोग गरी समाधान गर्ने हो । त्यस्तो गर्ने हुति छैन भने त्यस्तालाई सरकारमा बसिरहने र राज्यकोष दुरूपयोग गरिरहने अधिकार छैन । आफै सरकारमा बसेर सरकारको विरोध गर्ने, सरकारको उपलब्धिको जस र फाइदा लिने तर कमजोरीको जिम्मेवारीबाट भाग्ने नीति चमेरे नीति हो, अवसरवादी नीति हो । देशमा अवसरवादी नेताहरूको बिगबिगीले राजनीतिक अस्थिरता रहिरहनु र देश विकासतिर अघि नबढ्नुको एउटा कारण हो भन्दा फरक नपर्ला ।
Leave a Reply