भर्खरै :

किसानको रोजाइ पावर टिलर

– दुर्गा देवकोटा
लम्की, १९ जेठ । विगतमा कृषि कर्म गर्नका लागि किसानसँग अनिवार्य रुपमा राँगा, गोरु हुन्थे । जोसँग धेरै राँगा र गोरुको हल हुन्थ्यो, त्यो किसान सबैभन्दा धनी मानिन्थ्यो तर हाल किसानको खेती गर्ने तरिका र आवश्यकता बदलिएको छ ।
कैलाली जिल्लाका अधिकांश किसानसँग खेत जोत्ने पावर टिलर ट्याक्टर छ । कृषि प्रयोजनका लागि राम्रो, उपयोगी, सहज तथा सस्तो र किफायति हुने भएकाले हिजोआज किसानको पहिलो रोजाइ पावर टिलर ट्याक्टर हुन थालेको छ । “पावर टिलरबाट किसानको कृषिमा लाग्ने श्रम तथा लागत खर्च कम हुने, काम छिटोछरितो हुने, कृषि उत्पादकत्व बढ्ने भएकोले अधिकांश किसानको घरमा एउटा पावर टिलर रहेको छ”, बन गाउँका किसान दिलबहादुर चौधरीले भन्नुभयो, “किसानले पावर टिलरलाई खेत जोत्न, बाली लगाउन, पानी लगाउन, बाली काट्न, थ्रेसिङ गर्न, मिल चलाउन, ढुवानी गर्न, जेनेरेटर चलाउनलगायत नौ काममा प्रयोग गर्नसक्छन्् ।” धेरै सुविधा भएकाले कृषि कार्यका लागि पावर टिलर राम्रो र बहुउपयोगीयन्त्र भएकोे उहाँले बताउनुभयो । जानकी गाउँपालिकाका किसान जुगराम चौधरीले पावर टिलरले खेतबारीमा काम गर्न सहज भएको बताउनुभयो ।
कम समयमा धेरै काम गर्न सकिन्छ । अन्य कामभन्दा खेतबारीको कामका लागि यो एकदमै उपयुक्त छ । जुगरामले भन्नुभयो, “यो साधन महिलाले पनि जोत्न सक्छन्, मेरो घरमा श्रीमती, छोरी सबैले जोत्छन् ।” सानादेखि ठूला किसानको लागि उपयोगी रहेकाले पावर टिलर प्रयोगकर्ताको सङ्ख्या बढ्दो छ । खेतमा एक जनाले दिनभरि गर्ने काम पावर टिलर ट्याक्टरले एक घण्टामा गर्ने भएकोले पनि किसान यसप्रति उत्साहित भएको स्थानीयवासी श्रीपाल चौधरीले बताउनुभयो । पछिल्लो समय सरकारले पनि कृषिमा लगानी बढाएको छ । टीकापुर नगरपालिका, वडा कार्यालय र रानी जमरा कुलरिया सिँचाइ आयोजना कृषि कार्यक्रमले अनुदानमा किसानलाई पावर टिलरप्रति उत्साहित बनाउन थालेको छ ।
रानी जमरा कुलरिया सिँचाइ आयोजनाले चालू आर्थिक वर्षमा २१२ वटा पावर टिलर वितरण गरेको आयोजना प्रमुख भरतप्रसाद कँडेलले बताउनुभयो । साथै टीकापुर नगरपालिकाले विभिन्न वडामा १९ पावर टिलर वितरण गरेको कृषि अधिकृत गौरीशङ्कर गुप्ताले जानकारी दिनुभयो ।
कृषक समूह वा कृषि सहकारीलाई वितरण गरिने उक्त पावर टिलरमा ५० प्रतिशत अनुदानको व्यवस्था छ । किसान लागतको आधा लगानीमै सहजै पावर टिलर पाउने भएकोले कैलालीका अधिकांश किसानसँग पावर टिलर छ । रानी जमरा कुलरिया सिँचाइ आयोजना कृषितर्फको पहिलो चरणको कार्यक्रममा किसानलाई ५० प्रतिशत अनुदानमा १३२ वटा र तत्कालीन जिल्ला विकास कार्यालयबाट ४० वटा पावर टिलर यस क्षेत्रमा वितरण गरेको छ ।
पावर टिलरको प्रयोग बढेपछि गोरु, राँगा पाल्ने किसान घटेका छन् । कृषिमा आबद्ध केही किसानले आफ्नै लगानीमा पनि ट्याक्टर किनेका छन् । खेती गर्नका गोरु, राँगा बेचेर पावर टिलर किन्ने किसान धेरै छन् ।
किसान उमेश जोशीले भन्नुभयो, “किन गोरु राँगा पाल्नु ? छिटो, छरितो र धेरै उपयोगी भएकोले मैले नि पावर टिलर किनेको छु । पछिल्लो समय सिँचाइ आयोजना र स्थानीय सरकारले कृषि उत्पादन र उत्पादकत्व अभिवृद्धि गर्ने खालका कार्यक्रम अघि ल्याएका छन् । यसले पनि पावर टिलरको प्रयोगमा वृद्धि भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *