भर्खरै :

ग्रामीण क्षेत्रका जनताले भोट हाल्न नपाउने

जाजरकोट, १५ चैत । यहाँका ग्रामीण क्षेत्रका ३० प्रतिशतभन्दा बढी स्थानीयबासी मतदान कार्यमा सहभागी हुन नपाउने भएका छन् । फोटोसहितको मतदाता नामावली तथा नागरिकता नभएका कारण उनीहरु भोट हाल्नबाट वञ्चित हुनेभएका हुन् ।
त्रिवेणी नलगाड नगरपालिका–८ स्वाँराको मानबहादुर खत्रीको छ जनाको परिवारले भोट हाल्न नपाउने भएको छ । फोटोसहितको मतदाता नामावली भर्न गाउँमा गएको जिल्ला निर्वाचन कार्यालयले व्यापक प्रचारप्रसार नगर्दा उनीहरुले भोट हाल्न नपाएको बताएका छन् ।
यो परिवारजस्तै यही वडाकै धनवहादुर विकका छ जनाको परिवारले पनि मतदान गर्न नपाउने भएको छ । गाउँमा मतदाता नामावली भर्न कोही नआएका कारण आफूहरु छुटेको धनबहादुरले बताउनुभयो ।
त्यस्तै, बारेकोट गाउँपालिका–१ की महिला पेन्टे खत्रीको पाँचजनाको पूरै परिवारले मतदान गर्न नपाउने भएपछि खिन्न भएको बताएका छन् । मतदाता नामावली भर्न कति खेर आए उनीहरुलाई थाहा नै नभएको उनीहरुले बताएका छन् ।
नागरिकता भएपछि भोट हाल्न पाइँदैन र ? पेन्टेका श्रीमान् लाल बहादुर खत्रीले प्रश्न गर्नुभयो । उहाँलाई फोटोसहितको मतदाता नामावली नभएमा भोट हाल्न पाइँदैन भन्नेसम्म थाहा नहुँदा समस्या भएको सुनाउनुभयो ।
सञ्चारमाध्यमको पहुँच नभएका र वैदेशिक रोजगारी तथा भारतमा कमाइ गर्न गएका अधिकांश स्थानीय फोटोसहितको मतदाता नामावलीमा छुटेको पाइएको छ ।
जिल्लाका अधिकांश ग्रामीण क्षेत्रमा रहेका स्थानीयको नागरिकता नहुनु र नागरिकता भएपनि फोटोसहितको मतदाता नामावली भर्नुपर्छ भन्ने ज्ञान नहुँदा स्थानीय भोट हाल्नबाट वञ्चित हुने भएको पाइएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *